धर्म : आशङ्का र सवाल

धर्म : आशङ्का र सवाल


‘मलाई मरेपछि स्वर्गमा गएर धेरै महिलासँग सहवास गर्नु छैन या स्वर्गमा बसेर लामो समय सहवासरत हुने इच्छा छैन भने मजस्ता पुरुषको लागि स्वर्गमा स्थान छ कि छैन ? मलाई स्वर्गमा पतिले सयौँ महिलासँग यौनसम्बन्ध राखेको हेरेर समयको प्रतीक्षा गरी बस्नु छैन भने मलाई स्वर्गमा स्थान छ कि छैन ?’
  • दामोदर पौडेल

मुलभुत रूपमा धर्मका दुई पक्ष देखिन्छन्, सांसारिक र अलौकिक पक्ष ! त्यस्तै अर्का दुई पक्षहरू भौतिक र आध्यात्मिक पक्ष हुन् । धर्मका बारेमा धेरै पक्षहरू उल्लेख गर्न सकिन्छ, विशेषताहरू उल्लेख गर्न सकिन्छ । यस जीवनको लागि गरिनुपर्ने कार्य र, यस जीवनबाट परत्र सुखी र खुसी हुने कार्यसमेतका आधारमा धर्मलाई मर्त्यलोकमा गर्नुपर्ने कार्य र मृत्युपर्यन्तको लागि गरिने कार्य भन्न सकिन्छ । धर्म भनेको शरीरको स्वभाव र क्षमताअनुसार कार्य गर्नु वा नगर्नु तथा समय परिस्थितिअनुसार उचित विषयको चयन गर्नु पनि उत्तिकै महत्वपुर्ण हो ।

संस्कृति तथा परम्पराको धर्मसँग सहसम्बन्ध र एकले अर्कोलाई कति सहयोग गर्छ, धर्म र संस्कृति परस्परमा कति निर्भर छन्, धर्मका सास्वत पक्ष के हुन् ? सत्य विषयहरू के हुन् ? समय र परिस्थिति सापेक्ष पक्ष पनि कति छन् ? धर्म किन आवश्यक छ ? भगवान् वा उपरवाला वा गड छन् कि छंनन् ? यी र यस्ता सवालहरू चर्चामा रहेका महत्वपुर्ण पक्ष छन् ।

हामीले कुन धर्म मान्ने ? बुद्ध नै पनि वा अन्य भगवान् भनिनेहरू भगवान्, ईश्वर, गड हुन् कि होइनन् ? राम ठिक कि रावण ? असल र धर्मिक मान्ने तथा खराव र अधर्मी मान्ने आधार के-के हुन् ? इतिहास र धार्मिक पुस्तकका भनाइलाई कुन रूपमा लिने ? अलग–अलग धर्म र सम्प्रदायका कुरा आउँछन् । के सबैै सत्य छन् ? कि कुनै एक मात्र सत्य हो ? यो धर्म सत्य हो र अरु मिथ्या हुन् भन्ने कसरी थाहा पाउने ? धर्मको आधारभुत मान्यता र पहिचान के हो ? महिला र पुरुष समान छन् कि छैनन् ? किन पहिला धेरैजसो समाजमा महिलालाई भन्दा पुरुषलाई महत्व दिइएको होला ? सबै धर्ममा पुरुषलाई उच्च स्थान दिइएको होला ? पहिलाका सबै परम्परा र धर्महरूलाई अहिले मान्न उपयुक्त छैन कि ? वा कसरी मान्ने ? सम्पुर्ण चराचर जगत र प्राणीसमेतको उत्पत्ति कसरी भयो ? यसको उत्पत्ति कसले गरेको होला ? मरेका मानिस जन्मने र स्वर्ग वा नर्क जाने हुन्छ कि हुँदैन होला ? धर्म र विकास, धर्म र संस्कृतिबीच के भिन्नता र समानता होला ? धर्मग्रन्थहरूका कुरा सत्य हुन् कि हैनन् होला ? मान्ने कि नमान्ने ? कुन मान्ने ?

विश्वमा धेरै धर्म छन् । कुनै धर्मले महिलालाई पुरुषको सम्पत्ति मान्छन् । कुनै धर्मले पृथ्वी चेप्टो छ भन्छन् भने कुनै धर्म मान्नेले गाईजस्तो पशुुलाई पनि भगवान् भनेर पूजा गर्छन् । कुनैले एउटा भगवानलाई मात्र मान्छन् र कसैले धेरैलाई मान्छन् । कुनै धर्ममा त त्यसै धर्मभित्र पनि धेरै विवादास्पद र फरक कुरा छन् । त्यस्तोमा कुनलाई मान्ने भन्ने सवाल पनि छ । धर्मको भौतिक पक्ष र आध्यात्मिक पक्ष कुन बढी महत्वपुर्ण ? के धर्मको लागि भनेर मानिस मार्नु राम्रो हो ? कुन धर्म राम्रो ? वा, धर्म नै नमान्नु राम्रो ? स्वर्ग, जन्नत, हेभेन, मुक्ति आदि शब्दबाट पुकारिने कुरा सत्य हो कि होइन होला ? किन त्यसको बारेमा थाहा हुन नसकेको होला ? या जानकारी पाउन पनि सकिन्छ कि ?

यति धेरै विवादित विषय, धेरै धर्ममा पनि कुन सत्य हो भन्ने विषय, धर्म कसरी मान्ने भन्ने विषय सबैका लागि महत्वपुर्ण छन् । धर्म नमान्नेहरूका लागि पनि उत्तिकै महत्वपुर्ण छन् । सह-अस्तित्वलाई आत्मसात गर्ने धर्महरू मात्र मानव धर्म हुन् र उपरवालाबाट प्राप्त भएका धर्महरू हुन् कि ? धर्मका ऋचाहरूमा थपघट भएको भनिन्छ, तीमध्ये कुन कुरा पछि थपिएको वा घटाइएको हो भन्ने कुरा अझ धेरै महत्वपुर्ण भएकोले ती विषयमा प्रष्ट हुनुपर्ने होइन र ?

