नयाँ सरकार गठनबारे सत्तारुढ गठबन्धनबीच छलफल सुरू : एमालेले पनि पहल गर्ने

नयाँ सरकार गठनबारे सत्तारुढ गठबन्धनबीच छलफल सुरू : एमालेले पनि पहल गर्ने


निर्वाचन परिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै सत्तारुढ गठबन्धनले सरकार निर्माण बारेमा छलफल सुरू गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि सहभागी भएका छन् ।

सत्तारुढ गठबन्धन आवद्ध दलहरू नयाँ सरकार बनाउने तयारीमा छन् । गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा एकल बहुमत नआएको अवस्थामा कसरी अघि बढ्ने भन्ने बारेमा पहिलो पटक कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

समानुपातिकतर्फको निर्वाचनको परिणामपछि मात्रै सरकार बनाउनका लागि पुग्ने सांसद संख्याका बारेमा निर्क्योल हुने भएपछि सत्तारुढ गठबन्धनले आवाश्यक संख्याका लागि अन्य दलसँग सहकार्य गर्न सक्नेछन् ।

यसैबीच नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नयाँ सरकार निर्माणका लागि आफ्नो पार्टीले पहल गर्ने जनाएका छन् । रुपेन्देही–२ बाट निर्वाचित पौडेलले नयाँ सरकार गठनका लागि एमालेले पहल गर्ने बताएका हुन् ।

‘निर्वाचन परिणाम हेर्दा कसैलाई पनि बहुमतको सरकार निमार्णका लागि जनताले म्यान्डेट दिएको अवस्था छैन, त्यसैले राजनीतिक दलहरु मिल्नुपर्ने अवस्था देखिन्छ,’ पौडेलले भने, ‘अध्यक्षलाई निर्वाचनपछिको प्रधानमन्त्री भनेर हामीले घोषणा नै गरेर गएकाले स्वाभाविक रुपमा नयाँ सरकारका लागि एमालेले पहलकदमी गर्नेछ ।’

उनका अनुसार यसबारे अन्य दलसँग एमालेले छलफल चलाउनेछ ।