मार्सी धानमा रोग लागेपछि किसान चिन्तित

मार्सी धानमा रोग लागेपछि किसान चिन्तित


जुम्लामा मात्रै उत्पादन हुने कालीमार्सी धानमा ब्लास्ट रोग लागेपछि किसान चिन्तित भएका छन् । जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गौतमवाडामा रहेको धानको जिउलोमा ब्लास्ट रोग लागेपछि सो वडाका किसान चिन्तित भएको किसान बताउँछन् ।

ब्लास्टले धानको बोट नै मर्न थालेको छ । असारमा रोपेको मार्सीमा ब्लास्ट रोग देखिएपछि गौतमवाडाका किसान मर्कामा परेका छन् । धानमा ब्लास्ट लागेकाले कृषि विकास कार्यालय जुम्लामा समस्या लिएर आएको किसान भावना उपाध्यायले बताए ।

धानखेतमा सो समस्या देखिएको छ । सबैले कालीमार्सी धान लगाएका छन् । एक जना किसानको पाँचदेखि १५ भारीसम्मका खेत छन् । कालीमार्सीमा ब्लास्ट सङ्क्रमण फैलिएकाले समयमै उपचार गरी बाली जोगाइदिन कृषि विकास कार्यालयलाई आग्रह गरेका छौँ ।

धानको गुभो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको छ । हाम्रो पहिचानका रुपमा रहेको मुख्य बाली नै कालीमार्सी हो । बेलैमा उपचार नभए हाम्रो परिश्रम खेर जाने गरेको तातोपानी–४ का किसान जानकी गौतमले जानकारी दिनुभयो । समस्या देखापरेका ठाउँमा प्राविधिको टोली धान खेतमै पुगेर निरीक्षण गरी किसानलाई परामर्श दिइरहेको छ ।

धानबाली तत्काल निरीक्षण गरेर समयमै रोग नियन्त्रण गर्न कार्यालय लागिपरेको कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीकाले बताए । प्राविधिकले स्थलगत अध्ययन सुरु गरी काम गर्ने थालेका छन् ।

कालीमार्सी धान जुम्लाको पहिचानसँग जोडिएको छ । कृषि विकास कार्यालयले रोग लागेका क्षेत्रमा जाँच तथा परीक्षणका लागि प्राविधिक परिचालन गरी रोग नियन्त्रणमा कृषि प्राविधिक लागिपरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।