न्यायको मलामी

न्यायको मलामी


  • राजेन्द्र पाठक

ऊ प..र शङ्खको एकोहोरो स्वर !
खोलावारिबाट सबै त्यतै हेर्दैछन्
आज को बितेछ ?… राम ! राम !!
बैकुण्ठ बास होस् !
तर अनौठो दृष्य देखिँदै छ त्यहाँ ।
अघि-अघि बुर्की छर्ने दौडिरहेको छ
लगाएको छ उसले कालो कोट !
शङ्ख फुक्नेले पनि लबेदा सुरुवाल र कालोकोट नै पहिरिएको..
हेर्दै न्यायाधीश जस्ता देखिन्छन् मलामीहरू
अपरिचित आँखामा पट्टी बाँधेर एक जना
हातमा तराजु देखाउँदै बीच बाटोमा
हलचल नगरी ठिङ्ग उभिएको छ
हरियो बाँसमा रातो टिलो बाँधिएको र,
पछि-पछि बर्दिधारी दौडिरहेका छन् ।
हेर्दै पुलिस जस्ता देखिन्छन् ती ।
अझै पछाडिका मलामीहरू
हेर्दा प्रसाशक जस्ता लाग्ने
त्यसपछिका सबै परिचित जस्ता
चिने-चिने जस्ता अनुहारहरू रहेछन्
चुनावमा भोट माग्न आउनेहरू समेत यस्तै थिए
अगाडि-पछाड साइरनजडित गाडीको हुल
जनता समेत पछि लाग्न जुर्मुराए ।
जुँगे बुझक्कडले कड्किएर निर्देशन दिए-
खबरदार ! कोही सहभागी नहोऊ !
कटुवालेले सोधे-
कसको स्वर्गवास भयो हजुर ?
नरमाइलो जवाफ आयो-
उफ ! न्यायको स्वर्गवास भएछ ।
राम ! राम ! राम ! ॐ शान्ति !
हार्दिक श्रद्धाञ्जली !!