सुस्तामा बाढीको पानी पसेपछि ५० जनाको उद्धार टोली तयारी हालतमा

सुस्तामा बाढीको पानी पसेपछि ५० जनाको उद्धार टोली तयारी हालतमा


  • आरपी उपाध्याय, नवलपरासी

अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न गइ पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा पानी पसेको छ।

सुस्ता गाउँपालिका वडा नं. ५ सुस्ता गाउँको थारु टोल र सैनिक टोलमा पानी पसेर २४ घरपरिवार प्रभावित भएका छन् । नारायणी नदीको पानी सुस्ताको उत्तरतर्फको बाँध भत्काइ मानव बस्तीतर्फ पस्नासाथ सशस्त्र प्रहरी बल नेपाल बिओपी सुस्ता र प्रहरी पोष्ट सुस्ताका जनशक्तिको संयुक्त्त टोली मिलेर १२९ जनालाई उद्दार गरि खाद्यान्न तथा पशु,चौपायालाइ सुरक्षित स्थानमा स्थानान्तरण गरिएको २६ नम्बर गणका गणपति रुपकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

पानी पर्ने क्रम जारी रहेकोले थप उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्लाभित्र बाढी तथा डुबान जस्ता प्रकोप हुनसक्ने स्थानमा तुरुन्त खटिने गरि विपत प्रकोप उद्दारका लागि उद्दार सामाग्रीसहित सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण पश्चिम नवलपरासीबाट ५० जनाको टोली बिओपी गुठीप्रसौनीमा तयारी हालतमा (स्ट्यान्ड बाइ) राखिएको २६ नम्बर गणले जानकारी दिएको छ।

बाढीको समयमा बाढीप्रभावित परिवारलाई उद्दार गर्न नदीको बाटोबाट आवतजावत गर्न नसकिने भएकोले भारत विहार पश्चिमी चम्पारणका डिएमसँग समन्वय गरि सुस्तादेखि ३ किलोमीटरको दुरीमा रहेको भारतीय सुरक्षाकर्मीको क्याम्पमा राखिने व्यवस्थाप्रति भारतीय पक्ष सहमत भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् ।

सुस्ताका बाढीपीडितहरु सुखदुःख जे भएपनि सुस्तामै बस्ने निधो गरेकाले हाललाई उद्दारका लागि भारत जाने सम्भावना टरेको पनि बताइएको छ । पछिल्लो समययता नारायणी नदीमा पानीको सतह क्रमशः घट्न थालेको पनि जलमापन केन्द्र भारत विहारले जानकारी दिएको छ।

शुक्रबार बिहान नारायणी नदीमा ४ लाख ४५ हजार क्युसेक पानी प्रवाह भएको थियो भने शुक्रबार साझदेखि पानी घट्न थालेयता अहिले ३ लाख ५० हजार क्युसेक पानी प्रवाह हुनुबाट केही राहत महसूस गरिएको छ। नारायणी नदीमा आएको बाढी सुस्ताको मानवबस्तीमा पस्दा सशस्त्र प्रहरीको सुस्ता बिओपीमा ३ फिट पानी पसेको थियो । सशस्त्रको सुस्ता बिओपीमा पानी पस्दा कुनैपनी क्षति नभएको सशस्त्र प्रहरीबलले जानकारी दिएको छ।