‘अब भारी वर्षाको सम्भावना सकियो’ : मौसमविद्

‘अब भारी वर्षाको सम्भावना सकियो’ : मौसमविद्


मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिव दुई साता देशैभर वर्षा भयो । दशैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पुऱ्यायो । बाढीपहिरोजन्य घटना पनि बढे ।

यतिखेर दशैँ सकिएर तिहारको सङ्घारमा केही दिनयता मौसम सुधारिएको छ । क्रमिकरूपमा मौसममा सुधार आई भारी वर्षा (ठूलो पानी) पर्ने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मञ्जु बासीका अनुसार अहिले मनसुनी गतिविधि नरहेकाले देशैभरको मौसम सुधार हुँदै गएको छ भने देशका कतिपय स्थानमा क्षणिक बदली र हल्का वर्षा हुने संभावना रहे पनि भारी वर्षा हुने देखिँदैन । अब मौसम सुक्खा हुँदै जाने भएकाले वर्षाको सम्भावना रहँदैन । केही दिनभित्र देशको पश्चिमी भूभाग भएर मनसुन पनि बाहिरिनेछ ।

राजधानी काठमाडौंलगायतको आकाशमा क्षणिक बादल देखिए पनि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।