सामाजिक सञ्जालका कारण उद्दार भएका दुई जीवनी

सामाजिक सञ्जालका कारण उद्दार भएका दुई जीवनी


सामाजिक सञ्जालले गर्दा जोखिममा पर्ने सम्भावना धेरै भएपनि समाजिक सञ्जालको कारण घर-परिवार भेटिने, जोखिममा हुँदा जानकारी दिने र तुरुन्तै उद्दार हुने अवस्था पनि छ ।
  • रसना ढकाल
सन्दर्भ १

झिसमिसे साँझको समय थियो । उनको फेसबुकमा अपरिचत व्यक्तिको फ्रेण्डरिक्वेष्ट आउँछ । नयाँ व्यक्ति भन्नेवित्तिकै उनले डिलेट गर्छिन् । फेरि त्यस्तै रिक्वेष्ट आउँछ र उनी फेरि पनि डिलेट गर्छिन् । त्यसपछि म्यासेन्जरमा लेखिएको हुन्छ- ‘भाउज्यु म शोभा (नाम परिवर्तन), हजुरको कान्छी नन्द । भाउज्यु झसङ्ग हुन्छिन् । उनले चाँडै विश्वास पनि गर्दिनन् र भन्छिन्- तपाईं राम्रो व्यक्ति हो भने नियतपूर्वक मलाई कल गर्नुस्, होइन भने मेरो नन्द भन्दै नजिस्काउनु, फेरि प्रहरीमा उजुरी दिन नपरोस् भन्दै हपार्छिन् त्यत्तिकैमा म्यासेन्जरमा भिडियो कल आउँछ । उनैकी कान्छी नन्द हुन्छिन् । वर्षौंपछि नन्द देख्दा एकछिन भाउज्यु बोल्न सक्दिनन् पछि ‘नानी तपाईं कहाँ हो ? कसले कहाँ पुर्‍यायो तपाईंहरूलाई अहिले कता हुनुहुन्छ ?’ भन्दै रुन थलिन् । नन्दले ‘भाउज्यु, म दार्जिलिङ प्रहरीको सम्पर्कमा छु, मलाई यहाँबाट नेपाल बोलाउनुस्, म नेपाल आउँछु । भारतीय प्रहरीले मलाई पक्रेर एउटा सँस्थाको घरमा राखेको छ । अहिले धेरै बोल्न मिल्दैन । यहाँ कोही नभएकोले हजुरको फेसबुक आइडी थाहा गरेर कल गरेँ भाउज्यु । मलाई यहाँबाट निकाल्नुस् । म सबै कुरा बताउँछु । यहाँबाट धेरै कुरा गर्न मिल्दैन ।’

यति नन्दले भनेपछि उनले सबै परिवारलाई आफ्नो र नन्दबीचको कुरा सुनाइन् । सबै परिवार खुशी भए । तर उनलाई भारतीय प्रहरीबाट कसरी ल्याउने भन्ने चिन्ताले सताएको थियो । त्यस परिवारमध्येकी एक महिला समाजिक संस्थाहरूसँग आबद्ध भएकोले उनले विश्वास नेपाल नामक समाजिक संस्थामा आफ्नो बहिनीलाई भारतबाट नेपाल ल्याउन सहयोग माग्छिन् । संस्थाले उनको सबै कथा सुनेपछि मानवबेचविखन ब्युरोसँग सहकार्य गर्छ । त्यसपछि ब्युरोको भाइबर साइटमा संस्थाले सो बालिकाको सम्पुर्ण विवरण पठाउँछ । विवरण पाउने वित्तिकै मानव बेचविखन अनुसन्धान ब्युरोबाट कल आउँछ । ती महिलालाई लिएर कार्यालय आउनु । भोलिपल्ट बालिकाकी दिदी ब्युरो पुग्छिन् र आफ्नो काइँली र कान्छी बहिनीको बारेमा भन्छिन् । सबै विवरण ब्युरोले लिएपछि दार्जिलिङ प्रहरीलाई सम्पर्क गर्छ । भारतीय प्रहरीले हो ती नानी हामीसँग छिन् भनेपछि काकरभिट्टाको प्रहरी र सीमामा काम गर्ने विश्व सेवा नामक समाजिक संस्था मिलेर ती बालिकालाई नेपाल ल्याउँछन् । नेपाल ल्याएपछि केही दिन आश्रय स्थलमा बालिकालाई प्रहरीले राख्छ । प्रहरीले बालिकासँग घटनाको बारेमा बुझेपछि ती बालिकालाई बम्बै पुर्‍याउने महिला र एक पुरुषलाई ब्युरोले पक्राउ गर्छ ।

