खेरसनमा सर्वसाधारणको उत्सव चलिरहँदा सावधानी अपनाउन चेतावनी

खेरसनमा सर्वसाधारणको उत्सव चलिरहँदा सावधानी अपनाउन चेतावनी


खेरसनबाट रुस फिर्ता भए पनि ‘युद्ध समाप्त नभएको’ भन्दै युक्रेनी अधिकारीहरूले आफ्ना नागरिकहरुलाई चेतावनी दिएका छन् । रुसले खेरसनबाट आफ्ना सेना फिर्ता गरेको घोषणा गरेपछि पनि सप्ताहन्तमा उत्सवहरू जारी रहँदा युक्रेनी अधिकारीहरुले उक्त चेतावनी दिएका हुन् ।

हर्षोल्लासपूर्ण भीडले शुक्रबार युक्रेनी सेनालाई शहरमा स्वागत गरेका थिए । फेब्रुवरीमा युद्ध सुरु भएपछि रुसी सेनाले खेरसनलाई नियन्त्रणमा लिएको थियो ।

राजधानी किभ र ओडेसालगायत युक्रेनका अन्य क्षेत्रहरूमा पनि यस्तै उल्लासपूर्ण दृश्यहरू रिपोर्ट गरिएको थियो । तर, मस्कोको महत्वाकांक्षालाई चोट पुर्‍याउन सफल भए पनि युक्रेनी अधिकारीहरू सतर्क छन् ।

युक्रेनी रक्षा मन्त्रीका सल्लाहकार युरी साकले ‘उत्सव मनाउनु धेरै चाँडो हुने’ चेतावनी दिए। ‘हामीले सधैं विश्वास गर्‍यौँ कि हामी खेरसनलाई मुक्त गर्नेछौं’, उनले एक रेडियो कार्यक्रममा भने । रुस युक्रेन युद्धमा कहिल्यै विजयी नहुने दाबी उनले गरे । रुसी प्रचारयन्त्रमा त्रास बढेको उनको दाबी थियो ।