सामाजिक सञ्जालको गलत प्रयोगले कङ्गाल बनाउला, होस गरौँ !

सामाजिक सञ्जालको गलत प्रयोगले कङ्गाल बनाउला, होस गरौँ !


बैंक कार्ड आइडी कार्डहरू सञ्जालमार्फत लिनेदिने नगरौँ

  • डिल्ली अम्माई

अहिलेको समयमा युवायुवतीहरूको सबैभन्दा मनपर्ने टाइमपासको कुरा गर्ने हो भने त्यो पक्कै पनि सामाजिक सञ्जाल हो । यही कारणले गर्दा आजकल आफ्नो स्मार्टफोन नभएको र फेसबुक, ट्विटर, इन्स्टाग्राम, व्हाट्सएप र टिकटक जस्ता सामाजिक सञ्जाल एप नभएका युवा विद्यार्थी सायदै होलान् ।

सामाजिक सञ्जाल आम युवाको आदत जस्तै बन्दै गइरहेको छ तर स्कुल तथा क्याम्पस टपर्सको कुरा गर्ने हो भने सोसल मिडिया प्रयोगबारे उनीहरूको धारणा हाम्रो भन्दा अलि फरक भएको तथ्य एक सर्भेबाट पत्ता लागेको छ ।

तथापि, भर्खरै गरिएको एक सामाजिक सञ्जाल अनुसन्धानका अनुसार विद्यालयमा पढ्ने उत्कृष्ट विद्यार्थीहरूले सोसल मिडियालाई केवल अध्ययनको सामग्री बनाएको पाइएको छ । उनीहरूले सोसल मिडियालाई उनीहरूको सफलताको महत्त्वपूर्ण कारणको रूपमा उद्धृत गरेका छन् । तर अविभावकहरूको सन्दर्भमा नतिजा अलिक फरक निस्केको छ । उत्कृष्ट विद्यार्थीका मात्र नभएर प्रायः सबै अभिभावकहरू आफ्ना छोराछोरीहरू सोशल मिडियामा बढी समय बिताउने कुराले चिन्तित देखिन्छन् ।

परीक्षाको तयारीमा छोराले मोबाइलमा धेरै समय बिताउन थालेकोले समस्यामा परेकी गृहिणी सुनिता भन्छिन्, ‘छोरा पढाइमा राम्रो छ तर आजकल मोबाइलमा सामाजिक सञ्जालमा डुबेको छ । परीक्षामा सफलता पाउनका लागि पढाइमा पूर्ण ध्यान दिनुपर्छ । सामाजिक सञ्जालमा यति धेरै समय बिताएपछि उसले कसरी सफलता हात पार्न सक्छ भनेर म मेरो छोराको बारेमा धेरै चिन्तित छु ।’

अनुसन्धान र सर्वेक्षणबाट संसारभरिका धेरै विद्यार्थीहरू सामाजिक सञ्जालबाट टाढै रहेकोले सफलता मिलेको रिपोर्ट आएको छ ।

भारतमा भएका धेरै उत्कृष्ट विद्यार्थीहरूले सामाजिक सञ्जालबाट टाढा रहेको बताएका छन् र, कतिले त आफूसँग स्मार्टफोन समेत नभएको जनाएका छन् । उदाहरणका लागि, उच्चमाध्यामिक तहमा पहिलो नम्बर प्राप्त गर्ने जयपुरका नलिन खण्डेलवालले सफलताको खोजीमा उनी सामाजिक सञ्जालबाट टाढा बस्ने र दिनको आठ घण्टा अध्ययन गर्ने बताए । उनको आफ्नै स्मार्टफोन पनि छैन । अर्कोतर्फ, उक्त परीक्षामा पाँचौँ स्थान प्राप्त गर्ने मेरठका अनन्त जैनको पनि त्यही अवस्था छ । स्कुल पढाइसँगै मेडिकल पढेका अनन्तले आफ्नो सफलता सुनिश्चित गर्न मोबाइल र टिभीबाट टाढा रहेको बताए । यसै क्रममा आठौँ स्थान हासिल गरेका लखनऊका ध्रुव कुशवाहाले पनि आफ्नो सफलताको रहस्य सामाजिक सञ्जालबाट टाढा रहनु र पढाइमा ध्यान दिनु हो भन्ने जवाफ दिए ।

