डेंगुले मानिसको शक्ति यसरी खिचेर लिँदोरहेछ कि ज्वरो आउन छोडेपछि पनि कति दिनसम्म कमजोर बनाउने । एउटा कोठाबाट अर्को कोठामा पुग्दा पनि कति टाढाको दूरी पार गरेजस्तो हुने, आफ्नै घरको भर्याङ तल-माथि गर्न गाह्रो, ज्वरो आउन छोडेपछि पनि निन्द्रा नआउने ।
- बबिता बस्नेत
आफ्नै अनुभवबाट कुरा सुरु गरौँ, कार्तिक ६ गते आइतबार तिहारको सुरुवातको दिन । दिउँसो किनमेल गर्न निस्किएको बेला शरीरमा अलि तातो महसूस भयो । कहिलेकाहीँ त्यस्तो हुन्छ भनेर खासै वास्ता गरिनँ । साँझ कतार एम्बेसीले आयोजना गरेको कार्यक्रममा जानका लागि ठिक पर्दै गर्दा एक्कासी ज्वरो आयो । ज्वरो पनि यसरी आयो कि दश मिनेटको बीचमा उभिनै नसक्ने गरी । त्यत्ति छिटो एकैछिनमा हनहनी ज्वरो आएको त मलाई त्यसअघि कहिल्यै थाहा थिएन । डेंगुका लक्षणहरू भन्दै ‘एक्कासी ज्वरो आएमा…’ भनेर फोनमा बज्ने पत्रकार अनिता बिन्दुको आवाज सम्झिएँ । ज्वरो नाप्दा १०३ पुगेको रहेछ । पार्टी जान लुगा लगाउँदा र लगाएको लुगा फेर्दा १५ मिनेट जतिको समयमा म निकै सिकिस्त भइसकेकी थिएँ ।
यो परिस्थिति वर्णन गर्नुको कारण डेंगुले मानिसलाई कसरी कुनै पूर्वतयारीको मौका नदिइ एक्कासी ढलाउँदो रहेछ भन्ने बारेमा जानकारी गराउनु हो । संयुक्त परिवारमा बस्ने भएकाले रेखदेख गर्ने आफन्तको कमी थिएन । एकल परिवारमा बस्नेहरूलाई त सिटामोल किन्न जाने समय पनि नदिइ ओछ्यान पुर्याउने रहेछ । ओछ्यान परेपछि केही दिनसम्म यति गाह्रो भयो कि जिन्दगीको अन्त्य हुनै लागेजस्तो । खान मन नलाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, औषधिले छोड्नासाथ ज्वरो आउने, एउटा सिटामोलले कामै नगर्ने, एकैपल्ट दुई वटा सिटामोल खानुपर्ने । चाडबाडको समय अस्पतालको इमर्जेन्सीमा खुट्टा राख्ने ठाउँ छैन । एउटै घरमा कति जना बिरामी छन्, तर डेंगु लागेपछि खासमा के गर्नु पर्ने हो र के गर्न नहुने हो न त सही सुझाव दिने कुनै ठाउँ छ न त कसैलाई चासो नै ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेबसाइट हेर्नुभयो भने पहिलो पृष्ठमा डेंगुको बारेमा कतै केही उल्लेख गरिएको छैन । मन्त्रालयको तर्फबाट सर्वसाधारणका नाममा कुनै आह्वान या इमर्जेन्सी परे कहाँ जाने, के गर्ने केही छैन । स्वास्थ्य मन्त्रालयले केही समययता जारी गरेका विज्ञप्तिहरू हेर्दा मुलुकमा डेंगुले मान्छेलाई प्रभावित बनाएको छ भन्ने थाहा हुँदैन । घर–घरमा मानिसहरू बिरामी भएर महामारीको रूप लिएको अहिले होइन भदौ महिनादेखि नै हो । तर सार्वजनिक सन्देशका नाममा मोबाइलमा बज्ने ‘डेंगु रोगबाट बच्न मच्छडलाई नटोकाउँ’ भन्नेबाहेक अरु केही छैन । यस्तो लाग्छ, मोबाइलमा एउटा सन्देश छोडिदिएपछि सरकारको काम सकियो । स्वास्थ्य मन्त्रालयमा अहिले भवानी खापुङ नाम गरेका मन्त्री र हिराचन्द्र केसी नामका राज्यमन्त्री छन् । मन्त्रालयको वेबसाइट हेर्दा थाहा हुन्छ, देवकुमारी गुरागाईं र डा.रोशन पोख्रेल दुई जना सचिव छन्, तर डेंगुको बारेमा सर्वसाधारणलाई जानकारी दिने काम र यसको नियन्त्रण मन्त्रालयको दायित्वभित्र पर्छ भन्ने सङ्केत कतैबाट पनि देखिँदैन । डेंगुले घर–घरमा महामारीको रूप लिँदा यसको नियन्त्रणका लागि कुनै पनि सरकारी निकायको सक्रियता देखिएको छैन ।
