अधुरै रहला त स्थिरता र समृद्धिको सपना !?

अधुरै रहला त स्थिरता र समृद्धिको सपना !?


दूरगामी सोच नराख्ने, क्षणिक सुखमा रोमाञ्चित हुने आम नेपाली प्रवृत्ति रातोरात उदाएका पात्र वा पार्टीविशेषको विजयप्रति मग्न देखिँदै छ । नियोजित पात्रहरू देशको लागि कति घातक हुन सक्छ भन्ने बुझ्न ‘युक्रेन’ एक ताजा दृष्टान्त हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दाको परिवेशबीच यतिबेला सिङ्गै मुलुक निर्वाचनको अन्तिम परिणाम एवम् नेपालको भावी परिणतिको अनुमान र चर्चामा केन्द्रित छ । हालसम्मको मत परिणामको अवस्थाले देशले चाहेको राजनीतिक स्थायित्व झन् टाढाको विषय तुल्याएको सङ्केत गरिरहेको छ । सम्भावित त्रिशङ्कु शासन-सत्ताको आधारमा मुलुकको राजनीतिक माहोल सुल्झिनुको साटो झन् गन्जागोल हुने आँकलन गरिएको हो ।

निर्वाचन हुनुभन्दा निकै अघि नै मुलुकमा नाटकीय ढङ्गमा जुन प्रकारको गठबन्धन बन्यो र, एक दलविशेषको विरुद्ध लक्षित हुँदै गठबन्धनले जसरी सत्ता सञ्चालन गरिरहेको छ, यसआधारमा देशको राजनीतिक मार्ग सोझो र सही दिशातर्फ अघि बढिरहेको छैन भन्ने सचेत तप्काको ठहर रहेकै थियो । तथापि, बिग्रिरहेको राजनीतिको मार्ग निर्वाचनपछि सुधारिँदै जाने अपेक्षा झिनै मात्रामा भएपनि गरिएको थियो । देशले यथार्थमा स्थिरता चाहेको हो र अपरिहार्यता पनि यही नै थियो, तर झन् अस्थिर राजनीतिको शिकार हुने सम्भावना बढेको अनुभूति यसबेला हुँदैछ ।

केही महिनाअघि मात्र एक प्रकारको लहडमा खोलिएको पार्टीले हासिल गरेको ‘उपलब्धि’ले सबैलाई चकित तुल्याएको छ । ‘स्वतन्त्र’ नाम दिएर खडा गरिएको सो पार्टीका अधिकांश उम्मेदवार युवा, शिक्षित एवम् कुनै न कुनै विषयका विज्ञ रहेका र, देश बनाउने उत्कट आकाङ्क्षाबाट प्रेरित रहेको भन्दै मतदाताको ठूलो पङ्क्ति त्यसतर्फ आकर्षित भएका छन् । पक्कै पनि असल युवाले देशको नीति निर्माण गर्ने स्थानसम्म आफ्नो पहुँच बनाउनु सुखद् सन्दर्भ हो । तर, राजनीतिक सङ्गठनविना रातारात रहश्यमयी ढङ्गबाट खडा भएको (खडा गराइएको ?) कथित ‘राजनीतिक दल’को जबर्जस्त अस्तित्व या वर्चश्व आमनिर्वाचनमार्फत् देखिनु स्वभाविक विषय बन्न सक्दैन । कुनै पनि दल देशप्रति कति प्रेम र निष्ठाका साथ स्थापना भएको छ र त्यसले साङ्गठनिक रूपमा पारेको प्रभाव कस्तो छ भन्ने आधारमा त्यस दलबाट मुलुकको लागि हुन सक्ने सकारात्मक या नकारात्मक योगदानको आँकलन गर्न सकिन्छ । यस कोणबाट नियाल्दा कुनै स्पष्टता प्रकट नभएको नितान्त अपरिपक्व नेतृत्व एकाएक मुलुकको राजनीतिमा ‘हाबी’ हुनसक्ने देखिँदैछ । यसबाट स्थिरता र समृद्धिमा सकारात्मक योगदान पुग्ने कल्पना गर्नु आफैमाथिको घात हो ।

