रामदेव भन्छन्- ‘बलिउडमा चारैतिर लागुऔषध’

रामदेव भन्छन्- ‘बलिउडमा चारैतिर लागुऔषध’


योग गुरु बाबा रामदेव चर्चामा आइरहने गुरु हुन् भन्दा फरक नपर्ला । उनले हालैमात्र बलिउडको तमाम कलाकारमाथि आफ्नो निशाना लगाए । जसकारण उनी पुन: चर्चामा आए ।

उत्तर प्रदेशको मुरादावादमा नशामुक्त भारत कार्यक्रममा सहभागी हुन पुगेका रामदेवले आममानिसलाई लागुऔषध नलिन आग्रह गरिरहँदा बलिउडका स्टारमाथि लागुऔषध प्रयोगकर्ताको आरोप लगाए । उनले सलमान खान, शाहरुख खान र आमिर खानको नाम लिँदै उनीहरुलाई लागुऔषध प्रयोगकर्ता भन्न छुटाएनन् ।

‘शाहरुख खानका छोरा लागुऔषध लिइरहेका छन् । फिल्म उद्योगमा चारैतिर लागुऔषध मात्र छ’,उनले भने ।

रामदेवले बलिउडप्रति निशाना साँधेको यो पहिलोपटक होइन । यसअघि पनि उनले बलिउडप्रति आक्रोश पोख्दै आएका छन् ।

बलिउडमा लागुऔषध मामलामा कैयौं कलाकारहरु पक्राउ परिसकेका छन् । अभिनेता सुशान्त सिंह राजपूतका निधनपछि लागुऔषध मुद्धाले नयाँ चर्चा पायो । जसकारण नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले ठूला स्टारहरुलाई सोधपुछ नै गर्नुपर्‍यो ।

सन् २०२१ मा शाहरुखका छोरा आर्यन मुम्बईको एक क्रुज पार्टीमा पक्राउ परे । साथीसहित पक्राउ परेका उनलाई लागुऔषध प्रयोग गरिरहँदा पक्राउ गरेको आरोप लगाएर जेल नै पठाइएको थियो । यद्यपि उनले सुरुवातमा जमानत पछि क्लिन चिट नै पाए ।