सन्दर्भ-२

२०७६ सालतिरको कुरा हो- एक भिडियो भाइरल भयो । उक्त भिडियो नुवाकोटकी एक युवतीको थियो । वैदेशिक रोजगारको शिलशिलामा उनीलाई कुवेत पुर्‍याइएको थियो तर त्यहाँ उनीलाई शारीरिक र मानसिक यातना धेरै भयो । एक काम भनेर अर्को काम गर्न लगाइयो । शारीरिक याताना अति भएपछि उनले भिडियो बनाएर नेपालमा रहेका एक आफन्तलाई ट्याग गरिन् । पछि ती व्यक्तिले भिडियो देखे । चारैतिर उनको उद्दारको लागि पहल गर्न अनुरोध गरे । उनकी नाबालिका छोरीले कुवेतबाट आफ्नो आमालाई उद्दार गर्न सबैतिर अनुरोध गर्दै हिँडिन् । घटनाको भिडियो सार्वजनिक भएपछि महिला बालबालिकाको क्षेत्रमा काम गर्ने व्यक्तिहरूले महिला बालबालिका तथा जेष्ठनागरिक मन्त्रालयमा तत्कालिन सहसचिव रुद्रादेवी शर्मासमक्ष प्रभावितकी नाबालिक छोरीसहित अपिलपत्र लिएर गए । अपिलपत्र पाउनेबित्तिकै सहसचिव रुद्रादेवी शर्माले वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा तुरुन्त घटनाबारे जानकारी दिनुभयो र, ती प्रभावित सातौँ दिनमा नेपाल आउन सफल भइन् ।

परिवारको बिलौना :

सन्दर्भ १ : आफ्नी बहिनी घरबाटै हराएपछि उनी एकदम अत्तालिएकी थिइन् । कसलाई भनौँ, कहाँ जाउँ ? हामी गरीब छौँ, हाम्रो कुरा कोसैले सुन्दैन, प्रशासनमा हाम्रो पहुँच पुग्दैन भन्ने चिन्ताले बेहाल भइरहेको थियो मगर परिवार । दिदीको घरमा बसिरहेका तिनीहरू कहाँ हराए भन्दै घर परिवारले दिदीलाई मानसिक यातना दिन थाले । पछि एक व्यक्तिको सुझावमा प्रहरीमा खोजतलास गर्नुपर्ने कुरा भयो तर ती दुई नानीहरूको फोटो थिएन । फोटो नभइ प्रहरीले कसरी खोज्ने ? समस्या बन्यो ।

यही समस्या सन्दर्भ २ को नाबालिक प्रभावितलाई भयो । उनी धेरै ठाउँमा आमाको उद्दारको लागि याचना लिँदै गइन् । तर सम्बन्धित निकायसम्म आइनपुग्दा उनको आमाको समयमा नै उद्दार गर्न सकिएको थिएन । ‘तेरी आमा विदेशमा बेचिएकी हो भन्दै वरपरकाले सुनाउँथे’, उनी भन्छिन् ।

