‘विहारमा मदिरा निषेध अभियान असफल’

‘विहारमा मदिरा निषेध अभियान असफल’


भारतको विहार प्रान्त सरकारले लागु गरेको मदिरा निषेध अभियान असफल भएको राज्यका एक जना वरिष्ठ नेताले बताएका छन् । तथापि, त्यसबाट राज्यका जनतालाई केही लाभ भएको ती नेताको भनाइ छ ।

जनता दल (युनाइटेड)का नेता तथा पार्टीको राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुशवाहले हाजिपुरमा आयोजित पत्रकार सम्मेलनमा संवाददाताहरूसँग कुरा गर्दै राज्यमा मदिरा निषेध अभियान सफल नभएको बताएका हुन् । उनले सरकारको एकल प्रयासबाट अभियान सफल नहुने बताउँदै त्यस निम्ति जनसाधारणको साथ र समर्थन अपरिहार्य भएकामा जोड दिएको एएनआईले जनाएको छ ।

मदिरा आपूर्ति नरोकिएसम्म त्यसको खपत पनि नरोकिने यथार्थ सुनाउँदै उनले अभियानबाट केही हदसम्म समाज लाभान्वित भएको बताए । उनले अभियानलाई सफल बनाउन राज्यका जनतालाई अग्रमोर्चामा आउन आह्वान गरे ।

प्रभावशाली नेता कुशवाहको यो भनाइले नीतिश कुमारको सरकारलाई अप्ठ्यारो पारेको छ । मदिरा आपूर्तिकर्ताहरूमाथि कठोर बन्न तथा कडाइका साथ कानुन कार्यान्वयन मुख्यमन्त्रीले आदेश दिएपछि नेता कुशवाहको यो भनाइ सार्वजनिक भएको हो ।

सन् २०१६ को अप्रिलदेखि विहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध उल्लङ्घन गर्नेलाई १० वर्षसम्म काराबासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ तर मदिराको आपूर्ति र खपत घटेको छैन । मदिराका कारण राज्यमा आपराधिक घटना बढेका छन् । विहार राज्यका लागि भारतीय जनता पार्टीका निखिल आनन्दले पनि नेता कुशवाहको भनाइप्रति सहमति जनाएका छन् ।