सप्तरीमा ८० वर्षीय वृद्धद्वारा झुन्डिएर आत्महत्या

सप्तरीमा ८० वर्षीय वृद्धद्वारा झुन्डिएर आत्महत्या


सप्तरीको रुपनी गाउँपालिका-६ स्थित वीरेन्द्र बजारमा मंगलबार एक वृद्धले झुन्डिएर आत्महत्या गरेका छन् । ८० वर्षीय सूर्यबहादुर थापा मगरले घरनजिकैको मुंगाको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

बिहान करिब ५ बजेतिर पासो लगाएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

सधैं बिहानको समयमा चिया खान गाउँमै रहेको पसलमा जाने गरेका उनलाई आज पनि त्यतै गए होलान् भनेर परिवार ढुक्क भएर बसेको थियो । तर, झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो ।

चिया खाएर पसलबाट आउँदै उनका भाइ विष्णु थापा मगरले दाजुलाई झुण्डिएको अवस्थामा देखेका थिए । उनले भने, ‘एकाबिहानै मुंगाको फेदमा बसिरहेको जस्तो देखेँ, चिसोमा दाइ के गरेको भन्दै हेर्न जाँदा घाँटीमा पासो लागेर प्राण त्याग गरेको देखेँ ।’ त्यसपछि प्रहरीलाई खबर गरेको उनको भनाइ छ ।

मगरको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा परीक्षण गरि परिवारको जिम्मा लगाइएको र उनको मंगलबारै अन्त्येष्टि गरिएको बताइएको छ ।

यसैगरी, रुपनी गाउँपालिका-१ स्थित बाघाखालमा सोमबार अन्दाजी ३२ वर्षीया एक महिला झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।