अहिले राजधानीका चोक, गल्ली जताततै डेंगुले आफूलाई सताउँदा कस्तो महसूस भयो भनेर मानिसहरू आफ्नो अनुभव सुनाइरहेका देखिन्छन्, भेटिन्छन् । घरमै ओछ्यान पर्ने र अस्पताल भर्ना हुनेहरूको सङ्ख्या त्यत्तिकै छ । डेंगुले मानिसको शक्ति यसरी खिचेर लिँदोरहेछ कि ज्वरो आउन छोडेपछि पनि कति दिनसम्म कमजोर बनाउने । एउटा कोठाबाट अर्को कोठामा पुग्दा पनि कति टाढाको दूरी पार गरेजस्तो हुने, आफ्नै घरको भर्याङ तल-माथि गर्न गाह्रो, ज्वरो आउन छोडेपछि पनि निन्द्रा नआउने । बाँच्नेलाई यस्तो सास्ती छ भने मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ । श्रावणदेखि कार्तिकसम्म करिव चार महिनाको बीचमा ५४ जनाको मृत्यु हुनु सानो कुरा होइन । युवा उमेरका मानिसहरूको भकाभक मृत्यु हुँदा पनि डेंगुलाई सरकारले गम्भीरता पूर्वक लिएको छैन ।
डेंगुका कारण उच्च ज्वरो आएपछि ‘प्लेटलेट’ घट्ने रहेछ । प्लेटलेट घट्ने भनेको के हो ? यो कति हुनुपर्ने हो ? यसलाई बढाउन के गर्नुपर्छ ? बिरामीले के खाँदा या के गर्दा यो बढ्छ ? भन्ने जस्ता सामान्य जानकारी दिनका लागि अन्तर्राष्ट्रिय सहयोग चाहिँदैन । मन्त्रालयसँग भएको बजेटले नै जनचेतना फैलाउन सकिन्छ तर यस्ता प्राविधिक तर महत्वपूर्ण जानकारीलाई छ्याप्छाप्ती पार्न कुनै पहल गरिएको छैन ।
डेंगुबाट मानिसले पाएको सास्ती हेर्दा सरकार अलिकति मात्रै उत्तरदायी भईदिएको भए सर्र्वसाधारणले यो अवस्था ब्यहोर्नुपर्ने थिएन भन्ने लाग्छ । स्वास्थ्य मन्त्रालयले महामारीको रूपमा यसलाई पहिचान गर्नका लागि डब्लुएचओसँग समन्वय गरेको भए यसको गम्भीरता फरक रूपमा अघि बढ्ने थियो । संयुक्त राष्ट्रसङ्घीय निकाय र अन्तर्राष्ट्रिय सहयोगको त कुरै छोडौँ आफूले गर्न सक्ने काम पनि स्वास्थ्य मन्त्रालयले गरेन । डेंगुका कारण उच्च ज्वरो आएपछि ‘प्लेटलेट’ घट्ने रहेछ । प्लेटलेट घट्ने भनेको के हो ? यो कति हुनुपर्ने हो ? यसलाई बढाउन के गर्नुपर्छ ? बिरामीले के खाँदा या के गर्दा यो बढ्छ ? भन्ने जस्ता सामान्य जानकारी दिनका लागि अन्तर्राष्ट्रिय सहयोग चाहिँदैन । मन्त्रालयसँग भएको बजेटले नै जनचेतना फैलाउन सकिन्छ तर यस्ता प्राविधिक तर महत्वपूर्ण जानकारीलाई छ्याप्छाप्ती पार्न कुनै पहल गरिएको छैन । यसको संवेदनशीलता र जटिलताको बारेमा जानकारी दिनु राज्यको कर्तब्य हो । तर अहिले राज्य विहीनताको अवस्था छ । मानिसहरू उसले उसलाई उसले उसलाई सुनेको र अनुभवको आधारमा खानेकुराहरू खाइरहेका छन । कतिले थाहा पाएर पनि खान पाएका छैनन् । आफैले प्रत्येक दिन कमाएर खानुपर्ने मजदुर वर्ग कसरी यो रोगसँग जुधिरहेको छ, कसैले चासो राखेको छैन ।
कोरोनाको बारेमा मानिसहरूलाई जति थाहा थियो, डेंगुको बारेमा जानकारी छैन । अहिले पनि सरकारले कोरोनाको बारेमा अपडेट दिइरहेको छ तर डेंगुको छैन । अनुभवले भन्छ, कोरोना भन्दा डेंगु निकै पीडादायी हुने रहेछ । एकर्कामा नसर्ने हुँदा कोरोनाभन्दा डेंगु कम जोखिमपूर्ण हो तर जसलाई भएको छ उसलाई फेरि पहिलाको अवस्थामा फर्किन निकै सकस भएको छ । शारीरिक कमजोरी हटाउनका लागि मानिसले खानुपर्छ तर कति मानिसलाई खानेकुराको अभाव छ । नरिवल पानी, किवी, मेवालगायतका फलफूलले प्लेटलेट बढाउँछ भनिन्छ तर यी फलफूलहरू सर्वसाधारणले किनेर खान सक्ने भाउका छैनन् । किनेर खान नसक्नेहरू कहिले उठ्ने ?