त्यस्तै, धेरै सामाजिक सञ्जाल अनुगमनकर्ता र अनुसन्धान बेत्ताहरूले सामाजिक सञ्जालको प्रयोगबाट हुने ‘नाफा नोक्सान आफ्नै हातमा’ रहेको निष्कर्ष दिएका छन् । उनीहरूको सल्लाहअनुसार विद्यार्थी तथा सामान्य मानिसको लागि सामाजिक सञ्जालमा भुल्न ‘दिनको आधा घण्टा पर्याप्त’ हुने र विश्वको सूचना जानकारीको लागि सामाजिक सञ्जाल पनि सहयोगी सिद्ध भएको बताएका छन् ।

यसबारे प्रख्यात समाजशास्त्री प्रोफेसर आनन्द कुमार भन्छन्, ‘सोसल मिडिया बाधक बनिरहेको छ कि छैन भन्ने कुरा तपाईंलाई कस्तो सूचना चाहिन्छ र के-कसरी यसको प्रयोग गर्नुहुन्छ भन्नेमा भर पर्छ । यदि तपाईं विश्वस्तरका सूचना र गतिविधिको जानकारीमा चासो राख्नुहुन्छ भने सोसल मिडियाले तपाईंलाई देश र विश्वसँग अपडेट रहन मद्दत गर्न सक्छ ।

जब मेडिकल परीक्षाको कुरा आउँछ, सोसल मिडियाले त्यस्ता विद्यार्थीहरूको अध्ययनमा मद्दत गर्न सक्दैन । तर एक समाजशास्त्री वा पत्रकारको लागि सामाजिक सञ्जाल सहयोगी हुन सक्छ । यसरी हेर्दा सोसल मिडिया सञ्जालका विभिन्न तहहरू हुन्छन् र सूचना तथा विज्ञापनहरूलाई छानेर आफ्नो ज्ञानलाई बढाउन सक्ने कतिपय आधारहरू सञ्जालले प्रदान गरेको हुन्छ ।

आज जसरी प्रायः सबै विद्यार्थीसँग मोबाइल छ, त्यो दुईधारे तरवारजस्तै हो भनेर बुझ्नुपर्छ । जुन बच्चाहरूलाई राम्रो नराम्रोको ज्ञान हुँदैन, ती बच्चा वा किशोर-किशोरीहरूलाई स्मार्ट फोन दिनु घातक पनि हुन सक्छ । त्यसको एक कारण यो हो कि अबोध किशोर-किशोरीहरू सञ्जालको संसारमा निरन्तर क्रियाशील हुन चाहन्छन् । उनीहरूले सही वा गलत जानकारीबारे फरक छुट्याउन सक्दैनन् । जसलाई सञ्जालमा देख्यो त्यसैलाई सत्य मान्न थाल्छन् र सञ्जाललाई नै संसार मान्न थाल्छन् । पछि यो बानी लतको रूपमा विकास भयो भने अझ बढी घातक हुन जान्छ ।

यसरी औसत विद्यार्थीको कुरा गर्ने हो भने सामाजिक सञ्जाल बाधक बन्दै गएको अनुसन्धानबाट थाहा भएको छ । मानिसको रुचि र सामाजिक सञ्जालबीचको यो विरोधाभाष कसरी हटाउन सकिन्छ त ? जवाफमा समाजशास्त्री आनन्द कुमार भन्छन्, ‘विद्यालयहरूले यसलाई गम्भीरतापूर्वक लिनु र विद्यार्थीहरूलाई सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे विस्तृत जानकारी गराउनु आवश्यक छ ।’

