सुन्दरी सरिशा, जसलाई समाजको पीडाले दुःखी तुल्याउँछ

सुन्दरी सरिशा, जसलाई समाजको पीडाले दुःखी तुल्याउँछ


पेशाले चिकित्सक भए पनि मोडलिङ क्षेत्रमा समेत विशेष पहिचान बनाएकी डा. सरिशा श्रेष्ठ द हिडन ट्रेजरद्वारा आयोजित सौन्दर्य प्रतियोगितामा ‘मिस नेपाल अर्थ २०२२’ विजेता हुन् ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत प्याथोलोजीमा उत्कृष्ट अङ्क हासिल गरी २०७६ सालमा डा. ईश्वरलाल श्रेष्ठ स्वर्णपदक प्राप्त गरेकी सरिशा वातावरण र सम्पदा संरक्षणको क्षेत्रमा पनि उत्तिकै रुचि राख्छिन् । स्वतन्त्र ढङ्गले मोडलिङको क्षेत्रमा क्रियाशील रहनुका अलावा टेलिभिजन प्रस्तोता, सुमेरु अस्पतालकी मेडिकल अफिसरलगायत यावत परिचय पनि उनीसँग गाँसिएको छ । यिनै सुन्दरीले गत साता सिसडोल ल्यान्डफिल साइटनजिकै स्वास्थ्य शिविर चलाएर प्रशंसनीय कार्य गरिन् ।

सो क्षेत्रमा कार्यरत फोहोर संकलक र स्थानीय बासिन्दासहितका १६० जनाले सरिशाको शिविरबाट निःशुल्क स्वास्थ्य सेवा लिए । ‘हरित सोच : दिगो फोहोर व्यवस्थापन’ कार्यक्रमअन्तर्गत सरिशाले शिविर आयोजना गरेकी थिइन् । शिविरमा निःशुल्क सामान्य जाँच, आँखा र इएनटी जाँच, हाडजोर्नी र स्त्री प्रसुति, दाँत, मधुमेहको प्रयोगशाला परीक्षण, एचआइभी र हेपाइटाइटिसको सेरोलोजी तथा पिसावको नियमति परीक्षण गरिएको थियो । निःशुल्क औषधि पनि बाँडिएको थियो ।

उक्त शिविर द हिडन ट्रेजर, रोट्रयाक्ट क्लब अफ किस्ट एमसीटीएच, नेसनल युथ मुभमेन्ट, किस्ट अस्पताल, डक्टर टिथ, निरमाया डायग्नोस्टिक, क्रिस्टिन फार्मास्युटिकल्स, सहयात्री र मेडिकल काउन्सिलको संयुक्त प्रयासमा भएको थियो ।

अनुसन्धानले १७ वर्षदेखि फोहोरको अव्यवस्थित व्यवस्थापनको कारण सिसडोल आसपास समुदायमा क्यान्सर, श्वासप्रश्वास सम्बन्धी रोग र संक्रमणको घटना बढेको देखाएको छ । यही गम्भीर एवम् संवेदनशील दुःखदावस्थालाई हृदयङ्गम गरी सुन्दरी सरिशाले समाजोपयोगी कार्यक्रम आयोजना गरेकी हुन् । समाजको पीडाले आफूलाई दुःखी तुल्याउने गरेको सरिशाको प्रष्टोक्ति छ ।

ज्ञातव्य छ, आफ्ना विभिन्न सामाजिक क्रियाकलापका लागि मोडल डा. सरिशालाई विभिन्न संघ–संस्थाले पुरस्कार सम्मान प्रदान गरेका छन् ।