राजनीतिको अखडा बन्दै केदार मावि

राजनीतिको अखडा बन्दै केदार मावि


विगत ९ महिनादेखि विद्यालय व्यवस्थापन समितिविहीन

  • सुरेश धामी, बझाङ

विद्यालय व्यवस्थापन समितिको पदाअवधि सकिएको ९ महिना बितिसक्दा पनि बझाङको बुंगल नगरपालिका-९ स्थित केदार माध्यामिक विद्यालय देउलीकोटमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन ।

२०७८ पुस १६ गते पुरानो विद्यालय व्यवस्थापन समितिको कार्यअवधि सकिएको भएता पनि हालसम्म नयाँ विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको हो । समितिमा राजनीतिक दलहरूको भागबण्डा नमिल्दा समिति गठन हुन नसकेको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष जहरे बोहराले बताए ।

निवर्तमान नगरप्रमुख धनबहादुर बिष्टको वडामा रहेको उक्त विद्यालयमा व्यवस्थापन समिति गठन गर्नकै लागि ४ पटकसम्म अभिभाक भेला गराएर बैठक बसी सहमतिको प्रयास भए पनि नेपाली काङ्ग्रेसका नेताहरूले पार्टीगत तरिकाले भागबण्डा गर्न खोज्दा सहमति नभएको स्रोतले बताएको छ ।

भागबण्डाकै कारण सहमति नभएपछि निर्वाचन गरेर विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयले भाद्र ३० गतेका लागि निर्वाचनको समय तोक्यो । तर बुंगल नगरपालिकाका शिक्षा शाखा प्रमुख गोपाल कुँवरले विद्यालय व्यवस्थापन समिति गठनको लागि चुनाव गर्नुपर्ने प्रधान नरहेको भन्दै नगरपालिकाबाट प्रतिनिधि पठाएर सहमति गर्ने भन्दै निर्वाचन स्थगित गरेको हो । तर विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन कार्यविधिमा सहमति नभए चुनाव गर्ने प्रावधान पनि उल्लेख गरिएको छ ।

राजनीतिक आडमा कनिष्टलाई निमित्त प्रधानाध्यापक

वि.सं. ०७८ पुस ४ गते उक्त विद्यालयका निवर्तमान प्रधानाध्यापक ललितबहादुर सिहँको अवकासपछि विदाइ गरिएको थियो । पुस ७ गते नै विद्यालयका कर्मचारीहरूले उक्त विद्यालयका वरिष्ठ शिक्षक लालसिंह पुजारालाई निमित्त प्रधानाध्यापक बनाउने निर्णय गरी विद्यालय व्यवस्थापन समितिलाई सिफारिस गरेको भएपनि राजनीतिक पुर्वआग्रहकै कारण विद्यालय व्यवस्थापन समितिले स्वीकृत नगरी आलटाल गर्दै आफ्नो कार्यावधि सकिएको भन्दै पन्छिएको हो ।

शिक्षा ऐनमा कुनै पनि कारण प्रधानाध्यापकको पद रिक्त हुन गएमा पदपुर्ति नहुन्जेलसम्म वा प्रधानाध्यापक नियुक्ति नभएसम्मका लागि उच्चतहको वरिष्ठ शिक्षकले निमित्त प्रधानाध्यापको काम गर्न पाउने प्रावधान रहेको छ । उक्त ऐनअनुसार विद्यालयको नि. प्रधानाध्यापक प्रथम श्रेणी मावि उच्च वरिष्ठ शिक्षक लालसिंह पुजाराले पाउनुपर्ने हुन्छ । तर केदार माविले भने ऐन विपरीत कुनै पनि निर्णयबिना नै निमित्त प्रधानाध्यापको जिम्मेवारी कांग्रेसनिकट भएकै कारण गोपाल दत्त भट्टले पाएका छन् ।

यसरी विद्यालयलाई नै राजनीतिको अखडा बनाएपछि छोराछोरीको भविष्यमाथि खेल्न खोजेको भन्दै अविभावकले चिन्ता व्यक्त गरेका छन् । यस विषयमा वरष्ठि शिक्षक पुजाराले भने राजनीतिकै कारण आफूले पाउनुपर्ने अधिकारसमेत गुमाउनुपरेको बताए । उनले भने पछिल्लो समय काङ्ग्रेका स्थानीय नेताहरूले राजनीतिक आस्थाकै कारण मलाई फरक व्यवहार देखाएका छन् र म पीडित भएर बसेको छु फेरि नि यस्तै कार्य भइरहे भए कानुनअनुसार अगाडि बढ्न आफू तयार रहेको पनि उनले बताए ।

विव्यसको निर्णयविना नै बैंक खाता सञ्चालन, २०६६ सालदेखि विद्यालयको सामाजिक लेखा परीक्षण भएन

केदार माध्यामिक विद्यालयको नाममा विव्यसको निर्णयविना नै कृषि विकास बैंक झापामा खाता खोलिएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णयविना खाता खोल्न नपाइने भए पनि नगरपालिकाका कर्मचारी र कृषि विकास बैंकका कर्मचारीसँग मिलोमतो गरी अवैधानिक तरिकाले निप्रअ गोपालदत्त भट्ट र लेखापाल भरत महराको नाममा खाता संचालन गरेको विद्यालयका एक शिक्षकले बताए ।

२०६६ सालदेखि एक पटक मात्र विद्यालयको लेखा परीक्षण भएको भए पनि प्रतिवेदन प्रस्तुत नगरेको स्रोतले बताएको छ । साथै निवर्तमान प्रधानाध्यापक ललितबहादुर अवकास प्राप्त भएको ९ महिना बितिसक्दा पनि बरबुझारथ नबुझाएको पाइएको छ । शिक्षा ऐनमा कुनै पनि विद्यालयबाट अवकास प्राप्त प्रधानाध्यापकले अवकास परेको १५ दिनभित्र आफ्नो जिम्मामा रहेको नगद जिन्सी सामान विद्यालयलाई बुझाउनु पर्ने हुन्छ, तर सिँहले अहिलेसम्म नबुझाएको निप्रअ गोपाल दत्त भट्टले बताए ।