जसरी विद्यालयमा साहित्य पढाउँदा सही र गलतबारे ज्ञानको विकास हुन्छ र यसको महत्व बुझिन्छ, त्यसैगरी हामीले सामाजिक सञ्जाललाई विद्यालय शिक्षाको हिस्सा बनाउनुपर्छ । सामाजिक सञ्जाललाई पूर्णतया बन्द गर्नु सही विकल्प होइन, किनभने यसले बालबालिकाको देश र विश्वलाई हेर्ने र बुझ्ने दृष्टिकोणलाई विस्तार गरिरहेको छ । तर सञ्जालले सूचनाको फिल्टर नगर्ने हुनाले विषयगतरूपमा यसका असल र खराब असरबारे विद्यार्थीलाई बेलैमा ज्ञान दिनु उपयुक्त हुन्छ ।

सोसल नेटवर्किङ साइडहरू वैश्विक मानवको एक हिस्सा बन्दै गैरहेको अवस्थामा हामीले सिक्नु र सिकाउनुपर्ने धेरै कुराहरू छन् । हामीले सामाजिक सञ्जालमार्फत गर्नै नहुने कुराहरूबारे पनि फरक-फरक अनुसन्धान भैरहेका छन् । कुनै पनि सामाजिक सञ्जालका साइडहरू पूर्णरूपमा सुरक्षित हुँदैनन् । ह्याकर वा हाम्रो सञ्जालको दुरुपयोग गरेर निजी फाइदा लिने अपराधिक गिरोहको जालो पनि संसारभरि व्याप्त छ । त्यसैले हामी सञ्जालको प्रयोग गर्दा के-कसरी प्रयोग गर्ने, थाहा पाउनु जरुरी हुन्छ ।

टेक्जुरी नेट https://techjury.net/blog/how-many-cyber-attacks-per-day/#gref ले दिएको एक रिपोर्ट अनुशार विश्वव्यापी रूपमा तीस हजार वेबसाइटहरू दैनिक ह्याक हुन्छन् । विश्वभरका ६४ प्रतिशत कम्पनीहरूले कम्तिमा एक प्रकारको साइबर आक्रमणको अनुभव गरेका छन् । त्यस्तै सोसल साइडहरूको सन्दर्भमा २०२१ मा २२ अर्बको रेकर्ड तोडिएको जनाइएको छ । यस्ता मामिलाहरू ९२.५ प्रतिशतले बढेर गएको रिपोर्टमा उल्लेख छ भने हरेक ३९ सेकेन्डमा, वेबमा कतै न कतै नयाँ साइबर आक्रमण हुने गरेको छ । इन्टरनेटमा दैनिक औसतमा २४ हजार मोबाइल एपहरू ब्लक हुन्छन् ।

ह्याकिङको यो तथ्यले हाम्रा सामाजिक सञ्जालका एपहरू कति सुरक्षित छन् भनेर देखाउँछ ।

यसबाहेक, क्षेत्रका लगभग ६० प्रतिशत कम्पनीहरूसँग ५००+ पासवर्डहरू छन् जसको कहिल्यै म्याद समाप्त हुँदैन । त्यहाँ काम गर्ने व्यक्तिहरू नै कतिपय अवस्थामा जोखिमकारक भएकाले, साइबरसँग जोडिएका बैंक जस्ता व्यवसायहरू साइबर हमलाहरू र डाटा उल्लङ्घनको लागि बढी जोखिममा हुन्छन् ।

माथिका तथ्यहरूले हाम्रो साइबरसँग सम्बन्धित गतिविधि कति जोखिममा छ भनेर प्रष्ट पार्दछ । त्यसैले यसको प्रयोगमा अधिक सावधानी नअपनाउँदा हाम्रो अवस्था के हुन्छ भनेर बताइरहन नपर्ला ।

सामाजिक सञ्जालको गलत प्रयोगले हाम्रो लागि समस्या बन्न सक्ने वा हाम्रो दुर्घटना वा मृत्युको कारण बन्न सक्ने केही कुराहरू छन् । जसको कारण, सञ्जाल अनुसन्धानकर्ताहरूले सामाजिक सञ्जालको सही प्रयोगबारे बेला-बेलामा सतर्क गराइरहेका हुन्छन् ।

