जजिराका प्रतिनिधिले भने- ‘खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ’

जजिराका प्रतिनिधिले भने- ‘खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ’


जजिराले रोक्यो दैनिक उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि रोकिएको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ ।

जजिरा एयरवेजले असोजको २६, २७ र २८ गते हुनुपर्ने उडान रोकेपछि सो हवाइजहाज हुँदै वैदेशिक रोजगारीमा जाने यात्रुसहित अन्य यात्रुसमेत प्रभावित भएका थिए । यात्रुहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमै रातभरी बसेर विमान कुरे पनि जजिराले उडान गरेन । तीन दिनसम्म जम्मा भएका यात्रुहरुमध्ये केही पर्यटक मात्र बोकेर शनिबार जजिराले एउटा उडान भरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिएका छन् ।

दाहालका अनुसार जजिरा एयरवेजको आधिकारिक प्रतिनिधिले जहाजको लिज सकिएको र नयाँ जहाज खरिद गर्ने प्रक्रियामा रहेको कारण नियमित उडान प्रभावित हुने जानकारी गराइएको छ । अक्टुबर महिनामा जजिराले नियमति उडान गर्न नसक्ने तर अक्टोबरपछि उडान नियमित हुने आश्वासन पाएको उनको भनाइ छ ।

विमाननस्थलका प्रमुखले नयाँ जहाजको समस्या बताइरहँदा जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले भने यात्रु नपाएको कारण उडान कम गर्नु परेको खुलासा गरेका छन् । “पहिला सातामा तीन वटा उडान गरिरहेका थियौँ, राम्रै यात्रु पायौँ, अहिले यात्रु सङ्ख्या साह्रै घटेकाले उडान घटाएका हौँ । अब पहिले झैँ सातामा तीन उडान गर्नेछौँ”, नागरथको भनाइ छ ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माग नै नरहेको दाबी गर्र्दे नागरथले मागअनुसार नै आपूर्ति गर्ने हो, खाली विमान कहिलेसम्म उडाउने ? भनी प्रतिप्रश्न गरे । ुहामी व्यापार गर्न आएका हौँ, आफ्नो खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउदैनौँ”, नागरथको जिकिर छ ।

जजिराको उडान प्रभावित हुनुमा यहाँका सरकारी निकायहरुको पनि उत्तिकै दोष रहेको छ । तत्कालीन श्रममन्त्री किसान श्रेष्ठले चर्चाकै लागि भैरहवामा स्थापना गरेको श्रम कार्यालयले अहिलेसम्म काम गरेको छैन । गौतमबुद्ध विमानस्थलका प्रमुख गोविन्दप्रसाद दाहालले यात्रुहरु अहिले पनि श्रम, रोजगार, मेडिकललगायत कारण काठमाडौंमै जानु परेको समस्याका कारण पनि विमानस्थल सञ्चालनमा कठिनाइ आएको राससले जनाएको छ ।