नवनियुक्त स्वास्थ्यमन्त्री यादव र स्वास्थ्य राज्यमन्त्री खानद्वारा शपथ ग्रहण

नवनियुक्त स्वास्थ्यमन्त्री यादव र स्वास्थ्य राज्यमन्त्री खानद्वारा शपथ ग्रहण


नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । जनता समाजवादी पार्टी (जसपा)का सांसद यादवले नेपालको संविधानको धारा, ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सोमबार राष्ट्रपति पौडेलेको समुपस्थितिमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हसिना खानले पनि नेपालको संविधानको धारा, ८० बमोजिम राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति भवनमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललगायत विशिष्ट महानुभावहरुको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्रीको सिफारिसमा जसपाका सांसद प्रदीप यादवलाई मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार तोकिएको छ । विसं २०७९ पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा, ७६ को उपधारा (९) बमोजिम यादव र खानलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

ज्ञातव्य छ, जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन सोमबार नै फिर्ता लिएको थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादवले सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । अध्यक्ष यादवले जसपाले प्रधानमन्त्री प्रचण्डनेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएको बताएका थिए । आफ्नो पार्टी सरकारबाट बाहिरिएकाले अब संसदमा प्रतिपक्षमा नै बसी रचनात्मक भूमिका निर्बाह गर्ने उनको भनाइ छ ।

यादव नेतृत्वको ‘जसपा नेपाल’ सरकारबाट बाहिरिएपछि सोही दल विभाजित भइ अशोक राईको नेतृत्वमा नयाँ गठन भएको जनता समाजवादी पार्टी गठबन्धन सरकारमा सहभागी भएको हो ।

तस्बिर : रासस