सञ्जालको प्रयोगबारेका ती महत्वपुर्ण जानकारी हामीले जानेर मात्र हुँदैन । त्यसलाई हाम्रा विद्यार्थी छोराछोरीहरूसम्म पुऱ्याउनु पनि हाम्रो कर्तब्य हो । त्यसैले हाम्रो निजी जानकारी फेसबुकलगायतका सञ्जालमा राख्न हुँदैन भनेर भनिरहनु नपर्ला । फेसबुक, ट्विटर, इन्स्टाग्राम, व्हाट्सएप र टिकटक जस्ता सामाजिक सञ्जाल प्रयोग गर्दा हामीले गर्नै नहुने कुराहरूबारे सञ्जाल अनुसन्धानकर्मीहरूले केही निष्कर्षहरू निकालेका छन्, जसलाई निम्नानुसार राखिएको छ :

१) फोन नम्बर : यदि सामाजिक सञ्जालमा हाम्रा मोबाइल नम्बरहरू भुलवश राखिएको छ भने त्यसलाई तुरुन्त हाइड गर्नुपर्छ । फेसबुक पेजमा फोन नम्बर राख्नुलाई अनुसन्धानकर्मीहरूले अपराधको श्रोत उपलब्ध गराउनुसरह मानेका छन् । आपराधिक नियत भएका मानिसहरूले सञ्जालमा राखेको फोनबाट हाम्रा सबै सम्पर्कहरूसम्म सहजै पुगेर हामीबाट ढिलोचाँडो गलत फाइदा उठाउन सक्ने सम्भावना प्रवल रूपमा रहन्छ । हाम्रो एक गल्तीले हाम्रा आफन्तहरू समेत पीडित बन्न सक्ने सम्भावना रहन्छ । कल डिटेल वा बाइपासमार्फत उनीहरूको पहुँच हाम्रा वित्तीय कारोबारसम्म पनि पुग्न सक्ने सम्भावना उत्तिकै हुन्छ । ह्याकरहरूसँग हाम्रो फोनको आवाजसमेत सुन्न सक्ने क्षमता हुन्छ ।

२) जन्ममितिको विज्ञापन र प्रचार : ह्याकरले हाम्रो जन्मदिनमार्फत नै हाम्रोको निजी जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरू हाम्रो बैंक खातासम्म पुग्न सक्ने सम्भावना रहन्छ । यसर्थ हामीले आफ्नै गल्तीको कारण निकै समस्या झेल्नुपर्ने हुन्छ । अतः भुलेर पनि सार्वजनिक सञ्जालमा जन्ममिति राख्ने, सञ्जालमार्फत जन्मदिनको प्रचार गर्ने र साथीहरूका जन्ममिति मनाइदिने बहानामा उनीहरूको अत्यन्त निजी विवरण सार्वजनिक गरिदिनु हुँदैन ।

सबैलाई थाहा भएको हुनुपर्छ कि जन्ममिति हाम्रा निजी विवरणहरूको महत्वपुर्ण चाबी हो । जन्म मितिमार्फत मानिसको आर्थिकलगायत सबै निजी विवरणसम्म पुग्न ह्याकरलगायत सञ्जाल नेट विज्ञहरूलाई सहज हुन्छ । त्यसैले भुलेर पनि हामीले अज्ञानतावश गर्दै आएका सञ्जालमार्फत जन्मदिन मनाउने, जन्ममिति भएका कार्ड तथा अन्य निजी विवरणयुक्त सामाग्रीहरू लिनेदिने गर्ने काम बन्द गर्नुपर्छ ।

