माओवादीको पदाधिकारीको गाँठो फुक्यो, असन्तुष्टि कायमै

माओवादीको पदाधिकारीको गाँठो फुक्यो, असन्तुष्टि कायमै


नेकपा (माओवादी केन्द्र)ले पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको करिव आठ महिनापछि २१ सदस्यीय पदाधिकारी चयन गरेको छ । पार्टीका अध्यक्ष प्रचण्डद्वारा गरिएको पदाधिकारीको प्रस्तावलाई सर्वसहमतिले पारित गरिएको सो पार्टीले जनाएको छ ।

माओवादी केन्द्रले गत पुसमा महाधिवेशन सम्पन्न गरेको थियो भने महाधिवेशनले अध्यक्ष मात्रै चयन गरेको थियो ।

शनिबार भएको निर्णयानुसार पदाधिकारीमा एक जना मात्रै महिला प्रतिनिधिका रूपमा उपमहासचिव पम्फा भुसाल रहेकी छन् भने सर्वसम्मत रुपले पदाधिकारी चयन भइ लामो समयदेखिको गाँठो फुकेको भनिए पनि पदाकांक्षी केही नेताहरु असन्तुष्ट बनेको बुझिएको छ ।

अध्यक्ष प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा नेता महरालाई चयन गरेका छन् भने सर्वाधिक चासो रहेको महासचिवमा देवप्रसाद गुरुङ छानिएका छन् । उक्त पदका लागि जनार्दन शर्मा र वर्षमान पुन प्रमुख दाबेदारका रुपमा चर्चामा थिए ।

माओवादीभित्र ‘कान्छाबहादुर’का रुपमा परिचित गुरुङ तुलनात्मक रुपमा इमान्दार नेताका रूपमा स्थापित छन् । हाल माओवादीको संसदीय दलको प्रमुख सचेतकको भूमिकामा समेत रहेका गुरुङ पार्टीभित्र चौथो बरियतामा थिए ।

उपाध्यक्ष नेता महराका अनुसार विशेष महाविधेशनसम्मका लागि पदाधिकारी चयन भएको र नयाँ परिस्थितिमा नयाँ तरिकाले जाने नीति पार्टीले अख्तियारी गरेको छ । माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने जनाएको छ, तथापि त्यस्तो महाधिवेशन कहिले आयोजना हुन्छ भन्नेबारेमा केही प्रष्ट्याइएको छैन ।

‘यो पदाधिकारी टिम विशेष महाधिवेशन नहुँदासम्मका लागि हो । तत्कालका लागि सन्तुलित र निर्वाचनलाई ध्यान दिएर तय गरिएको हो । विशेष महाधिवेशनमा नयाँ सोच आउँछ’, उपाध्यक्ष महराले भनेका छन् ।

आठौँ महाधिवेशनकै क्रममा विचारको विकास र सङ्ठगनात्मक प्रणाली तय गर्नका लागि विशेष महाधिवेशन गर्ने निर्णय सो पार्टीले गरेको छ ।

यसै क्रममा माओवादीले आगामी सङ्घीय संसद् एवं प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर देशव्यापीरूपमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । त्यसका लागि यही भदौ ८ गतेदेखि प्रदेशस्तरमा प्रशिक्षणको कार्यक्रम सुरु हुने जनाइएको छ । शनिबार सम्पन्न स्थायी समितिको बैठकले यही भदौ ८ गते बुधबार मधेस प्रदेशबाट प्रदेशस्तरको बैठक र प्रशिक्षण कार्यक्रम सुरु गर्ने तय गरेको हो ।

यस्तै भदौ ९ गते बिहीबार गण्डकी प्रदेशमा, १० गते शुक्रबार प्रदेश नं १ मा, ११ गते शनिबार लुम्बिनी प्रदेशमा, १२ गते आइतबार बागमती प्रदेशमा प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणको कार्यक्रम तय भएको छ । उपाध्यक्ष महराका अनुसार भदौ १३ गते सोमबार विशेष प्रदेश समिति, १५ गते बुधबार सम्पर्क समन्वय समिति र १६ गते बिहीबार कर्णाली प्रदेश तथा १७ गते शुक्रबार सुदूरपश्चिम प्रदेशमा कार्यकर्ता प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।

यस्तै, आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सार्वजनिक गरिने घोषणापत्र तयार पार्न १७ सदस्यीय मस्यौदा समिति बनाएको छ ।

उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार घोषणापत्र मस्यौदा समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् भने सदस्यमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय वर्षमान पुन, जनार्दन शर्मा र गिरिराजमणि पोखरेल रहेका छन् ।

यस्तै, नेताहरू लीलामणि पोखरेल, शक्ति बस्नेत, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोका, जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम तामाङ, भीमा ढुङ्गाना र जगत् सिम्खडा सदस्य छन् । सत्तारुढ गठबन्धनका तर्फबाट नै साझा घोषणापत्र तयार पारेर निर्वाचनमा जाने तयारी छ । यद्यपि, पार्टीका तर्फबाट पनि घोषणापत्र तयार पार्ने ध्येयका साथ मस्यौदा समिति बनाइएको बताइएको छ ।