झुण्डिएर मृत अवस्थामा फेला पऱ्यो एकै परिवारका तीन जनाको शव

झुण्डिएर मृत अवस्थामा फेला पऱ्यो एकै परिवारका तीन जनाको शव


गोरखामा रुखमा झुण्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

‘सात वर्षका दुई बालकको काप्राको रुखमा झुण्डिएको अवस्था फेला परेको छ’, उहाँले भन्नुभयो, ‘बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।’ घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुण्ड्याएर हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

घरबाट झण्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो । हेमबहादुरको शव भने बालकहरू झुण्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेला परेको प्रहरीले जनाएको छ । घटना कसरी घट्यो भनेर खुल्न बाँकी नै छ ।

बिहान स्थानीयले रुखमा मान्छे भुण्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिनुभयो । मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर बसेका थिए ।