३) नचिनेकालाई फेसुबकमा प्रवेशबारे : अपरिचित मानिसहरूको फ्रेन्ड रिक्वेष्ट कहिल्यै पनि स्विकार्नु हुँदैन । किनकि फेसबुकमा कहिलेकाहीँ हाम्रा निजी विवरणहरू राखिएका हुन सक्छन् । हाम्रो स्थाई ठेगाना राखिएको हुन सक्छ । ति सबै कुरा अपराधिक ह्याकरहरूले आफ्नो नियन्त्रणमा लिए भने हामीलाई खतरा हुन सक्छ । अहिलेको जमाना भनेको मान्छेका ब्यक्तिगत विवरणहरूको समेत किनबेच हुने जमाना हो । हाम्रा जमिनहरू हाम्रै सञ्जालको दुरुपयोगका कारण भूमाफियाले थाहै नपाई बेचिदिएका अनेक खबर आइरहेका छन् । तसर्थ, सञ्जालमा चिनजानका साथीलाई मात्र साथीको रूपमा स्विकार्नु बुद्धिमानी हुनेछ ।

४) सम्बन्धका आरोह-अवरोहबारे : प्रवासीका प्रेम र सम्बन्धहरू अहिले सञ्जालकै दुरुपयोगका कारण धरापमा छन् । श्रीमान् वा श्रीमती दुवै सँगै नभएको अवस्थामा गलत नियत भएका मानिसहरूले दुवैको सम्बन्धलाई डुबाइदिन सक्छन् । ब्यक्तिगत सूचनाहरू सञ्जालमा राखेका कारण खराब मानिसले हाम्रो परिवारमाथि खराब नजर राख्न सक्ने सम्भावना अधिक रहन्छ । उनीहरूले हाम्रो परिवारसहित कमाएको सम्पति पनि उछिट्ट्याइदिन सक्छन् । अतः प्रेम सम्बन्धबारे, आफ्नो निजी सम्बन्धको अवस्थाबारे र आर्थिक अवस्थाबारे सञ्जालमार्फत प्रदर्शन गर्नु धेरै घातक काम हो ।

५) लाइसेन्स, लालपुर्जा, बैंक कार्ड, आइडी कार्ड, क्रेडिट कार्डबारे : यस्ता निजी संवेदनशील कार्डहरू आफन्तलाई पठाउँदा मेलमार्फत पठाउनु बढी सुरक्षित हुन्छ । यी सबै कार्डको डिटेल्स सञ्जालमार्फत लेनदेन गरियो भने ढिलो वा छिटो ह्याकरको हातमा पुग्न सक्छ । यिनै कुराहरू प्राप्त गर्नको लागि अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर सामाजिक सञ्जालमार्फत नै हुने गरेको तथ्य अनुसन्धानबाट पत्ता लागेको छ ।

६) सामाजिक सञ्जालमा कसलाई नजोड्ने : सञ्जाल सामाजिक सूचनाको प्लेटफर्म हो । तसर्थ सामाजिक सञ्जालद्वारा हामीलाई उपलब्ध गराइएको ब्यक्तिगत ठाउँमा आफूले काम गर्ने स्थान, कामको प्रकृति र मालिकबारे केही लेख्नु घातक हुन सक्छ । सकभर आफ्नो प्रहरीको अफिसर, साइबर इन्टेलिजेन्स र कामको मालिक (साहु)लाई सञ्जालमा साथीसमेत बनाउनु हुँदैन । किनकि यसले हाम्रा धेरै कुरा कामको बारे उनीहरूलाई जानकारी हुन्छ । हाम्रा कतिपय कुराहरू उनीहरूलाई नरम्रो लाग्न सक्छ जसका कारण साइबर अपराधमा फसिने, बैंक रकम चोरी हुने र कामदार वा कर्मचारी साहुबाट हेपिने सम्भावना रहन्छ ।

