लगातारको झरीले जनजीवन कष्टकर

लगातारको झरीले जनजीवन कष्टकर


  • डम्बर निदाल, डडेल्धुरा

लगातारको वर्षातका कारण डडेल्धुरा जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । गत बिहीबार रातिदेखि लगातार परेको झरीले जिल्लाको जनजीवन पनि कष्टकर बन्दै गएको हो ।

विजया दशमीको दिनदेखि बदली भएको मौसमले बिहीबार रातिदेखि अबिरल झरीको रुप लिएपछि पाँच दिनसम्म मनाउने दशैँ टिकाटालो र खेतीपातीमा पनि असर परेको छ ।

धान काट्ने र चुट्ने बेलामा तीन दिनदेखिको वर्षातले किसानहरुलाई चिन्तित बनाएको छ भने गाईबस्तुको स्याहार र आम सर्बसाधारणलाई पनि आवतजावतमा समस्या भएको छ ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय डडेल्धुराका अनुसार डडेल्धुरामा शनिबार बिहान ८ः४५ मा गरीएको मापनअनुसार ४६.० मिलिलिटर वर्षात् भएको छ । गत वर्षको तुलनामा यस वर्ष डडेल्धुरा भारी वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड कार्यालय डडेल्धुराका प्रमुख श्याम सुनारले बताए ।

यस्तै, दशैँ सकिएपछि आमनिर्वाचनको चहलपहल बढ्नुपर्नेमा लगातारको झरीले चिसो बढाउनुका साथै चुनावी गतिविधि पनि प्रभावित र शुन्यप्रायः भएका छन् ।

लगातारको झरीबाट मानवीय तथा भौतिक क्षतीबाट सचेत रहन जिल्ला प्रशासन कार्यालयले सचेत गराएपनि गत वर्ष पनि दशैँलगत्तै परेको बेमौसमी वर्षाले सुदूरपश्चिम प्रदेशमा क्षति पुगाएको कृषि बालीको सरकारले अहिलेसम्म पनि राहत नदिएको पहिरो तथा बाढीपीडितहरु बताउँछन् ।

लगातारको वर्षातका कारण जिल्लाका ग्रामिण क्षेत्रका केही सडक अवरुद्ध भएका छन् भने अहिलेसम्म जिल्लाभरी कुनै किसिमको घटना नभएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । साथै अवरुद्ध भएका सडकहरूलाई वर्षात कम हुनेबित्तिकै खोल्नका लागि सम्बन्धित निकायहरुमा खबर गरिसकेको उनको भनाइ छ ।