चुनाव हारेपछि झलनाथको ‘आर्तनाद’ : ‘मलाई हराउन मतदान प्रक्रियादेखि नै अनियमितता गरे’

चुनाव हारेपछि झलनाथको ‘आर्तनाद’ : ‘मलाई हराउन मतदान प्रक्रियादेखि नै अनियमितता गरे’


पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका शीर्षनेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता गरेको आरोप लगाएका छन् ।

उनले इलाम २ को मतदान प्रक्रिया सुरुदेखि नै स्वस्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मत पेटिकामा मत हाल्नुपर्नेमा अर्कै मतपेटिकामा मत हालेको, मतपेटिकामा खसेको मतसमेत गणना गर्दा नभेटिएको, मतपत्र नै गायब भएको, कतिपय ठाउँमा खसेको मतभन्दा सयौँ मत बढी फेला परेको बताए ।

यसआधारमा मतदानको प्रक्रियामा नै अनियमितता भएको पुष्टि गर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘ती मतपत्र कसरी गायब भए ? ती खसेको भन्दा बाकसमा बढी मतपत्र कसरी भए ? निर्वाचन आयोगले जवाफ दिनुपर्छ ।’

यहाँको मत परिणाम र निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई आफूले स्वीकार नगर्न उनले बताएका छन् । यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने उनले बताए । उनले भने, ‘यी सबै विषयका बाबजुद इलामेली जनताले यसपटकको निर्वाचनमा उत्साहपूर्वक भाग लिनुभएको छ, गठबन्धनका उम्मेदवारलाई समर्थन गर्नुभएको छ र मलाई २३ हजार ८९ मत प्रदान गर्नुभएको छ । मतदान गर्ने सम्पूर्ण मतदाता, आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुलाई म हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।’