धादिङमा वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान

धादिङमा वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरण अभियान


राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ । पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीको टोलीले जिल्लाका सबै वडामा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फाराम भर्ने लक्ष्य लिएको छ ।

गल्छी गाउँपालिकाका वडाबाट अभियान सुरु गर्न लागिएको हो । बिहीबार गल्छी बैरेनीमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखको उपस्थितिमा यस्तो जानकारी दिइयो । निर्देशक कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार (२८ असोज) देखि नै आवश्यक जनशक्ति परिचालन गरी क्रमशः जिल्लाका एक सय चार वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने तयारी थालिएको छ ।

विभागले अहिलेसम्म ३९ जिल्लामा अभियान पूरा गरेको । तेह्र जिल्लामा अहिले अभियान सञ्चालन भइरहेको छ । छापिएको कार्ड अब चाँडै वितरण गर्ने पनि विभागको लक्ष्य रहेको निर्देशक पौडेलको भनाइ छ ।

अभियान सञ्चालनपछि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा रातभर लाइन बस्नुपर्ने समस्या समाधान हुनेछ । नागरिकता, राहदानी, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्रलगायतका दुई दर्जन बढी परिचयपत्रको सरकारले एकीकृतरूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो ।

हरेक वडामा विभागले आवश्यक उपकरणसहित टोली परिचालन गर्ने र तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने तयारी भएको जनाइएको छ ।

ज्ञातव्य छ, सरकारले पहिलो चरणमा राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले जिल्ला प्रशासनमा भीड लाग्ने गरेको छ । तर आकस्मिकरूपमा परिचयपत्र चाहिनेका लागि सरकारले काठमाडौँमा पनि व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्रमा नागरिकका सम्पूर्ण जैविक तथा वैयक्तिक विवरण सङ्कलन गर्नेछ ।