वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारले चार वर्षमा पाए दुई अर्ब ४१ करोडभन्दा बढी आर्थिक सहायता

वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारले चार वर्षमा पाए दुई अर्ब ४१ करोडभन्दा बढी आर्थिक सहायता


बितेको चार वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका परिवारलाई आर्थिक सहायतास्वरुप २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी प्रदान गरिएको छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार २०७५ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा मुत्यु भएकाको परिवारलाई उक्त आर्थिक सहायता उपलब्ध गरिएको हो ।

सो चार आर्थिक वर्षमा वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका ४ हजार १५४ जनाको परिवारलाई कुल २ अर्ब ४१ करोड ९० लाख १५ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गरिएको बोर्डले जनाएको छ ।

उक्त अवधिमा ४ हजार ४१ जना पुरुष र ११३ जना नेपाली महिला कामदारको वैदेशिक रोजगारीका क्रममा विदेशी भूमीमा मृत्यु भएको थियो ।

बितेका चार वर्षमा विदेशमा अलपत्र परेका ५५५ जना नेपालीको शव उद्धार गरी ल्याइएको बोर्डले जनाएको छ । उद्धार गरी ल्याइएको शवमा ५३३ जना पुरुष र २२ जना महिलाको रहेको थियो ।

बोर्डका अनुसार शव उद्धार गरी ल्याउने क्रममा ३ करोड ९७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

विदेशमा मृत्यु भएका नेपालीको शव उनीहरुको घरसम्म पुऱ्याउने क्रममा ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ खर्च भएको बोर्डले जानकारी दिएको छ । यसरी सो अवधिमा बोर्डले कुल ३ हजार ४१ वटा शवको निशुल्क ढुवानी गरेको थियो ।

बोर्डका अनुसार वैदेशिक रोजगारीका सिलसिलामा अंगभंग तथा गम्भिर बिरामी भएकालाई बितेको चार वर्षमा ३१ करोड ९ लाख १० हजार रुपैयाँ क्षतिपूर्ति वापत उपलब्ध गरिएको छ । यसरी क्षतिपूर्ति पाउनेमा ९२७ जना पुरुष र ४९ जना महिला गरी कुल ९६७ जना रहेका छन् ।

वैदेशिक रोजगारीमा गएकाहरुको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गराउने कार्यमा पछिल्लो चार वर्षमा २ करोड ८१ लाख ४५ हजार रुपैयाँ खर्च भएको वोर्डले जनाएको छ । सो अवधिमा १ हजार २५९ जना पुरुष र २२९ जना महिला गरी कुल १ हजार ५५४ जनाको उद्धार, खोजतलास तथा स्वदेश फिर्ता गरिएको थियो ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु वा पूर्ण अशक्त भएका कामदारको ८ हजार ९०१ जना छोराछोरीलाई छात्रवृत्ति सहयोग वापत ७ करोड ५३ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।