चेकजाँचको नाममा सिरहा ट्राफिकले असुली धन्दा चलाएको आरोप

चेकजाँचको नाममा सिरहा ट्राफिकले असुली धन्दा चलाएको आरोप


सिराहामा ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा अवैध रकम असुली गरिरहेको पाइएको छ । नरहा गापा ३ नयाँ चौक चोहर्वा स्थित ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचको नाममा रसिद नै नकाटी अवैध रकम असुल्ने गरेको पाइएको हो ।

ट्राफिक प्रहरीले सवारी साधन चेकजाँचमा सर्वसाधारणलाई अनावश्यक दुःख दिने र हप्ता तथा महिनावारी तिर्ने ठूलो सवारी साधनसँग अवैध रकम असुल्ने गरेको चालक बुधराम महतोले आरोप लगाए । उनले भने, ‘महिना नबित्दै ट्राफिकलाई रकम नदिए चेकजाँचको क्रममा सबै कागजपत्र हुँदा पनि दुःख दिने मनसायले गाडीलाई घण्टौँ सडकमा रोकिदिन्छन् ।’

नयाँ चौक चोहर्वामा तीनपाङ्ग्रे अटोदेखि मालवाहक ट्रक व्यावसायिसँग प्रति सवारी साधन महिनाको १ हजार देखि ३ हजार सम्म महिनावारीकै रुपमा अबैध रकम असुली गर्ने गरेको नाम नखोल्ने सर्तमा एक ट्रक व्यवसायीले बताए ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानका प्रमुख इन्सपेकटर टुपेन्द्र कुमार श्रेष्ठले भने राजश्व नकाटी ट्राफिकले रकम लिएको प्रमाण पाइएमा कारबाही गर्ने बताए । सिरहामा दिनहुँ ठूलो संख्यामा सानोदेखि ठूलो गाडीहरु क्षमता भन्दा बढी लोड गरि हिँड्ने गरेको भए पनि रकम दिए पछि उनीहरुलाई ट्राफिकले छाड्ने गरेको चालकहरुको आरोप छ ।