भारतीय हस्तकला मेलामा नेपाली हस्तकलाका सामग्री प्रदर्शन हुने

भारतीय हस्तकला मेलामा नेपाली हस्तकलाका सामग्री प्रदर्शन हुने


नेपाल हस्तकला महासङ्घले भारतीय हस्तकला मेलामा नेपाली हस्तकलाका सामग्री प्रदर्शन गर्ने भएको छ ।

भारतीय एक्जिम बैंकको आयोजनामा आगामी भदौ १८ गतेदेखि २१ गतेसम्म हस्तकला एकेडेमी नयाँदिल्लीमा हुन लागेको एक्जिम बजार प्रदर्शनीमा नेपाली हस्तकला प्रदर्शन गर्न लागिएको हो ।

महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले मेलामा नेपाली परम्परागत तथा समकालीन हस्त एवं शिल्पकला प्रदर्शनमा राखिने जानकारी दिए । नेपाली हस्तकला प्रदर्शनीले भारतीय बजारमा नेपाली कलाकारले उत्पादन गरेका कलाकृति प्रदर्शन गर्दा व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

उक्त मेलामा मैनमूर्ति कलाकार मनोज शाक्य, फिलिग्री कलाकार सुरज शाक्य, काष्ठ कलाकार बज्रबहादुर शिल्पकार, रेशाजन्य कलाकार रमेश श्रेष्ठ र धातुमूर्ति कलाकार उदीप शाक्यको सहभागिता रहने महासङ्घले जनाएको छ ।

मेलामा हस्तकला विधामा संलग्न उद्यमी, कलाकार, कालीगड, सीप, दक्षता तथा कार्यकुशलता अभिवृद्धिका साथै एकअर्काको सीप, प्रविधि, अनुभव आदानप्रदान हुने विश्वास महासङ्घले लिएको छ ।