यसरी खहरेझैँ प्रकट भएको समूह/शक्ति मुलुकको लागि सकारात्मक विकल्प नभइ उत्तेजना मात्र हो भन्न सकिने अनेक आधार छन् । सत्ता-राजनीतिमा प्रभाव पार्ने हैसियतमा यस्ता अपरिपक्व नेतृत्वको उदय हुनु अत्यन्त संवेदनशील विषय रहेको बुझ्न जति ढिलो गर्‍यो देश र जनताले उत्ति नैै बढी क्षति ब्यहोर्नुपर्ने हुन्छ । नियोजित पात्रहरू देशको लागि कति घातक हुन सक्छ भन्ने बुझ्न ‘युक्रेन’ एक ताजा दृष्टान्त हो । हाम्रा प्रतिनिधिहरू विदेशी हित र स्वार्थको प्रतिनिधि भएको स्पष्ट गर्ने अनेकौँ सन्दर्भ छन् । ढिलो-चाँडो यसखाले चुनावी-परिणामको दुष्प्रभाव/दुष्परिणाम जगजाहेर हुने नै छ । तर, दूरगामी सोच नराख्ने, क्षणिक सुखमा रोमाञ्चित हुने आम नेपाली प्रवृत्ति रातोरात उदाएका पात्र वा पार्टीविशेषको विजयप्रति मग्न देखिँदै छ ।

यसै पनि पछिल्लो तीन दशक अवधिबीच विभिन्न दलीय आवरणमा शासकीय भूमिकामा रहँदै आएका ‘नेता’हरूले ‘खेताला’ भूमिका निर्वाह गर्दै आएका आरोप लाग्दै आएको हो । राष्ट्रसँग सम्बन्धित विभिन्न संवेदनशील मामलामा तिनले निर्वाह गरेको भूमिकाले यसको पुष्टि गर्दै आएको लुक्ने विषय रहेको छैन । देशप्रति इमानदार हरेक सचेत पात्रले यो अन्त:ष्करणदेखि नै महसूस गर्दै आएका छन् । आम नेपालीजनसम्म चाहिँ यस अपरिहार्य चेतनाको तरङ्ग अझै पुग्न नसकेको स्पष्ट हुँदैछ ।

नयाँ मतादेशका आधारमा निकट भविष्यमै नयाँ सरकार गठन हुनेछ  । तर, कुनै पनि दलले स्पष्ट बुहमत हासिल नगर्ने र जनताले चिन्न नै नपाएको/नसकेको नयाँ ‘समूह’ नयाँ सरकार गठनको सन्दर्भमा महत्वपूर्ण कडी बनेर प्रकट भएको परिवेशले भावी सरकार कति समयमा कस्तो गठजोडबाट निर्माण होला भन्ने जिज्ञासा सर्वत्र छ । मतदान गर्दैमा परिवर्तनको पहल नटुङ्गिने परिस्थिति अझै झेल्न तत्पर रहनुपर्ने अवस्थामा नेपाली मतदाताले आफैलाई पुन: जकडेका छन् । नयाँ बन्ने सरकारका गतिविधि सत्तामा टिकिरहने र भ्रष्ट शासन बलियो बनाइरहने क्रियाकर्ममा सीमित हुने त होइन भनी गरिएको आशङ्का अन्तत: यथार्थमा परिणत हुने परिस्थिति प्रबल बनेको छ ।

यसरी, नैतिकता र मूल्यहीनताको राजनीतिक चरित्र नफेरिने सन्देह सघन बनेको छ । त्रिशंकु संसद् चुनिने अवश्यम्भावी अवस्थामा दल र संसद् एउटाबाट अर्को गठबन्धनमा जान मोलतोलका साथ तयार हुने नै छन् । मूलत: यो निर्वाचन पनि ‘परिचालित शक्ति’ वा नेतृत्वहरूको पराजयका लागि सक्षम देखिएन, जसबाट मुलुकको सम्भाव्यताको ढोका खोल्ने अपेक्षा अधुरै रहने निश्चित ठानिएको छ । असफल र बदनाम सावित नेतृत्व र दलको पछि मात्र कुद्ने अनि एकाएक उठाइएका पात्रहरूबाट चमत्कारकै आशा गर्ने सोच/प्रवृत्तिको निरन्तरताले नेपाल र नेपालीलाई अघि बढ्न पक्कै सघाउँदैन, बरु मुलुकलाई पछिल्तिर नै धकेल्न सक्छ  । तथापि, जस्तो परिस्थिति निम्तिए पनि झेल्नुको विकल्प नेपाली जनतासामु नरहेको स्पष्टै छ ।