जनताको साथमा नेपाली काङ्ग्रेस अभियान समापन

जनताको साथमा नेपाली काङ्ग्रेस अभियान समापन


  • आरपी उपाध्याय, नवलपरासी

जनताको साथमा नेपाली काङ्ग्रेसको अभियानलाई संचालन गर्दै आएको नेपाली काङ्ग्रेस नवलपुरले बीपी जयन्तीको अवसर पारेर अभियानलाई समापन गरेको छ । गत भाद्र १० देखि प्रारम्भ भएको जनताको साथमा नेपाली काङ्ग्रेस अभियानलाई जिल्ला अन्तर्गतका ९२ ओटा वडाहरुमा पार्टीले संयोजक खटाइ अन्तरक्रिया गराएर स्थानीय तहको निर्वाचनमा पराजयको कारण पत्ता लगाइ सुधारसहितको अभियानद्वारा आगामी दिनमा हुने निर्वाचनमा विजय हासिल गर्न अभियान संचालन गरिएको जिल्ला सभापति महेन्द्र ध्वज जिसीले जानकारी दिए ।

बीपी जयन्तीका दिन कावासोतिमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य डा. शशाङ्क कोइरालाले पार्टी संगठन बलियो बनाउन सबैको परम कर्तव्य रहेको बताउँदै मङ्सिर ४ गते हुने निर्वाचनमा उर्जावान भइ लाग्न सबैमा आग्रह गरेका थिए । सो अवसरमा पार्टीका उप महामन्त्री बद्री पाण्डेले निर्वाचन स्वभाविक प्रक्रिया भए पनि लोकतन्त्रलाई बलियो बनाउन नेपाली काङ्ग्रेसको संगठनलाई नै बलियो बनाउनुपर्ने जिकिर गरे । सो अवसरमा केन्द्रीय सदस्य सरस्वती तिवारी, जिल्ला उपसभापति बालकृष्ण घिमिरे,चन्द्रबहादुर राना लगायतले अभियानबारे आफ्नो धारणा राखेका थिए ।

विगतको स्थानीय तहको निर्वाचनमा लोकप्रिय व्यक्तिलाई उम्मेदवारी नदिएको र उम्मेदवारी पाएकाहरुलाई पनि अन्तरघातद्वारा हराइएको हुँदा मङ्सिर ४ गते हुने निर्वाचनमा उपरोक्त कुरा नदोहोर्‍याउन सबै पक्ष गम्भीर रहन पनि पार्टीका नेताहरुले अपिल गरेका थिए । सङ्घिय र प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारको सिफारिसले नवलपुर काङ्ग्रेसको संगठन तरंगित बन्न पुगेको विश्लेषकहरुको भनाइ रहेको छ ।

क्षेत्रीय र जिल्ला कार्य समितिको सिफारिस पाएका काङ्ग्रेसका नेताहरु मध्ये अन्त्यमा कसले टिकट पाए र बाजि मार्ने हो यो प्रश्न हालसम्म पनि अनुत्तरित नै छ।