मान्छेलाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो

मान्छेलाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटियो


  • रासस

शुक्रबार बिहान तीन जनालाई आक्रमण गरी घरभित्र पसेको चितुवा मृत भेटिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका-१४ कफ्लेटीस्थित चण्डीप्रसाद पराजुलीको घरभित्र पसेको चितुवा मृत भेटिएको इलाका वन कार्यालय वालिङका प्रमुख सरोज जमरकट्टेलले बताउनुभयो ।

बिहान ९:१५ बजेको समयमा खेतमा काम गरिरहेका एक पुरुषलाई आक्रमण गरेर आएको चितुवा पराजुलीको घरमा पसेको थियो । घरभित्र पसेको चितुवाले दुई महिलालाई आक्रमण गरी घाइते बनाएको थियो ।

मान्छेलाई आक्रमण गरी घाइते बनाएसँगै स्थानीयवासीले चितुवालाई घरमै थुनेका थिए । ‘घरमै थुनेर राखिएको अवस्थामा बिहान करिब ११:३० बजेतिर घटनास्थलमा पुग्दा चितुवा जिउँदै थियो’, उहाँले भन्नुभयो, ‘दिउँसो ३:३० बजेतिर चितुवालाई खोरमा हाल्न खोज्दा मरिसकेको थियो ।’

चितुवा बिरामी भएका कारण वा विष खाएर मानिसलाई आक्रमण गरेको हुनसक्ने र सोही कारण मरेको हुनसक्ने उहाँले आशङ्का व्यक्त गर्नुभयो । मरेको चितुवालाई शल्यक्रियाका लागि डिभिजन वन कार्यालय स्याङ्जा लगिएको छ । शनिबार शल्यक्रिया गरिने भएकाले मृत्युको कारण पत्ता लाग्ने उहाँले बताउनुभयो ।

चितुवाको आक्रमणबाट स्थानीय एक पुरुष र दुई महिला गरी तीनजना घाइते भएका थिए । घाइतेहरूको अनुहार, छाती र पाखुरामा गहिरो चोट लागेकाले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।