रेजिनाले पर्दाफास गर्ने

रेजिनाले पर्दाफास गर्ने


सधैं मिडियाहरूमा छाइरहने अभिनेत्री रेजिना उप्रेती केही समयदेखि ‘गुप्तवास’मा छिन् । ‘फेसबुक’मा पनि उनी आफूले काम गरेका चलचित्रहरूको तस्बिर ‘ट्याग’ गर्थिन् तर आजभोलि चलचित्रहरूमा तस्बिर र चलचित्रसम्बन्धी कुराहरू उनको ‘फेसबुक’मा त्यति हेर्ने र पढ्न पाइन्न । चलचित्रसम्बन्धी कार्यक्रमतिर पनि कमै देखा परि्छन् रेजिना । किन त ? ‘आजभोलि पछाडि नै परेकी छु । घरतिर पनि समय दिनुपरेकोले यसो भएको हो,’ उनले भनिन् ।
त्यसो त, रेजिना अब चाँडै विवाह गर्दै छिन् भन्ने हल्ला पनि बजारमा नचलेको होइन । कुरा के हो त ? प्रश्नको जवाफमा उनी केवल मुस्कुराइन् मात्र । ‘अहिले बढी के बोल्नु । कुरा के हो थाहा पाइहाल्नुहुन्छ नि,’ यति मात्र भनिन् उनले ।
रेजिनाका साथीहरूले त रेजिना पहिलेजस्तो नखुलेको र स्वतन्त्र रूपमा पनि नहिँडेको कुरा बताउन थालेका छन् । कतै बिरामी त भइनन् रेजिना ? उनीहरूको प्रश्न स्वाभाविक नै थियो । त्यसबारे रेजिनाले जवाफ नदिरहन सकिनन् र भनिन्, ‘मलाई केही पनि भएको छैन । यो कुराचाहिँ पक्का हो कि म पहिलेभन्दा अलि कम सक्रिय रहेकी छु । सधैंभरि यस्तो कहाँ हुन्छ र ? म के गरिरहेकी छु । यो कुराको पर्दाफास चाँडै हुनेछ ।’

जेनिसा यता न उता
यतिबेला फुर्सदमा छिन् जेनिसा केसी । उनलाई पुरानी नायिका मैसमी मल्लले चलचित्र ‘गिरफ्तार’बाट नायिका बनाएकी थिइन् तर, अहिले आफ्नै ‘गुरुआमा’सँग जेनिसाको सम्बन्ध राम्रो छैन । थोरै समयमा नाम र फिल्म पनि हात नपारेकी होइनन् उनले । ‘तर दाम भने कमाउन सकिएन । दाम नकमाईकन हुँदैन रहेछ,’ उनले बुझेकी छिन् ।
जतिबेला जेनिसा चर्चा र व्यस्तताको चरमचुलीमा थिइन्, त्यतिबेला उनको नाम नायक विराज भट्टसँग जोडिने गर्दथ्यो । त्यसो त एकपछि अर्को चलचित्रमा यी दुई एकसाथ देखापर्दा बजारमा यी दुईलाई लिएर टीका-टिप्पणी चल्नु स्वाभाविक पनि थियो । तर, अहिले आएर त्यो कुरा भने मित्थ्या सावित भएको छ । जेनिसा नेपालमा काम नपाएर फुर्सदमा छिन् भने उता विराज भोजपुरी चलचित्रको स्टार भइसकेका छन् । ‘यदि विराज र जेनिसाबीच सम्बन्ध थियो भने त उनले जेनिसालाई पनि लिएर जान्थे होलान् नि भोजपुरी चलचित्रमा,’ यस्तै भनिन्छ विराजको बारेमा ।
कलेज पढ्दा-पढ्दै सिनेमा क्षेत्रमा हामफालेकी जेनिसालई साँच्चै यतिबेला कलाकारिता टोक्न न बोक्नु हुन थालेको छ । हिरोइन भइसकेपछि फेरि पुस्तक च्यापेर पढाइलाई निरन्तरता पनि कसरी दिनु र यता फिल्म हातमा नपरेपछि त्यो फुर्सदको समय के गरेर बिताउनु ? दोधारमा छिन् जेनिसा । अब जेनिसा अवसर पाइयो भने विदेश जाने मुडमा छिन् । उनीभन्दा पछि आएकी उनकै साथी युना उप्रेती यतिबेला अमेरिका पुगिसकेकी छिन् भने जेनिसाचाहिँ कसैले फिल्मबाट अफर गर्लान् कि भन्ने आशामा रहेकी छिन् । ‘यसरी कतिञ्जेल अरूको आशमा बस्नु ? म त के गरौँ के गरौँ खै ?’ आजभोलि जेनिसा यस्तै भन्न थालेकी छिन् ।

