‘देशको सत्रु चिनौँ’ अभियान शुरु हुने !

‘देशको सत्रु चिनौँ’ अभियान शुरु हुने !


‘हाम्रो मातृभूमिका लागि नेपाली’को राष्ट्रिय भेला सम्पन्न

‘मेरो प्रण मेरो राष्ट्र मेरो धर्म’ भन्ने मूल नाराका साथ ‘हाम्रो मातृभूमिका लागि नेपाली’ले आफ्नो प्रथम साधारणसभा राजधानीमा सम्पन्न गरेको छ । भाद्र ४ गते प्रज्ञा भवन कमलादीमा सम्पन्न साधारणसभाले इञ्जिनियर टुङ्गराज पाठकको अध्यक्षतामा त्रिपन्न सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा श्रीराम श्रेष्ठ, उपाध्यक्षहरूमा हेमा शर्मा, नरोत्तम श्रेष्ठ र मृदुला शर्मा रहनुभएको छ भने एक उपाध्यक्ष पद रिक्त राखिएको सङ्गठनले जनाएको छ ।

गणेश बञ्जारा महासचिव रहनुभएको कार्यसमितिको सचिवमा मोहम्मद रेहान, शरद अधिकारी र गीता सेढाइँ तथा कोषाध्यक्ष श्रीजन खागी, सह-कोषाध्यक्ष बिन्दु महर्जन, प्रवक्ता ज्ञानप्रसाद खनाल र सदस्यहरूमा श्यामसुन्दर शर्मा, जयबहादुर चन्द, गोमा प्रधान, धीरज निष्पक्ष, अमित गुप्ता, राम बराल, बिन्दु बुढाथोकी, एल्सा झा, सुनिता बुढाथोकी, नवीनचन्द्र श्रेष्ठ, शेखर ढुङ्गेल, गोपाल नेपाल, रामप्रसाद पौडेल, केआर बास्तोला, केशव अधिकारी, देवराज महर्जन, हेमन्तबहादुर शाह, दीपेश केसी, दीपक जोशी, अक्षता प्रधान, विद्या अधिकारी, कल्पना मेघाले मगर, सञ्जय मुडासैनी, रेश्मा बिष्ट, बासुदेवचन्द्र मल्ल, अस्मिता प्रधान, अनिल मल्ल, ज्योति न्यौपाने, विनोद बम, तुल्सी खड्का, बालकृष्ण श्रेष्ठ, डोबरलाल शिलाकार, सुन्दर मिजार, राजेश शाही, दधिराम पौडेल अमृतलाल श्रेष्ठ, आनन्द डङ्गोल, बालमुकुन्द सिंह, भगवान कपाली र रुपा पौडेल (कार्यालय सचिव) रहनुभएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूलाई ख्यातिप्राप्त चिकित्सक एवम् नागरिक समाजका अगुवा नेता डा. सुन्दरमणि दीक्षितले शपथ गराउनुभएको थियो । शपथपश्चात डा. दीक्षितले सबैलाई बधाई र शुभकामना दिँदै इमानदारीका साथ स्वधर्म तथा राष्ट्रसेवामा समर्पित भइ काम गर्न सुझाव दिनुभयो ।

साधारणसभाको उद्घाटन समारोहमा विशिष्ट अतिथिहरू निलाम्बर आचार्य, देवीप्रसाद ओझा, पूर्वन्यायाधीश शम्भुबहादुर खड्का, डा. सुन्दरमणि दीक्षित तथा संस्थाको संस्थापक एवम् नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर डा. तिलक रावलले आ-आफ्नो मन्तव्य प्रकट गर्नुभएको थियो ।

यस्तै, निलाम्बर आचार्यले देशका जिम्मेवार व्यक्तिहरूमा संवेदना हराएको भन्दै मुलुक थप अप्ठ्यारोमा परेको बताउनुभएको थियो । देवीप्रसाद ओझाले राष्ट्रियता सङ्कटमा परेको प्रति चिन्ता प्रकट गर्दै नवगठित कार्यसमिति आफ्नो उद्देश्यमा सफल रहोस् भनी शुभकामना दिनुभयो । डा. तिलक रावलले देशको अर्थ व्यवस्था नाजुक अवस्थामा पुगेको र, भ्रष्टाचारले नेपाललाई अफ्रिकी मुलुकहरूसँग तुलना गर्नुपर्ने स्थितिमा पुऱ्याएको बताउनुभयो । डा. सुन्दरमणि दीक्षितले निष्ठा र इमानदारीका साथ स्वधर्म र राष्ट्रका पक्षमा क्रियाशील रहन सुझाव दिँदै यस्तै अवस्था कायम रहे अन्ततः देशको अस्तित्व नै सङ्कटमा पर्ने बताउनुभयो । शम्भु खड्काले देशको न्यायव्यवस्था असामान्य अवस्थामा रहेको भन्दै चिन्ता प्रकट गर्नुभयो ।

समारोहको शुरुमा संस्थाका संस्थापक देवप्रकाश त्रिपाठीले जनता आफैं सङ्गठित भएर राष्ट्र र धर्म रक्षाका निम्ति क्रियाशील हुनुपर्ने भएकोले ‘हाम्रो मातृभूमिका लागि नेपाली’ स्थापना गर्नुपर्ने बाध्यता आइपरेको बताउनुभयो ।

हाम्रो मातृभूमिका लागि नेपालीले विभिन्न प्रस्तावहरू पनि पारित गरेको छ । उक्त सङ्गठनले निकट भविष्यमा ‘देशको सत्रु चिनौँ’ भन्ने राष्ट्रिय अभियान शुरु गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

(ख्यातिप्राप्त नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ गराउनुहुँदै ।)