मंगलबार नेपाल बन्दको घोषणा गरेको ‘विप्लव नेकपा’ले निकाल्यो मसाल जुलुस

मंगलबार नेपाल बन्दको घोषणा गरेको ‘विप्लव नेकपा’ले निकाल्यो मसाल जुलुस


नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्यसको पूर्वसन्ध्यामा विप्लव नेतृत्वको नेकपाले राजधानी काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेर उल्टै आफ्ना नेता तथा कार्यकर्तालाई पक्राउ पूर्जी जारी गरेको, एमसीसी, महंगी र राष्ट्रघाती सन्धी सम्झौताविरुद्ध विप्लव नेतृत्वको नेकपासहितका चार दलले मसाल जुलुस निकालेको हो ।

जसमा नेकपासँगै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी रहेका छन् ।

यसैक्रममा गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । गृह मन्त्रालयमा सोमबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीसहितको पत्रकार सम्मेलनमा उनले यसअघिको सरकारले नेकपासँग २०७७ साल फागुन २० गते गरेको तीनबुँदे सम्झौता कार्यान्वयनमा गइसकेको र केही प्रक्रियामा रहेको जानकारी दिएका हुन् ।

गिरफ्तार भएका नेता कार्यकर्ता तथा विभिन्न मुद्दा लगाइएकाको सम्बन्धमा संविधान र कानुनअनुसार रिहा गर्ने फिर्ता लिने प्रक्रिया अघि बढेको मन्त्री खाणको भनाइ छ ।

कार्यक्रममा कानुनमन्त्री कोइरालाले सरकारले नेकपासँगको सम्झौता कार्यान्वयन गर्न प्रतिबन्ध हटाउनाका साथै नेता कार्यकर्ता रिहाइका लागि प्रक्रिया अघि बढाएको बताए ।

महान्यायाधिवक्ता खातीले पनि सरकार र नेकपाबीचको सहमति कार्यान्वयन भइरहेको बताउँदै संविधान र कानुनबमोजिम मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको जानकारी दिए ।