घटनाक्रम यस्तो थियो-

सन्दर्भ १ को घटनाक्रम

सधैं बिहान ६ बजे ‘क’ नाम गरेकी ती बालिकाहरूकी दिदी काममा जान्छिन् । आफ्नी दुई साना बहिनीहरूको साथ नानी जिम्मा लगाएर उनी दिनहुँ काममा गैरहेकी हुन्छिन् । उनी सधैं गएको उनको कोठाको छेउमा नुवाकोट घर भएकी एक महिलाले देखिरहेकी हुन्छिन् । दुई बालिकाको साथमा एक सानो नानी ती कोठाको छेउमा बस्ने महिलालाई बालिकाहरू देखेपछि फकाउन मन लाग्छ । उनले प्राय: प्रयास गरिरहेकी हुन्छिन् तर सम्भव हुँदैन थियो । तर एक दिन ती महिलाले दुई बालिकालाई तिमीहरू पढ्नु पर्दैन, किन यसरी बसेको ? भनी सोध्छिन् । त्यसमध्ये एक बालिकाले हामी पढे-नपढे तपाईंलाई किन चाहियो भन्दै जवाफ दिन्छिन् त्यत्तिकैमा अर्र्की बालिकाले ‘हामी गरिब छौँ, हाम्रो कोही छैन, यही ठुलो दिदी हो हामीलाई दु:ख गरेर कमाएर ख्वाउँदै छ’ भन्दै कुरा गर्छिन् । त्यत्तिकैमा ती महिलाले ‘त्यसोभए म तिमीहरूलाई पैसा कमाउने बाटो देखाउँछु, तिमीहरू रातारात धनी हुन्छौ’ भन्दै फकाउन थालिन् । साना बच्चाहरू उनीहरूको दिमागमा यसले हामीलाई फकाउँदै गरेको भन्नेर बुझ्न सकेनन् । ती महिलाको कुरामा नबालिगहरू लोभिन थाले । आफूले भनेको कुरा दिदीलाई नसुनाउनु भन्दै डर देखाइन् । भोलिपल्ट बिहानी ती नानीहरूको दिदी काममा हिँडेपछि ती महिलाले पोखरा जाउँ भनेर ट्याक्सी बोलाइ बच्चाहरूलाई लिएर गइन् । गाडीमा उनले चाउचाउ खान दिइन् तर त्यो चाउचाउमा लठ्याउने औषधि थियो । त्यो खानेबित्तिकै बच्चाहरू बेहोस भए । र, पोखरा लैजान्छु भनेको बम्बैको कोठीमा नाबालिकहरूलाई ती दलाल महिलाले पुर्‍याइन् ।

सन्दर्भ २ को घटना क्रम यस्तो थियो-

समाजिक सञ्जालबाट चिनाजान भएपछि क नाम गरेकी महिलाको नेपालगञ्ज बस्ने महेश श्रेष्ठ नाम बताउने व्यक्तिसँग सङ्गत हुन पुग्न । क नाम गरेकी महिला एकल हुन्छिन् । उनको साथमा एक नाबालिक छोरी पनि छिन् । पतिको केही कारणवश मृत्यु भएपछि काठमाडौंको एक डेरामा आमाछोरी बस्दै आइरहेका थिए । क नाम गरेकी ती महिलालाई माइती र घरबाट केही सहयोग हुँदैन । घरखर्च अनि बच्चाको रेखदेखखर्च पुराउन धौ-धौ हुन्छ । नुवाकोट माइती भएकी उनी माइत पनि जान सक्दिनन् । अरुको घरमा भाडा माझ्ने काम गरेर निर्वाह गर्दै आइरहेका ती परिवारमा आर्थिक सङ्कट आउँछ । छोरीको पालनपोषण उच्च शिक्षा राम्रो दिने उनको चाहना थियो । त्यही चाहना पूरा गर्न उनी नागरिकता विना नेपालगञ्जका महेश श्रेष्ठ नाम बताउनेसँग मिलेर कुवेत जान तयार हुन्छिन् । महेशले विहान ४ बजे उनलाई नयाँ बसपार्क बोलाउँछ । उनीहरू दुवै मोटरसाइकलमा काठमाडौबाट नेपालगञ्ज जान्छन् । यता छोरीलाई बेला बेलामा म फोन गर्छु भन्दै साथीको घरमा राखेकी हुन्छिन् । उनीहरू नाकाको छेउमा पुगेपछि पालैपालो सिमा पार गर्न सफल हुन्छन् । सिमामा खोजतलास धेरै भए पनि तिनीहरू फुत्कन सफल हुन्छन् । सिमापार भएपछि दोस्रो दिन उनी दिल्ली पुग्छिन् । उनीसँग नेपाली कागजपत्र केही हुँदैन । नक्कली पार्सपोर्टमै उनी दिल्लीबाट श्रीलंका पुग्छिन् । उनको साथमा अरु पाँच जना नेपाली महिलाहरू हुन्छन् । उनीहरूको प्लेन श्रीलंकामा भोलिपल्ट बिहान ओर्लन्छ, त्यहाँबाट पनि पाँच जना नेपाली महिलाहरू सोही प्लेनमा चढ्छन् । र, तीन दिनको प्लेन यात्रापछि कुवेत पुग्छन् । ती महिलाहरूसँग नागरिता, पासपोर्ट सबै नक्कली हुन्छ । कुवेत पुगेपछि एजेन्टले भनेको घर–घरमा काम गर्न महिलाहरू जान्छन् । तर त्यहाँ काम भन्दा पनि यातना धेरै पाएका हुन्छन् । तर पनि ती महिला २ महिनासम्म यातना खेपेर भए पनि केही पैसा कमाएर नेपाल फर्किने मन गरिन् । शारीरिक यातना अति नैै हुन थालेपछि उनले भिडियो बनाएर समाजिक सञ्जालमा पोस्ट गरिन् । नजिकको कोही व्यक्तिलाई ट्याग गरेपछि घटनाले अर्कै रुप लियो । ट्याग गरेको व्यक्तिले सामाजिक संस्थाहरूलाई गुहार्छन् र संस्थाको सहयोगमा महिलाकी नबालिक छोरीसहित नेपाल सरकारसँग आमाको उद्दारको लागि पहल गर्न अनुरोध गर्छिन्, र केही दिनपछि उनी नेपाल फर्किन सफल भइन् ।