हाम्रो समाजमा मुलत: तिनथरी मानिस छन् । एकथरी किनेर खान सक्छन्, संयुक्त परिवारमा बस्ने भएकाले खान दिने आफन्तहरू छन् । दोश्रोथरीसंग खानेकुराको कमी छैन तर खाउ न भनेर अगाडि राखिदिने मानिसको कमी छ । एकल परिवारमा छन्, परिवारका सदस्यहरू कोही कता कोही कता छन् । सबै कुरा भएर पनि बिरामी भएका बेला त्यस्ता मानिसहरू अप्ठ्यारो परिस्थितिमा हुन्छन् । तेश्रोथरी चाहिँ अभावको जीवन बाँच्नेहरू हुन् । बिहान–बेलुका छाक टार्न धौ–धौ हुनेहरूलाई रोग आफंैमा ठुलो पहाड बनेर आइदिन्छ जसलाई उक्लन उनीहरूले धेरै नै मिहेनत गर्नु पर्छ । उनीहरूका लागि अस्पताल, औषधि, पौष्टिक खानेकुरा निकै टाढाका कुरा हुन् । हामीकहाँ बिरामी परेको बेला यो खानुपर्छ, त्यो खानुपर्छ भनेर सम्झाउने मानिसहरूको कमी छैन, ल… यो खाउ भनेर अगाडि राखिदिने मानिसहरू ज्यादै कम भेटिन्छन् । जसले अगाडि राखिदिन्छन् ती तपाईंका नजिकका मानिस हुन् ।
हामीकहाँ बिरामी परेको बेला यो खानुपर्छ, त्यो खानुपर्छ भनेर सम्झाउने मानिसहरूको कमी छैन, तर ल… यो खाउ भनेर अगाडि राखिदिने मानिस ज्यादै कम भेटिन्छन् । जसले अगाडि राखिदिन्छन् ती तपाईंका नजिकका मानिस हुन् ।
घर–घरमा, टोल–टोलमा मानिसहरू बिरामी हुँदा स्थानीय निकायको भूमिका के हो ? यो विषयमा पनि अब खोजी हुनुपर्छ । आफ्नो वडामा कति मानिस बिरामी छन्, कति रिकभर भए, कतिलाई तंग्रिन गाह्रो भएको छ? कति खान पाउने अवस्थामा छन्, कतिलाई छाक टार्न गाह्रो छ यस्ता कुराको लेखाजोखा स्थानीय निकायले गर्नुपर्छ । घर–घरमा, टोल–टोलमा डेंगु नियन्त्रणका लागि मच्छड मार्ने, टोल सफा राख्ने अभियान पनि स्थानीय निकायले गर्न सक्छ ।
जिन्दगीको सबैभन्दा ठुलो त्रास मृत्यु हो । मृत्युको भय नहुँदो हो त मानिसलाई महामारी या कुनै पनि बिरामी अवस्थाको मतलबै हुने थिएन । महाभारतमा यक्षले युधिष्ठिरलाई गरेका प्रश्नहरूमध्ये एक थियो– सबैभन्दा ठुलो आश्चर्य के हो ? जवाफमा युधिष्ठिरले भनेका छन्, मृत्यु जीवनको अन्तिम सत्य हो तर मानिसहरूलाई आफ्नो जीवनको अन्तिम सत्य मृत्यु हो भन्ने लाग्दैन त्यो नै सबैभन्दा ठुलो आश्चर्य हो । अहिलेका जस्ता महामारी आए पनि नआए पनि मानिसको जीवनमा मृत्यु अपरिहार्य छ । त्यसैले मर्नुअघि मानिसले बाँच्नु आवश्यक हुन्छ । बाँच्नका लागि राज्यको नागरिकप्रतिको कर्तब्य र आफूवरिपरिका मानिसहरूको साथले महत्व राख्छ । राज्यले घोषणा नगरे पनि डेंगुले महामारीको रूप लिइसकेको छ । अहिले डेंगु आयो, भोलि अरु नै रोग आउला आफ्ना नागरिकको सुरक्षा राज्यको दायित्व हो ।
प्रतिक्रिया