जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनका सङ्घारमा पुगेको छ । सो पर्टीका सात सांसदले आइतबार (२३ वैशाख) निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी गर्दै निवेदन दिएका छन् ।
जसपाका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै पार्टीको नामबाट ‘नेपाल’ झिकेर ‘जनता समाजवादी पार्टी (जसपा)’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको हो । ‘अहिले हामी सांसदहरु सातजना छौँ, अरू पनि थुप्रै आउनुहुन्छ । उहाँहरु सम्पर्कमै हुनुहुन्छ’, जसपाका सांसद सुशीला श्रेष्ठको भनाइ छ । सांसद श्रेष्ठले आफ्ना मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा लैजान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन अहिलेको बाटो तय गरेको दाबी गरिन् ।
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार जसपाका सांसदहरुले निवेदन दर्ता गराएको र सोको अध्ययन भइरहेकोे छ ।
जसपाको सङ्घीय संसदमा १२ सांसद छन् । उनीहरुमध्ये सात सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन् । निवेदनमा हस्ताक्षर गर्नेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् । त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका नौ र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएको बताइएको छ ।
प्रतिक्रिया