खुल्यो ई-लर्निङ प्लेटफर्म ‘मेरो पढाइ’

खुल्यो ई-लर्निङ प्लेटफर्म ‘मेरो पढाइ’


कक्षा ११, १२ र स्नातक पढ्ने विद्यार्थीलक्षित ई-लर्निङ प्लेटफर्म ‘मेरो पढाइ’ सञ्चालनमा आएको छ । पोखराको क्लिन टेक प्रालिले अनलाइन टिचिङ प्लेटफर्म मेरो पढाइ डटकम सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।

अहिले बीबीएस पहिलो वर्षको पाठ्यवस्तु सार्वजनिक गरिएको छ । एक महिनापछि अन्य संकायको पनि भिडियो कक्षा चलाउने मेरो पढाइका सीइओ मानवकल्याण पराजुलीले बताए । ‘हामीले अध्ययन गर्दा ब्याच्लर पहिलो वर्षदेखि दोस्रो वर्ष जाँदा आधा विद्यार्थी नपढेको देखियो । त्यस्ता विद्यार्थीले आफ्नो पढाइ पुरा गर्न हामीसँग जोडिँदा लाभदायी हुन्छ,’ उनले भने ।

मेरो पढाइसँग जोडिन ‘मेरो पढाइ डटकम’ लग इन गर्न सकिन्छ भने गुगल र एप्पल स्टोर्सबाट एप डाउन्लोड गर्न सकिन्छ । त्यसमा निर्धारित शुल्क तिरेर जोडिएपछि मान्यता प्राप्त पाठ्यपुस्तक पढाएको भिडियो अध्ययन गर्न सकिने छ । छिट्टै विषयगत प्राध्यापकहरुसँग प्रत्यक्ष कक्षा पनि सञ्चालनमा ल्याउने तयारी तयारी छ । मेरो पढाइको सामग्री प्रयोग गर्दा प्रति विषय मासिक ५ सय रुपैयाँ शुल्क लाग्छ ।

विद्यार्थीले गाह्रो मान्ने एकाउन्ट, अंग्रेजीजस्ता विषयका सामग्रीलाई अझ जोड दिइने सीइओ पराजुलीले बताए । मेरो पढाइमार्फत विदेशमा रहेका नेपालीका बच्चालाई नेपाली भाषा सिकाउने योजना सञ्चालकहरुको छ । त्यसबाहेक कोरियन, जापानीजलगायत देशका भाषा पनि अनलाइनमार्फत सिकाउने योजना रहेको बताइएको छ ।