नम्रता झन्डै लफडामा
नम्रता श्रेष्ठलाई फेरि सिनेमाको पर्दामा उतारेको चलचित्र ‘मिस यु’ झन्डै लफडामा फसेको थियो । कुरा नम्रता श्रेष्ठले चलचित्र ‘मिस यु’मा दिएको भनिएको तर नम्रताको भनाइमा उनले नदिएको दृश्यको हो ।
यो चलचित्रमा आफूले दिँदै नदिएको एक दृश्य चिटिङ गरेर राखेको थाहा पाएपछि नम्रता ‘मिस यु’का निर्देशक सुरेशदर्पण पोखरेलसँग आग्रह गर्दै भनिन्, ‘त्यो दृश्य चिटिङ हो । दृश्य नकाल्नुहोला ।’ निर्देशकले पनि ‘हुन्छ’ भनिदिए । तर, पछि चलचित्रको फाइनल प्रिन्ट निस्कने समयमा पनि आफ्नोबारेमा बजारमा गलत टीका-टिप्पणी चल्ने खालका डिजिटल प्रविधिबाट चिटिङ गरिएको दृश्य नहटाएको कुरा थाहा पाएपछि नम्रता ‘मिस यु’माथि मुद्दा हाल्ने तयारीमा पुगेकी थिइन् । नम्रताको जुन दृश्यले फागुन ५ गतेबाट रिलिज हुन लागेको चलचित्र रिलिज नहुन सक्दथ्यो तर यसो भएन । नम्रताले चलचित्रसम्बन्धी सङ्घ/संस्थाका बुजु्रकहरूसँग पनि मुद्दा हाल्नुपर्ने अवस्था आएमा सहयोग गरिदिन आग्रह गरेकी थिइन् । अन्तत: कुरा यसो भएन । पछि ‘मिस यु’मा आफ्नो दृश्य काटेको निश्चित भएपछि नम्रता ‘कुल’ भएकी थिइन् । चलचित्रको रिलिजको समयमा कुनै न कुनै लफडा र विवादमा पर्ने चलचित्र अनि कलाकार एवम् प्राविधिकहरूको रोग नै हो पुरानो । झन्डै यो रोगले समातेको थियो नम्रता श्रेष्ठ, मिस यु र निर्देशक सुरेशदर्पणलाई पनि ।

भाउ बढ्यो केकीको
त्यसो त म्युजिक भिडियोबाट नायिका बनेकी केकी अधिकारीको पारिश्रमिक म्युजिक भिडियोमा नै बढी थियो । तर, अब सिनेमामा पनि उनको पारिश्रमिक बढ्ने भयो रे ! केकीले पारिश्रमिक बढी माग्ने आँट भने चलचित्र ‘आई एम सरी’ सफल भएपछि गरेकी हुन् ।
विगतमा सिनेमामा एकदेखि डेढ लाखसम्म पारिश्रमिक पाउँदै आएकी केकीको पारिश्रमिक अब कति पुग्यो त ? ‘अब म दुई लाखभन्दा कममा फिल्ममा खेल्दिनँ,’ उनले आइतबार एक निर्मातालाई जानकारी गराए । केकीलाई आफ्नो सिनेमामा लिनेका लागि डेढ लाखको अफरसहित केकीसमक्ष पुगेका निर्मातासँग केकीले दुई लाख मागेपछि आफ्नो सिनेमामा केकीलाई लिने मनस्थिति फेरेका छन् । ‘त्यत्रो पैसा दिएर त के लिनु ? चलचित्रको बजार घट्दो छ तर कलाकारहरूको पारिश्रमिक भने बढ्दो छ । यो त मिलनबिन्दु नै भएन,’ एक निर्माताको गुनासो छ ।
यतिबेला अल नेपाल रिलिज भइरहेको चलचित्र ‘आई एम सरी’ले दर्शकहरूको साथ राम्रो पाइरहेको अवस्थामा कलाकारहरूले पारिश्रमिक बढी माग्नु न्यायसङ्गत भएको कुरा सिने पण्डितहरूले बताउन थालेका छन् ।

तपाईंको दृष्टिमा
सङ्गीतकार महेश खड्का यतिबेला चर्चामा छन् । नेपाली चलचित्र र सुगम सङ्गीतमा अगाडि रहेका सङ्गीतकार खड्काले सङ्गीत दिएको न बिर्सें तिमीलाई न पाएँ तिमीलाई… बोलको गीतबाटै गायिका अञ्जु पन्त माथि आएकी थिइन् । ँबल गरेर त्यो मन यता मोड भन्दिनँ… लगायत पाँच सयभन्दा बढी आधुनिक गीत अनि सयभन्दा बढी नेपाली चलचित्रमा सङ्गीत दिन सफल सङ्गीतकार महेश खड्का जीवन र जगत्बारे के भन्छन् ? तपाईंको दृष्टिमा स्तम्भका लागि राजन घिमिरेसँग सफल अनि चर्चित सङ्गीतकार महेश खड्का यसरी प्रस्तुत भए ।

