बाढी, पहिरोको क्षतिबारे अध्ययनका लागि समिति बनाउन गृहमन्त्रीको निर्देशन

बाढी, पहिरोको क्षतिबारे अध्ययनका लागि समिति बनाउन गृहमन्त्रीको निर्देशन


  • तस्बिर रासस

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा पश्चिम नेपालमा परेको भारी वर्षाका कारण उत्पन्न विपद्जन्य घटना र त्यसबाट निम्तिएको जनधनको क्षतिका बारेमा गम्भीर समीक्षा गरिएको छ ।

बैठकमा मुख्यतः कर्णाली र सुदूरपश्चिमका केही जिल्ला तथा बाँके, बर्दिया र दाङमा बाढी पहिरोले पुऱ्याएको क्षतिका साथै आगामी मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे छलफल भएको गृहमन्त्रालयले जनाएको छ ।

बैठकमा गृहमन्त्री खाणले हुम्ला, जुम्ला, मुगु र कालीकोटमा बाढी र पहिरोले पुऱ्याएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी रिपोर्ट पेस गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अधिकारी रहेको टोली बनाउन निर्देशन दिएका छन् । टोलीको समन्वय गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन् ।

तत्कालका लागि उपलब्ध गराउनुपर्ने राहत सरकारले उपलब्ध गराइरहेको र दीर्घकालीन समाधानका लागि टोलीको रिपोर्ट आएपछि रणनीति बनाएर अगाडि बढ्ने गृहमन्त्री खाणले बैठकमा बताएका थिए । बैठकअघि गृहमन्त्री खाणलाई मुगु र जुम्लाको टोलीले बाढी र पहिरोले पुऱ्याएको क्षतिबारे ध्यानाकर्षण गराएको थियो ।

त्यस्तै, बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहितरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका प्रमुखले अन्य सदस्यलाई जानकारी गराएका थिए । ती चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने रणनीति पहिल्याउन पनि सुरक्षा निकायका प्रमुखले आग्रह गरेका थिए ।

बैठकमा कहाँकहाँ के सुरक्षा चुनौती छन् र ती चुनौतीलाई समाधान गर्न के गर्नुपर्छ भन्नेबारे प्रदेशस्तरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने प्रस्ताव गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखाले पेस गरेको थियो ।

बैठकमा गृहमन्त्री खाणले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए । मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले निर्वाचन विशेष सुरक्षा योजना तयार पारेर जिल्लाजिल्लामा पठाएको र त्यसैका आधारमा सुरक्षा निकाय एवम् जिल्ला प्रशासन कार्यालयले निर्वाचनको तयारी गरिरहेका बताइएको छ ।

गृहमन्त्री खाणले सुरक्षा चुनौती पहिल्याएर समाधान गरेर अगाडि बढ्ने रणनीतिसाथ अगाडि बढ्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

ज्ञातव्य छ, गृहमन्त्रीको अध्यक्षतामा हुने सुरक्षा समितिमा गृहसचिव, रक्षासचिव, सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहने व्यवस्था छ ।