७) सञ्जालमा आफ्नो अवस्थितिको जानकारीबारे : धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले फेसबुकलगायत सञ्जालमा आफू र आफ्नो अवस्थितिबारे जानकारी गराइरहेका हुन्छन् । त्यो ज्यादै आत्माघाती काम हो । हामीले आफ्नो लोकेशन ट्याग गरेर भ्रमण नगर्न सामाजिक सुरक्षाविद्हरूले सल्लाह दिएका छन् । किनकि हाम्रो गन्तब्यको अवस्थाबारेको जानकारीले हामीलाई अपराधीद्वारा पच्छ्याउन सजिलो बनाइदिन्छ । हामीलाई कुन कारणले कहिलेदेखि कसले पच्छ्याइरहेको छ हामीलाई पत्तै हुँदैन । त्यसैले हामीले आफ्नो र आफ्ना परिवारको अवस्थिति, भ्रमण वा यात्रा समयको बारेमा सम्बन्धित ब्यक्तिबाहेक अरुलाई जानकारी दिनु हुँदैन ।

धेरैजसो अपहरण, हत्या र आक्रमणका घटना सामाजिक सञ्जालको दुरुपयोगको कारणले भइरहेको सुरक्षाविदहरूको अनुसन्धानबाट प्रमाणित भएको छ । त्यस्तै घरमा हुने चोरी/डकैतीको एक कारण सामाजिक सञ्जाल भएकोसमेत अनुसन्धानबाट जानकारीमा आएको हो ।

८) निजी तस्बिरहरू राख्नेबारे : सामाजिक सञ्जाल सुरक्षित रूपमा प्रयोग गर्ने धेरैजसो मानिसहरूले सामिजिक सूचना, सार्वजनिक महत्वका लेख, रचना र समाचारहरू मात्र सञ्जालमार्फत सेयर गर्दछन् । आफ्ना मौलिक स्टाटसहरू वालमा राख्दछन् । नेपालमा पनि धेरैजसो पत्रकार र सञ्जाल सजगता अपनाउने बुद्धिजीवी सर्कलले आफ्ना निजी विवरण र परिवारका तस्बिरहरू सञ्जालमा सम्प्रेषण गर्दैनन् ।

तर हामीमध्ये धेरैजसोले यसबारे ध्यान पु¥याएका हुन्नौँ । हामीले हाम्रै असावधानीको कारण आफ्नो दुश्मनलाई आफ्नो परिवारसम्म पुु¥याइरहेका छौँ । कतै हाम्रा छोराछोरीका अर्धकट्टी तस्बिरहरू पोर्न माफियासम्म त पुगेका छैनन् ? यसमा हामीले ध्यान दिएका छौँ त ? अतः सार्वजनिक सामाजिक सञ्जालमा परिवारको तस्बिर राख्नु पनि एक घातक कार्य हो भन्ने अनुसन्धानको निष्कर्ष रहेको छ ।

यसका साथै हाम्रा बालबच्चाको स्कुल र अन्य गतिविधिबारेका जानकारीहरू पनि सञ्जालमा राख्नु हुँदैन । साना बालबच्चाहरूका स्कुललगायतका गतिविधि सञ्जालमा सेयर गर्दा भएका अपहरण, हत्या र दुर्घटनाबारे सञ्जालविज्ञहरूले निरन्तर सजग गराइरहेका हुन्छन् तर हामीले त्यस्ता निष्कर्षहरूबारे उति चासो राख्दैनौँ । आधुनिक संसारमा धेरैजसो घटना वा दुर्घटनाहरू सामाजिक सञ्जालको दुरुपयोगका कारण दिन-प्रतिदिन बढ्दै गएका छन् ।

अन्तमा, हामी हाम्रा निजी जीवनबारे माथि औंल्याइएका महत्वपूर्ण चेतावनीहरूलाई ध्यान दिँदै सामाजिक सञ्जालको प्रयोग गर्नुपर्छ । सामाजिक सञ्जाल सुरक्षा विज्ञहरूका सुझावहरूलाई ख्याल गरेर सामाजिक सञ्जालको सुरक्षित प्रयोग गरियो भने सूचनाको क्षेत्रमा सामाजिक सञ्जाल एक महत्वपुर्ण ज्ञानको श्रोत पनि हो । त्यसैले सामाजिक सञ्जाललाई दुई धारको तरवार भनिएको हो ।