उम्मेदवारी दर्तापछि रेखा थापाले भनिन्- ‘यो युवाले गरेको विद्रोह हो’

उम्मेदवारी दर्तापछि रेखा थापाले भनिन्- ‘यो युवाले गरेको विद्रोह हो’


राप्रपाकी नेतृ रेखा थापाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी हुन् ।

आफ्नो उम्मेदवारी युवाले गरेको विद्रोहको रुपमा लिएको बताएकी उनले आफ्नो जित सुनिश्चित रहेको दाबी पनि गरिन् । थापाले उम्मेदवारी दिएको मोरङ ३ मा एमालेका भानुभक्त ढकालले टिकट पाएका छन् ।

उम्मेदवारी दर्तापछि रेखा थापाले फेसबुकमा लेखेकी छन् –

मेरो राजनितीक यात्रा समयको माग हो, आज मोरङका जनताको सेवाका लागि । विगत ३० वर्ष देखि संसद्मा पुगेका दलका नेताहरुले मोरङवासीका लागि गरेको काम हेर्दा, समाजले एउटा नेतृत्वबाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो । अब पनि हामी नबोले, हामीले आवाज नउठाए कस्ले उठाउछ ? देश बनाउन कसम खाएका नेताहरुले देश त परै जावस् आफ्नो समाजको लागिसम्म पनि उत्तरदायी बन्न किन सकेनन् ? किन हामी मोरङवासी सधै देशको, राजनीतिको केन्द्रविन्दु हुँदाहुँदै पनि पछि परिेका छौ त ? यस्तै तमाम समस्याले गर्दा मैले, मोरङ क्षेत्र नै ३ बाट युवा विद्रोहको रुपमा उम्मेदवारी दिएकी छु । रंगमन्चको पर्दामा रेखा थापाको जुन खालको योगदान थियो अब नेपाली समाजको, मोरङबासीको, आमाहरु अनि छोरीहरुका लागि विशेष योजनासहित विशेष काम गर्नेछु ।

यसपटक पैसाले भोट किन्ने प्रथाको अन्त्य हुनेछ । यसपटक जनतालाई झुट कोलेर सांसद बन्ने प्रथाको अन्त्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरुसहित तपाईंको बीचमा आफुलाई उभ्याउने छु । यसपटक मोरङले राजनीतिक उच्च चेतना प्रदर्शन गर्नेछ, मोरङबासी राजनीतिक दास होइनन, उच्च चेतना र परिवर्तनका संवाहक पनि हुन् भनेर गतिलो जवाफ दिनेछन् भन्ने विश्वासका साथ संसदीय इतिहासमा मोरङले परिवर्तनका लागि विद्रोह गर्दैछ । त्यो चेतनशील विद्रोहमा सम्पुर्णआमा बुबा दाजुभाइ दिदीबहिनीहरुले दिनुभएको साथ र हातलाई म सधैं उच्च सम्मान गर्नेछु । मोरङबासीको जित सुनिश्चित छ ।