नेपालको वैदेशिक सम्बन्ध र राजा महेन्द्र

नेपालको वैदेशिक सम्बन्ध र राजा महेन्द्र


नेपालको परराष्ट्रमन्त्रीको हैसियतले दिल्ली पुगेका हृषिकेश शाह नेपालले आफ्नो परराष्ट्र नीति बदल्नुपर्ने सुझावमा सपर्पित भएर आए । राजा महेन्द्रले परराष्ट्र नीति बदल्नु भन्दा आफ्नो परराष्ट्र मन्त्री नै बदले । यसैको प्रतिरोधमा सीमाक्षेत्रमा ध्वंशात्मक गतिविधि बढ्यो, अघोषित आर्थिक नाकाबन्दी पनि लाग्यो ।
  • स्वयम्भुनाथ कार्की

बेलग्रेड र पाकिस्तानको भ्रमण पछि राजा महेन्द्रले ०१७ सालको कदम चालेकाले भारत सशङ्कित भएको थियो । भारतीय संसद्मा यस घटनाको बारेमा औपचारिक छलफल भएको थियो । त्यसमाथि वि.सं. २०१८ को असोजमा उनको चीन भ्रमणले भारत उनलाई आफ्नो विरोधी देख्न थालेको थियो । त्यस भ्रमणमा भएको नेपालचीन सीमा सन्धी र कोदारी राजमार्ग सम्झौता भारतले आफूविरुद्धको मोर्चावन्दी ठान्न पुग्यो । जनकपुरमा २०१८ माघमा उनमाथि बम पनि प्रहार भयो । राजा महेन्द्रसँगको चिसोपनको यो घटनामा भारतको कति योेगदान छ वा छैन त्यो अलग विषय हो ।

सरदार भीमबहादुर पाण्डेले ‘श्री ५ महेन्द्र र नेपालको असंलग्न परराष्ट्र नीति’ लेखमा २०१९ सालमा नेपालमाथि ‘अघोषित नाकाबन्दी’ लागेको उल्लेख गरेका छन् । जसलाई चीनले आफ्नो विदेशमन्त्रीमार्फत चेतावनी दियो कि भारतले नेपालमाथि हस्तक्षेप नगरोस् । यसको केही समयपछि चीन-भारत युद्ध भयो । भारतले विश्वजनमत आफ्नो पक्षमा पार्न र सहयोग पाउन नेपाललगायत ११४ मुलुकलाई पत्र लेख्यो । विवादित १९५० को सन्धी र भारतले मागेको गुहारले पनि यो मामिलामा नेपाललाई तटस्थ बस्न रोक्न सकेन । भारत अघोषित नाकाबन्दी झिकेर सम्बन्ध सुधारको प्रयत्न गर्न विवश भयो । भारतले गृहमन्त्री लालबहादुर शास्त्री, भगवान सहाय, डा. कर्णसिंह लगायतलाई निमित्त पठाएर सम्बन्ध सुधार गर्नु पऱ्यो ।

यो सबै किन भयो त ? राजा महेन्द्रले २०१९ बैशाख ५ गते भारतको राजकिय भ्रमणको बेलामा दिल्लीको विश्वसम्बन्ध परिषदलाई गरेको सम्बोधन टोक्नु न बोक्नु भयो । त्यस सम्बोधनमा उल्लेखित कुराहरूको सिधा विरोध सम्भव थिएन, तर त्यसले लामो समयदेखि भारतले कायम राखेको ठूल्दाजुपन तोडिन लागेको थियो । सीमाक्षेत्रमा कचिङ्गल मच्चाएर ठूल्दाजु भइरहने मनोवृत्ति छुटेन । बरु नेपालको परराष्ट्रमन्त्रीको हैसियतले दिल्ली पुगेका हृषिकेश शाह नेपालले आफ्नो परराष्ट्र नीति बदल्नुपर्ने सुझावमा सपर्पित भएर आए । राजा महेन्द्रले परराष्ट्र नीति बदल्नु भन्दा आफ्नो परराष्ट्र मन्त्री नै बदले । यसैको प्रतिरोधमा सीमाक्षेत्रमा ध्वंशात्मक गतिविधि बढ्यो, अघोषित आर्थिक नाकाबन्दी पनि लाग्यो ।

