लुलालाई रोक्न सेनाको हस्तक्षेपको माग गर्दै हजारौँ ब्राजिलियन सडकमा

लुलालाई रोक्न सेनाको हस्तक्षेपको माग गर्दै हजारौँ ब्राजिलियन सडकमा


राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भालाई सत्तामा आउन रोक्न सेनाको हस्तक्षेपको माग गर्दै हजारौँ ब्राजिलियनहरू रियो दि जेनेरियो, ब्रासिलिया र अन्य शहरहरूमा सेनाको ब्यारेक बाहिर भेला भएका छन् ।

‘हामी राम्रो ब्राजिल चाहन्छौँ, हामी जनवरी १ मा लुलाले पदभार सम्हालेको चाहँदैनौँ, हामी कम्युनिष्ट देश चाहँदैनौँ’, प्रतिनिधिमूलकआवाजको रुपमा एक बैंकका कर्मचारी ३० वर्षीय लाइस नुनेसले रियोमा भने । प्रदर्शनकारीहरूले ब्राजिलको झण्डा फहराएर बैंक बिदाको दिन राष्ट्रिय गान गाए ।

‘चुनावमा धाँधली भएको विभिन्न जानकारीहरू छन्…, हामी यसलाई स्वीकार गर्न सक्दैनौँ’, ३८ वर्षीय प्रहरी अधिकारी लेआन्ड्रो डे ओलिभेराको भनाइ छ । राष्ट्रिय निर्वाचन न्यायाधिकरणले धाँधली गरेको आरोप उनले लगाए ।

निवर्तमान दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले सन् १९९६ देखि प्रयोग हुँदै आएको इलेक्ट्रोनिक मतदान प्रणालीमा ठगी भएको आरोप लगाएका छन् ।

बोल्सोनारो आफैंले पनि निर्वाचनमा धाँधली भएको बताएका छन् । तथापि, ब्राजिलको रक्षा मन्त्रालयले इलेक्ट्रोनिक नतिजामा कथित विसंगतिलाई खारेज गर्दै एउटा प्रतिवेदन तयार गरेको छ । अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पनि चुनावी नतिजालाई मान्यता दिएका छन् ।