काठमाडौं उपत्याकासहित पश्चिममा भारी वर्षा

काठमाडौं उपत्याकासहित पश्चिममा भारी वर्षा


काठमाडौंमा दिउँसो ३ बजेपछि वर्षा रोकिने

काठमाडौं उपत्यकासहित देशका विभिन्न भू-भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ । देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ ।

वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ । आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ ।

वरिष्ठ मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ । विगत १२ घण्टामा काठमाडौंमा ३० एमएमको हाराहारीमा पानी परेको छ । उपत्यकामा हल्का सिमसिम पानी पर्ने, ३/४ बजेतिर पानी रोकिने र अन्यत्र सिमसिम पानी परे पनि ठूलो वर्षा नहुने तथा तत्काल मौसम खुल्ने सम्भावना नरहेको मौसमविद कँडेलको भनाइ छ ।

यो प्रक्रिया अझै २/३ दिन रहने जानकारी दिँदै कँडेलले पश्चिम र सुुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना रहेको, यो प्रक्रिया अझै २/३ दिनसम्म रहने र यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुने समेत सम्भावना रहेको, साथै पूर्व र मध्यम भागमा सामान्य पानी पर्ने तर पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको बताउनुभयो ।