अन्धाधुन्ध मानिआएको धर्म भनेर मान्ने कि सत्यको खोज गरेर तुलनात्मक रुपमा ठिक देखिने वा सत्य देखिने धर्मलाई मान्ने ? समानता, अन्य धर्महरूका निर्देशहरूसँग पनि मेल खाने, विज्ञानसम्मत र विवेकको आधारमा हेर्दा उपयुक्त हुने र समय तथा परिस्थितिसापेक्ष हुने विषयहरू त्यसैअनुसार सुधार र परिवर्तन हुन सक्ने धर्म नै वास्तविक धर्महरू हुन् भन्न पनि सकिएला । चुरो कुरा मिल्ने धर्मका साझा सवालहरू र अन्तर्वस्तुहरू मात्र वास्तविक धर्महरू हुन् कि ? या ती धर्महरू मात्र उपरवालाले दिएका फरक परिवेश र फरक स्थानका वचनहरू हुन् । धर्मका कतिपय कुराहरू बदलिने र लोप नहुने भए सबै धर्ममा धेरै अवतार, सन्देशवाहक, दूत, भगवानका पुत्र, निराकार भगवानका साकार रूपहरू भनेर किन आउनपर्थ्यो र ?

केही जिज्ञासु सोध्ने गर्छन्- मेरो धर्ममा महिलालाई दासी वा पुरुषको सम्पत्ति मानिन्छ तर म मान्दिनँ भने यो अधर्म हो कि होइन ? उपरवालाले छोरा र छोरीमा भेदभाव गरेका हुन् कि मात्र शरीरअनुसारको धर्म फरक किसिमले निभाउ, अरु कुरामा तिमीहरू समान छौ भनेका होलान् ? उपरवालाले भनेको कुराको नक्कल गर्ने हो र त्यसमा अक्कल गर्ने होइन पनि भनिन्छ । अक्कल गर्नुपर्छ, किनकि उपरवालाको भनाइ पनि पढ्नेहरूले आफ्नो भावनाको आधारमा अर्थ लगाउँछन्, समयअनुसार शब्द र भाषाको मर्म बदलिन्छ, विकाशको क्रममा उपरवालाले दिएका वचनहरू जुन परिवेशमा दिइएको हो त्यो परिवेश फरक भएकोमा ती वचनहरूलाई सुधार र संशोधन तथा निष्कृय भएको मान्नुपर्छ भन्नेहरू गलत हुन् कि हैनन् ? त्यस्तो सुधारका पक्षधरहरू र सबै धर्मका साझा कुराहरू मात्र मान्ने भन्ने मानिसको लागि मुक्तिको उपाय छ कि छैन ? म पुरुषभन्दा महिला कम छैनन् भन्नेहरू र मुक्तिको लागि अझ राम्रो गुरु हुँ र मुक्तिको बाटो देखाउने वा त्यतातिर लैजाने माझी हुँ, त्यसैले म पुरुषभन्दा अब्बल छु भन्ने विश्वास छ र यस्तो सोच लिने महिला भएकोमा मेरो लागि मुक्ति सम्भव छ कि छैन ? मलाई मरेपछि स्वर्गमा गएर धेरै महिलासँग सहवास गर्नु छैन या स्वर्गमा बसेर लामो समय सहवासरत हुने इच्छा छैन भने मजस्ता पुरुषको लागि स्वर्गमा स्थान छ कि छैन ? मलाई स्वर्गमा पतिले सयौँ महिलासँग यौनसम्बन्ध राखेको हेरेर समयको प्रतीक्षा गरी बस्नु छैन । मलाई स्वर्गमा स्थान छ कि छैन ? मेरो लागि वास्तविक मुक्तिको बाटो अर्थात् धर्म कुन हो ? वा, कुन धर्म मुक्तिका माध्यम हुन् ? म र समग्र प्राणीजगत् तथा यो ब्रम्हाण्ड कसरी बन्यो जस्ता सवाल त बारम्बार आइरहन्छन् ।

अझै संसारमा आएका धेरै विचार र धर्म वा पन्थहरूको मैले कति हदसम्म अनुशरण र अनुकरण गर्ने हो ? कुन र कस्तो सुधार तथा यथास्थिति उपयुक्त हुने हो ? मेरो सांसारिक र धार्मिक हैसियत, अधिकार र दायित्व पनि त हुन्छ । मेरो शरीर, आत्मा, जीवन, चेतना, मन, विचारका अलग आयामहरूको हैसियत र उपयुक्त प्रयोग झनै महत्वपुर्ण छ । मलाई ज्ञान दिने महान छन् तर उनको महानता पनि त सीमित छ । त्यो सीमिततालाई पनि परख गर्नुपर्ने होला । सीमितालाई परख नगर्दा म आफ्नै लागि पनि मुर्ख पो भएको छु कि ! म समेतको कारणले स्वभाविक मानविय विकास र प्रगति तथा मानविय हितमा नै असर परेको पो छ कि ? धर्म, आध्यात्म, शरीर र यसको आवश्यकता, समाज, सम्पुर्ण जगतको उपयुक्त र स्वभाविक सन्तुलन के होला ?

यी सवालमा केही समय दिएर तथा निष्पक्ष भएर निकास खोज्ने हो भने आफैले पनि सत्य र आवश्यकताको बारेमा बोध गर्न सकिन्छ ।