धादिङ प्रदेशसभा सदस्यमा नेता अधिकारीको नाम सिफारिस

धादिङ प्रदेशसभा सदस्यमा नेता अधिकारीको नाम सिफारिस


आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशको चुनावको लागि नेपाली कांग्रेस धादिङले माथिल्लो कमिटीमा उम्मेदवार सिफारिस सुरु गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेश (क) मा ११ जना आकांक्षी देखिएका छन् भने यसै क्षेत्रको प्रदेश (ख) मा १५ जना आकांक्षी अघिसरेका छन् ।

विभिन्न उम्मेदवार सिफारिसको क्रममा अत्यन्त सक्रिय एवम् जुझारु युवा नेता शरद अधिकारीको नाम पनि सिफारिस गरिएको छ ।

२०३८ साल असोज २२ गते सुनौला बजार नेपारपानी धादिङमा आमा सीता र बुबा रामजी अधिकारीका सुपुत्रका रूपमा जन्मिएका शरद हाल गजुरी-६ धादिङ, आदमघाटमा बस्दै आएका छन् भने राजनीतिक र सामाजिक कार्यमा उनको आवद्धता र सक्रियता बेजोड रहँदै आएको छ ।

नेविसंघ धादिङ जिल्ला कार्य समितिका पूर्व सदस्य, जिल्ला कार्यसमिति धादिङका पूर्व सदस्य, धादिङ १ (ख) बाट बागमती प्रदेश अधिवेशन प्रतिनिधि, धादिङ जिल्ला खेलकुद विकाश समितिका पूर्व अध्यक्ष, नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका पूर्व केन्द्रीय सदस्य, उद्योग बाणिज्य दक्षिण क्षेत्र धादिङका पूर्व सचिव, धादिङ उद्योग बाणिज्य संघ धादिङका पूर्व सदस्य, धादिङ उद्योग बाणिज्य संघका पूर्व सचिव रहिसकेका युवा नेता अधिकारी धादिङ यातायात ब्यवसायी संघका पुर्व सदस्य पनि हुन् । यस्तै, धादिङ यातायात व्यवसायी संघको महासचिवको जिम्मेवारी पनि उनले निर्वाह गरिसकेका छन् ।

नेतृत्व विकासका क्रममा धादिङ यातायात ब्यवसायी संघको पूर्व वरिष्ठ उपाध्यक्ष, धादिङ यातायात ब्यबसायी संघबाट रुपान्तरण भएको धादिङ मण्डली यातायातको अध्यक्ष, नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संघ (नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था) का केन्द्रीय सल्लाहकार रहेका शरद अधिकारी ‘मातृभूमिका लागि नेपाली’ अभियानका केन्द्रीय सल्लाहकार समेत रहिसकेका छन् । मातृभूमिका लागि नेपाली अभियानका पूर्व यातायात विभाग प्रमुख अधिकारी हाल ‘हाम्रो मातृभूमिका लागि नेपाली’ अभियानका केन्द्रीय सचिव हुन् ।

नाम सिफारिसका क्रममा कांग्रेसको विधानको धारा ३२ (७) (क) बमोजिम प्रदेशले प्रत्यक्षमा तीन जना र समानुपातिकमा एक महिलासहित दुई जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि टिकटको लागि दाबी गरिएका सबै नामहरू प्रदेश कमिटीले माथिल्लो कमिटीमा पठाएको बताइएको छ ।

क्षेत्र नम्बर १ का दुवै प्रदेश कमिटीहरूले माथिल्लो कमिटीमा पठाएको आकाङ्क्षी उम्मेदवारहरुको नामावली यस प्रकार छ-

क्षेत्र नं १ प्रदेशसभा (क) प्रत्यक्ष तर्फ- अर्जुनप्रसाद उप्रेती, कृष्ण रिजाल, जीवनाथ ढकाल, बाबुकृष्ण सापकोटा, मधुकुमार श्रेष्ठ र रविसुधन थापा रहेका छन् ।

यसैगरी समानुपातिकतर्फ उर्मिला कँडेल, शारदा पाण्डे, देवकुमारी कार्की, अर्जुनप्रसाद उप्रेती, रामकुमार लामा रहेका छन् ।

यस्तै, प्रदेशसभा सदस्य १ (ख) मा प्रत्यक्षतर्फ प्रभातकिरण सुवेदी (शिव), बद्री अर्याल, शरद अधिकारी, अर्जुन न्यौपाने र विष्णुप्रसाद थपलिया रहेका छन् भने समानुपातिकतर्फ गेहेन्द्रबहादुर मल्ल, कविता इटनी, झंकनाथ भट्ट, श्यामकुमार लामा, क्रान्ति डल्लाकोटी, जितेन्द्र चेपाङ, लक्ष्मी सिलवाल, संगिता खतिवडा पण्डित, विमला चेपाङ र कविन शाक्य रहेका छन् ।