यती एयरलाइन्सद्वारा नयाँ विमान थप

यती एयरलाइन्सद्वारा नयाँ विमान थप


निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एयरलाइन्सले नयाँ विमान थप गरेको छ । यसअघि पाँच वटा विमान सञ्चालन गर्दै आएको यतीले सोमबारदेखि नयाँ विमान थप गरेको हो ।

यती एयरलाइन्सको छैटौँ विमान सोमबार दिउँसो ३ बजेर १५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको एयरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । यतीले ७० सिट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभिएसन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अस्ट्रेलिया, सिङ्गापुर, थाइल्याण्ड हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएका हुन् ।

एमएसएन नं ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकल मात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको सो एयरलाइन्सले जनाएको छ । एक अवतरणमा एक साइकल गणना हुने उक्त विमानको जम्मा ७० हजार साइकल उडान गर्नसक्ने क्षमता रहेको छ ।

विमान सङ्ख्या थप गरेको यतीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले बताए । ‘विमानको आवश्यक कागजी प्रक्रिया पूरा गरी रङरोगन गरेपश्चात् विमानले दशैँअगाडि नै उडान गर्नेछ, यसले गर्दा दशैँको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग पुग्ने विश्वास लिएका छौँ”, प्रवक्ता बर्तौलाको भनाइ छ ।

नयाँ थप गरिएको एटीआर ७२–५०० टर्बोप्रप विमान अन्य विमानभन्दा उत्कृष्ट भएको सो एयरलाइन्सले दाबी गरेको छ । उक्त विमानमा यात्रा गर्दा कम आवाज र कम्पन कम हुने प्रवक्ता बर्तौलाको भनाइ छ ।

यतीले हाल नेपालको राजधानी काठमाडौँबाट चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्जलगायतका ठाउँमा उडान गर्दै आएको छ भने सो एयरलाइन्सको भगिनी संस्था तारा एयरले लुक्ला, फाप्लु, मुस्ताङ, हुम्ला, जुम्लालगायका ठाउँमा उडान भर्दै आएको छ ।