यस्तो छ वीरगञ्जको इतिहास

यस्तो छ वीरगञ्जको इतिहास


(इतिहास)
  • सुनिल उलक

वीरगञ्ज ब्यापारिक केन्द्रको रूपमा धेरै प्रख्यात छ र थियो पनि । वि.सं. १९०४–१० मा श्री ३ जंगबहादुरले उपत्यकामा मल्लकालदेखि व्यापार गर्दै आइरहेका नेवा:हरूलाई केही हदसम्म दबाउने नियतले अर्को भाषामा भनौँ भने प्रतिस्पर्धा गराउन मारवाडीहरूलाई नेपालमा ब्यापार गर्न बोलाएका थिए । यी ब्यापारीहरूले शुरूमा भारतीय सिमासँगै जोडिएको अलौमा आएर बसे । अलौमा केही बस्ती पहिलेदेखि नै थियो र काठमाडौंसँग नजिकको सम्बन्ध थियो । अलौमा व्यापार व्यवसाय गरेर बसेका मारवाडी ब्यापारीहरूले बिस्तारै अन्य आफन्त र अन्य सहयोगीहरूलाई पनि बोलाए । यसरी कोही काठमाडौं कोही गहवा बसेर व्यापार ब्यवसाय बढाउन थाले । नेपाल प्रवेश गर्ने पहिलो मारवाडी समुदायका हरजश राय, उच्चडमल मारवाडी (निरन्जन टिवडेवालाका पुर्खा) र आशाराम-घाँसीराम (सुरजमलका पुर्खा) तथा केही अन्य थिए ।

वीर शम्शेरको शासनकालमा वीरशमशेरले आफ्नो भाइ शेरशम्शेरलाई गहवाको बडाहाकिम बनाएर पठाए । भाइले दाजु श्री ३ वीरशम्शेरलाई रिझाउन गहवाको नाम वीरगञ्ज राखिदिए । शेरशम्शेर बडाहाकिम रहँदा नै वि.सं. १९५६ मा वीरगञ्ज बजार अड्डा खुलिसकेको थियो । श्री ३ वीरशम्शेरको वि.सं. १९५७ को फागुनमा देहावसान भएपछि देवशम्शेर श्री ३ भए । नयाँ श्री ३ ले बडाहाकिम परिवर्तन गरेनन् । उनकै समयमा वि.सं. १९५८ जेठ ५ मा पक्की भवन बनाउनको लागि काठमाडौंले कम्पनी १८३.१५ खर्च गर्न स्विकृति दिएको थियो । आफ्नै दाजु देवशम्शेरलाई सत्ताच्युत गरि श्री ३ बनेका चन्द्रशम्शेरले भने बडाहाकिम मात्रै परिवर्तन गरेनन्, बजार अड्डाका डिठ्ठा यज्ञध्वज महतलाई डिट्ठामा बिष्णु पोख्रेललाई नियुक्ति गरे । वीरशम्शेरले नियुक्त गरेका सिद्धवीर माथेमा तथा ध्वजवीर माथेमालाई पनि चन्द्रशम्शेरले राज्यकोषको रकम दुरुपयोग गरेको आरोपमा जेल हाले । रु ३ लाख हर्जाना बुझाउन नसकि मृत्युुदण्ड कुरेका दाजुभाइलाई श्री ३ वीरशम्शेरको विधवा कान्छी बडामहारानी तोपकुमारी देवीले हर्जाना बुझाइ जेलमुक्त गराएका थिए ।

चन्द्रशम्शेरले वीरशम्शेरले स्थापना गरेको वीरगञ्ज शहरलाई सुनसान बना केही पश्चिममा नयाँ बजार गुलजार गर्ने प्रयास गरेका थिए । तर, त्यो सम्भव भएन । शहरको बीचमा भएर रेलवे चलाइदिए । वि.सं. १९९२ मा जुद्धशम्शेरले वीरगञ्जको पानीको समस्यालाई ध्यानमा राखेर बाबु धीरशम्शेरको नाममा धीरधारा बनाएका थिए । ट्युबवेलबाट पानी तानेर ठूलो टङ्कीमा जम्मा गरि धारा जडान गरिएको थियो ।

राणाकालमा नै उद्योगहरू पनि खुल्न थालेको थियो । वीरगञ्जमा वि.सं. १९९५ कार्तिक २९ मा वीरगञ्ज सलाइ फैक्ट्री खुल्यो । वि.सं. २००० मा वीरगञ्ज कटन मील खुल्यो । २००० मा नै वीरगञ्ज पावर हाउस खुल्यो । वीरगञ्ज सेरामिक २००१ मा खुल्यो । वीरगञ्ज सिगरेट फैक्ट्री पनि २००० को आसपास नै खुलेको थियो । यसरी हेर्दा प्रजातन्त्र आउनुअगाडि नै धेरै फेक्ट्रीहरू खुल्न थालिसकेको थियो ।

नेपालमा पहिलो पटक वीरगञ्जमा २००८ भदौ २५ मा ट्राक्टर मेलाको आयोजना पनि भएको थियो ।