प्रकटमा विरोध गर्न नसक्ने र प्रतिरोध नगरी नहुने के कुरा थियो त त्यो सम्बोधनमा ? केही टुक्राहरू प्रासङ्गिक हुन्छ । नेपालको परराष्ट्रनीति शान्तिको पक्षमा र उपनिवेशवादको विरोधमा रहेको कुरा उल्लेख भएको छ , ‘मेरो देश नेपालले भारत र अरु शान्तिप्रिय उपनिवेशवादविरोधी शक्तिहरूको उपनिवेशवादलाई संसारबाटै निर्मूल गर्ने प्रयासलाई सधैं समर्थन गरेको छ ।’ नेपालको तटस्थतालाई भन्छन्, ‘तटस्थताको नीति कुनै अर्को विचारधारामा आधारित छैन । वास्तवमा यस दर्शनले दुई विरोधी विचारधाराहरूको बीच साँघुको काम गर्दछ ।’ परराष्ट्र नीतिमा असंलग्नता भारतले पनि अँगालेको कुरा पनि व्यक्त गरेका छन् । ‘जहाँसम्म मेरो सवाल छ तपाईंका नेता श्री नेहरूको यस युक्तिको पक्षमा म छु ।’

तर यो निःशर्त भने होइन भन्ने कुरा प्रष्ट गरेका छन्, ‘जहाँसम्म स्वतन्त्रता खतरामा पर्दछ, वा अन्यायको सम्भावना देखिन्छ त्यस अवस्थामा हामी न निष्पक्ष रहन सक्नेछौँ, न रहने नै छौंँ ।’ यी कुराहरू विगतमा जे भए पनि अब नेपाल एक स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा रहन्छ भन्ने घोषणा हो । सुरक्षाछाता वा नजिक-टाढाको जालमा नेपाल पर्दैन भन्ने अठोट हो । सात सालको दरबार र मन्त्रिपरिषद् बैठकसम्म भारतीय अधिकारीको पहुँच अब मान्य छैन भन्ने चुनौती हो । त्यसैले भारतले सकेजति उपलव्ध हतियार प्रयोग गरेको थियो । मुलुककै परराष्ट्रमन्त्रीलाई प्रभावमा लिएपछि राजा महेन्द्र अवश्य झुक्नेछन् भन्ने सोचले हृषिकेष शाहलाई प्रभावमा लिएको देखिन्छ । तर परराष्ट्रनीति भन्दा मन्त्री बदलेर उनले चुनौती नै दिएका हुन् ।

‘नेपालको चीनसँग पनि दौत्य सम्बन्ध छ र दुई देशमा प्रचलित राजनैतिक संस्थाहरूको असादृष्यले मात्रै नेपाल-चीन सम्वन्ध मैत्रीपुर्ण र हार्दिक हुनु पर्दैन भन्ने कुनै कारण छैन ।’ भारतसँग जस्तै नेपालको चीनसँग सम्बन्ध धेरै अघिदेखिन् अविच्छिन्न रहिआएको छ र चीनसँगको मैत्री पञ्चशीलका सिद्धान्तहरूमा आधारित छ ।’ जसरी भारतले नेपाल भारतको ‘रोटीबेटी’ र प्रचिनता रहेको भनेर नेपालले भारतभन्दा घनिष्ट सम्बन्ध अरुसँग राख्न नहुने छनक दिने गरेको छ त्यसलाई अस्विकार गरेका छन् राजा महेन्द्रले । चीनसँगको सम्बन्ध आवागमन कठिन भए पनि भारतसँग जस्तै प्रचिनता रहेको कुरा बताएका छन् ।

नेपालले कहिल्यै दुई छिमेकीलाई उचाल्ने-पछार्ने नगरेको र नगर्ने कुरा पनि भनेका छन् । ‘नेपालको चीनसँगको सम्बन्धको हकमा कहिले चीनलाई उचाली भारतलाई पछार्ने, कहिले भारतलाई उचाली चीनलाई पछार्ने किसिमको नीति नेपालको कहिल्यै रहेको छैन ।’ नेपाल-भारत सम्बन्धको संवेदनशीलतासँग परिचित मात्र हैन गम्भीर पनि भएको कुरा उनको यो भनाइले जनाउँछ ।

‘नेपाल र भारतको भिन्नतालाई आवश्यकता भन्दा बढाएर वा घटाएर कुरा गर्नु सजिलो छ, तर नेपाल र भारतलाई जस्ताको तस्तै दृष्टिगत राख्नु धेरै गाह्रो छ । किनभने त्यसो गर्नका लागि सहानुभूति, समवेदना र सहिष्णुता जति सजिलो पाइन्छ, त्यो भन्दा बढी परिणाममा चाहिन्छ । इतिहास साक्षी छ कि नेपाल र भारतबीच आधारभूत आध्यात्मिक मान्यताहरू आदानप्रदान भइरहोस् भन्नाको लागि ती दुवै स्वच्छन्दरूपले बाहिरी दबाबविना विकास हुनु आवश्यक छ ।’ यो कुरा वर्तमानमा पनि त्यति नै सान्दर्भिक र मार्गदर्शक छ । राष्ट्रवादी जस्तो उच्च पदावली भारतले पिरेमा चीनको काखमा र चीनले पिरेमा भारतको काखमा जान दिने हो भने त्यो अपमान हो ।