सन्दिपलाई राज्यको सम्मान- ‘तिमी कालो सूचीमा छौ !’

सन्दिपलाई राज्यको सम्मान- ‘तिमी कालो सूचीमा छौ !’


  • राजन घिमिरे

सन्दिप लामिछाने दोषी होलान् या निर्दोष ? यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले सजाय पाउनु पनि पर्छ, तर आरोप लगाएकै भरमा भिडले त गऱ्यो-गऱ्यो, राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जस्तो ब्यवहार गर्न मिल्छ ? आजको तातो बहस हो यो ।

के अब सन्दीप लामिछाने नेपाल फर्कंदैनन् त ? उनी अब सदाको लागि फरार नै भएका हुन् त ? होइन भने किन राज्यले सन्दिपलाई कालो सूचिमा राख्न यस्तो हतार गऱ्यो ? कि सन्दिप भेष बदलेर विदेशमा नै लुक्ने भए ? यो थाहा पाएर नेपालको प्रशासनले उनलाई कालो सुचीमा राखेको हो कि ? यो होइन भने किन रातारात एउटा क्रिकेटर सेलिब्रिटीको जीवनमा नमेटिने दाग लगाउंन राज्य नै यसरी लागिपरेको छ ? यतिबेला सर्वत्र यस्तै प्रश्न उब्जिएको छ ।

सन्दिप आरोपित मात्र हुन् भन्ने कुरा राज्य आफैले पनि किन बुझपचाइरहेको छ ? उनी दोषी प्रमाणित भएजस्तो गरेर विषयलाई किन राज्य नै उछालिरहेको छ ? अझ सामाजिक सन्जालमा त आरोपी र आरोप लगाउनेको दिमाग नै भाँडिने गरेर सबै विज्ञ र जान्ने बुझ्ने भैरहेका छन् ।

आरोपी र आरोप लहाउनेहरूको बारेमा छलफल गरेर कसैलाई फ्लोअर्स बढाउनु छ त कसैलाई लाइक बढाउंनु छ अनि कसैलाई सस्क्राईब बढाउनु छ । सबैको आ-आफ्नै दाउ र खेल छ यहाँ, अनि यही दाउ र खेललाई बढावा दिइरहेको छ प्रशासनले । कसैले आरोप लगाएकै भरमा र बिना छानबीन सबैलाई फÞरार सुचीमा राख्दै जाने हो भने नेपालमा दिनमा जे-जतिलाई आरोप लाग्छ, ती सबैलाई फरार सूचीमा राखेर साध्य लाग्छ ? आरोपितले आफ्नो बारेमा केही भन्नै नपाउने त ? मृत्युदण्ड दिने बेलामा पनि अन्तिम इच्छा सोधिन्छ तर, नेपालको कानुनले त आरोपित सन्दिपलाई आफ्ना भनाइ नै राख्न नपाउँदै कालो सुचीको टीका लगाइदियो ।

नेपालमा यस्तो आरोप लागिरहँदा र आफ्नो प्रतिष्ठा गुमिरहँदा पनि उता सन्दिप मूलुकको शान बढाउन खेलि नै रहेका छन् तर यता उनी कालो सूचीमा परिसकेका छन् । उनी कहाँ छन् ? के गरेर बसेका छन् ? जुनसुकै समयमा हेर्न र थाहा पाउन सकिन्छ आजको अवस्थामा, तर राज्य किन आजको प्रविधिसँग टाढा छ ? सिधै कालो सूचीमा राख्दा टण्टा नै साफ भनेजस्तो ब्यवहार किन गरिरहेको छ ? बुझ्न सकिएको छैन ।

जसलाई आरोप लागेको छ उसले आफ्ना कुरा राख्न नपाउँदै दोषी भएजस्तो ब्यवहार गर्न मिल्दैनथ्यो, तर गरियो । सन्दिप दोषी होलान् या नहोलान् ? त्यो कानुनले भन्छ, तर आज नै उनी दोषी भएको ब्यवहार प्रशासन र समाजले गर्न मिल्छ ? आफू दोषी ठहर हुनुभन्दा अगाडि नै प्रशासनले गोप्य राख्नुपर्ने आरोपीको ब्यक्तिगत गोपनियता सार्वजिनिक गरेको कारण देखाइ सन्दिपले प्रशासनविरूद्ध मानहानीको मुद्दा हाल्न मिल्छ कि मिल्दैन ? विज्ञ भन्छन्- ‘जाहेरी पर्ने बित्तिकै आरोपितको विषयमा सार्वजनिक गर्न मिल्दैन । यसले एकातिर गोपिनियता हनन हुन्छ भने आरोपी भाग्न पनि सक्छ’, विज्ञ अगाडि थप्छन्- ‘अर्कोतर्फ वैयक्तिक गोपनियतासम्बन्धी ऐन २०७५ को दफा १७ ले अनुसन्धानको सिलसिलामा रहेको ब्यक्तिको विवरण सार्वजनिक गर्न नहुने ब्यवस्था गरेको छ तर यहाँ रक्षक नै चर्चाको लागि कानुनको उल्लंघन गरिरहेको देखिन्छ ।’

सन्दिपले खेल मैदानबाटै ‘म खेल सकाएर आउँछु, कानुनी लडाइँ लड्छु’ भनेर बारम्बार भनिरहेको अवस्थामा किन प्रहरीले उनलाई कालो सूचीमा राख्न यस्तो हतार गऱ्यो ? दोषी करार भैसकेपछि सन्दिप भागेको र उनलाई अब पक्रन गाह्रो हुने भयो भने यस्तो गर्दा होला तर, आरोपी मात्र भएको अवस्थामा किन राज्यले थोरै सजगता पनि अपनाएन भन्ने प्रश्न उठेको छ । भोलि राज्यको यस्तो गैह्रजिम्मेवारीपूर्ण ब्यवहारका कारण सन्दिपले अपमान सहन नसकेर केही तलमथि निर्णय लिए भने जिम्मेवारी कसले लिने ? आरोप प्रमाणित नभैकन समाज र राज्यले दोषी भएजस्तो ब्यवहार गरेका कारण त्यो अपमान सहन नसकेर विश्वमा थुप्रै सेलिब्रिटीले आत्महत्या गरेका र पछि छानबिन गर्दा आरोप प्रमाणित नभएका थुप्रै उदाहरण पनि छन् । यदि सन्दिपको जीवनमा यस्तो तलमाथि केही भयो भने यसको जिम्मेवारी कसले लिने ?