० जीवन के हो ?
– जन्मेदेखि नमरुन्जेलसम्मको रेखा
० प्रेम के हो ?
– आत्मादेखि गरिने समर्पण
० सुन्दरता के हो ?
– दृष्टिको भ्रम
० मन के हो ?
– नदेखिने तर राम्रो-नराम्रो सोच्न सक्ने कुरा
० भावना के हो ?
– अन्तरमनको व्यक्त-अव्यक्त चाहना
० विवाह के हो ?
– परायलाई आफ्नो बनाउने र सम्बन्ध जोड्ने क्रिया
० बन्धन के हो ?
– समाजमा बाँधिन बनाएको नियम, जो तोडिन पनि सक्छ
० अपमान के हो ?
– अरूको घमण्डबाट अपहेलित हुने प्रक्रिया
० मिलन के हो ?
– दुई भिन्नाभिन्नै कुराको भेट
० विछोड के हो ?
– टाढा रहनु वा दुई मन छुट्टनिु
० जवानी के हो ?
– रहरहरूको खानी
० बालापन के हो ?
– अबोधपन
० तृष्णा के हो ?
– चाहनाको अर्को रूप
० रिस के हो ?
– अन्तरमनबाट निस्किएको एक प्रकारको घृणा
० जोस के हो ?
– कुनै पनि कार्य गर्नका लागि हुने इच्छा
० नसा के हो ?
– जीवनको बर्बादी
० यौन के हो ?
– सृष्टिका लागि अपरिहार्य
० सन्तुष्टि के हो ?
– सोचेका कुराको पूर्ण प्राप्ति
० कर्तव्य के हो ?
– निर्वाह गर्नुपर्ने एक किसिमको जिम्मेवारी
० विश्वास के हो ?
– गर्नुपर्ने तर हत्तपत्त नपाइने चाँडै जोडिने र तोडिने कुरा
० असल के हो ?
– कसैको कुभलो नचिताउने ।
० खराब के हो ?
– नराम्रो चाहने सोच
० सबैभन्दा ठूलो धोका के हो ?
– आत्महत्या
० दु:ख के हो ?
– सहन गर्न सकिने र नसकिने, कसैले नचाहने कुरा
० सुख के हो ?
– मानसिक, शारीरिक वा भौतिक सम्पन्नता
० खुसी के हो ?
– अरूको सेवाबाट प्राप्त सन्तुष्टि ।
० आनन्द केमा छ ?
– सेवामा
० मित्र को हो ?
– जसले आफूलाई सहयोग र गाली दुवै गर्छ ।
० शत्रु को हो ?
– धेरै चिल्लो घस्ने
० सङ्घर्ष के हो ?
– जीवनको नियम
० प्राप्ति के हो ?
– गुम्न सक्ने तर गुमाउन नचाहने
० आस्था के हो ?
– विश्वासभन्दा पनि माथि गरिने एकप्रकारको सम्मान
०र् धर्म के हो ?
– मानवीय कर्तव्यको अर्को रूप
० नैतिकता के हो ?
– समाजमा आफ्नो सामाजिक अधिकार वा कर्तव्य
० चरित्र के हो ?
– मान्छेको अन्तरमनमा रहेको राम्रो वा नराम्रो पक्ष
० ज्ञान के हो ?
– अन्तरमनबाट उब्जिएको सकारात्मक वा अरूबाट सिकेको कुरा
० बुद्धि के हो ?
– ज्ञानलाई छिटोछिटो चलाउने अर्को रूप ।
० सम्झौता के हो ?
– बदल्न सकिने एकप्रकारको कसम
० सृष्टि के हो ?
– हत्तपत्त बुझ्न नसकिने संसार
० गुरु को हो ?
– बुद्धि-ज्ञान प्रदान गर्ने आफूभन्दा सानो वा ठूलो व्यक्ति
० राजनीति के हो ?
– देश र मानवसमाजको सेवा गर्ने प्रक्रिया
० देश के हो ?
– आफ्नो पहिचान गराउने र भुल्नै नहुने माटो र सिमाना
० समाज के हो ?
– विभिन्न समुदाय, जातजातिहरूको स्थल
० पद के हो ?
– शासन गर्नका लागि स्थापना गरिएको स्थान
० विकास के हो ?
– सृष्टिमा रहेका कुराहरूको उत्खनन् र परिवर्तन
० व्यापार के हो ?
– नाफा र मुनाफा आर्जनका साथै सेवा गर्ने कुरा
० अनुशासन के हो ?
– व्यक्तिभित्र रहेको आचरण