सङ्घीयता खारेज गराउन एक्काइस दिनको पैदल यात्रा

सङ्घीयता खारेज गराउन एक्काइस दिनको पैदल यात्रा


देशको निम्ति बोझ बन्दै गएको प्रदेश खारेजीको माग जन-जनबाट समेत हुन थालेको छ । यसै क्रममा दाङका एक युवाले प्रदेशको खारेजीको पक्षमा वातावरण बनाउन कोहलपुरदेखि काठमाडौंको पशुपतिनाथसम्म पैदल यात्रा पूरा गरेका छन् ।

गत साउन २ गते नेपालगञ्जबाट शुभारम्भ भइ बबइपुलबाट अघि बढेको पैदल यात्रा २१ दिनमा पूरा भएको थियो । यसरी कुनै ठूलो राष्ट्रिय मुद्दा उठाएर चुनौतीपूर्ण पैदल यात्रा गर्ने युवा हुन्- दाङका झनकबहादुर बस्नेत ।

२०४१ सालमा दाङको तुल्सीपुरमा जन्मिएका झनक २०५८ सालमा नेविसङ्घको सदस्यता लिएर राजनीतिक गतिविधिमा सामेल भएका थए । नेविसंघ र तरुण दलको दाङ जिल्ला समिति सदस्य रहेका झनक बस्नेत यतिबेला तुल्सीपुर नगर काङ्ग्रेस सहसचिवको जिम्मेवारी पनि निर्वाह गर्दैछन् । सङ्घीयताबिनाको हिन्दूराष्ट्र नेपाल बनाइनुपर्छ भन्ने युवा झनक स्वर्गीय नेता खुमबहादुर खड्काको आन्दोलन सफल बनाउने उद्देश्यका साथ आफूले पैदल यात्रा गरेको बताउँछन् ।

काङ्ग्रेस नेतृत्व सङ्घीयतासहित धर्मनिरपेक्षताको पक्षमा दृढतापूर्वक उभिएको छ र आफ्नै नेताहरूको मन बदल्नुपर्ने चुनौती तपाईंका सामु छ कसरी सक्नुहोला भन्ने हाम्रो प्रश्नको जवाफमा झनकको भनाइ छ- ‘नेताहरूलाई बदल्न सकिँदैन, नेताहरूको दिमाग र मनमा अन्तर्राष्ट्रिय शक्तिहरूले कब्जा गरेको जस्तो मलाई लाग्दैछ । आम काङ्ग्रेसजनमा नेताका चरित्र र पार्टीले गरेको भुलका कारण देशको आर्थिक, सामाजिक राजनीतिक क्षतिका बारेमा जागरण ल्याउन सकियो भने त्यसले दबाब पैदा गर्ने र दबाबले निर्णय बदल्न बाध्य तुल्याउने विश्वास मैले गरेको छु ।

बदलिएनन् भने के गर्नुहुन्छ ? यस प्रश्नको जवाफमा उनले भने- ‘नेताहरू विरुद्ध सङ्घर्ष गर्ने र वैकल्पिक शक्तिको निर्माण गर्नेलगायतका अनेक काम गरिनेछ । अनशन बसेर दबाब दिने सोच बनेको थियो, धेरै शुभचिन्तकहरूले अनशन पनि सेटिङमा मात्र सफल हुने, अन्यथा ज्यान मात्र जाने भन्दै अनशन नबस्ने सुझाव दिनुभएको छ । अब मेची-काली ‘रोड शो’ (परेड) गर्ने सोच बनाएको छु ।’

त्यसोभए तपाईं सङ्घीयता र धर्मनिरपेक्षता खारेज गरेरै छोड्ने अठोटमा हुनुहुन्छ हो भन्ने प्रश्नमा झनकको भनाइ छ- ‘अवश्य ! सङ्घीयता र धर्मनिरपेक्षता खारेज नभएसम्म रोकिनु हुँदैन भन्ने मैले ठानेको छु । तर यसमा सबै देशभक्त राष्ट्रवादी नेपालीहरूको साथ–सहयोग अनिवार्य रुपमा रहनुपर्दछ ।’