समाजिक विषय राजनीतिको मुद्दा हुन नसक्नु दुर्भाग्य :

राजनीति नीति निर्माण गर्ने प्रमुख माध्यम हो । सबै नीतिहरूको माउनीति नै राजनीति हो । राजनीतिको थलोमा बसेर हरेक प्रकारका नीति निर्माण गर्नेदेखि लिएर कार्वन्वयनसम्मको कार्य गर्न सकिन्छ । कानुन बन्ने विधायिकादेखि लिएर कानून कार्यान्वयन गर्न लगाउने कार्यपालिका समेतमा राजनीतिको पहुँच हुन्छ । यसमा हरेक सामाजिक विषयमा देखिएको समस्याउपर ठोस नीतिको अनुमान गर्दै कामहरू गरिन्छ । तर दुरर्भाग्य देशले राजनीतिमा फड्को मारेता पनि राजनीतिले कहिल्यै पनि समाजिक विषयलाई यो देशको सवाल हो है भनेर आँकलन गरेन, फलत: अहिले बलात्कार, यौन दुर्व्यवहार, साइबर अपराध, मानवबेचविखन जस्ता जघन्य प्रकृतिका अपराधहरू भैरहेका छन् । हिंसा अन्त्य गर्ने सन्दर्भमा राजनीतिक दलको घोषणापत्रमा कहिल्यै पनि उल्लेख भएन । भनिन्छ, जबसम्म कुनै पनि समस्याउपर देशको राजनीतिको स्पष्ट विचार आउँदैन तबसम्म त्यो समस्या झन्-झन् बिकराल हुँदै जान्छ । स्थानीय निर्वाचनदेखि सङ्घ र प्रदेशको निर्वाचनसम्म आउँदा पनि राजनीतिक दल यस्ता समाजिक मुद्दाप्रति उदार छैनन् । समाजिक सवाल राजनीतिको सवाल होइन भनेर नेताहरू हिँडिरहेका छन् । एकातिर घरेलु कामदारको रूपमा महिलालाई विदेश जान रोक लगाइएको छ, तर उनीहरू बाहिरी बाटो भएर घरेलु कामदारको रूपमा गइरहेका छन् । सरकारले रोक लगाएर हुन्न यसलाई व्यवस्थित गर्नुपर्छ । यसले गर्दा वैदेशिक रोजगार जोखिमको यात्रा भइरहेको छ ।

वर्तमान अवस्था :

माथि उल्लेखित घटना सत्य घटनामा आधारित हो । उद्दार भएकी बालिकाको प्रतिवादीलाई मानवबेचविखन तथा ओसारपसारविरुद्धको ऐनअनुसारको सजाय भएको छ । प्रशासन र सामाजिक संस्थाको सम्पर्कमा आएपछि हराएकी बालिका फेला परिन् तर यस्तो घटना हाम्रो देशको कुना-कुनामा व्याप्त छ । अझै पनि प्रशासनसम्म जान नसक्दा पहुँच नपुग्दा कति व्यक्तिहरू हराइरहेका छन् । आफन्तीहरूले उजुरी गर्न सकिरहेका छैनन् ।

मानव बेचविखन अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक दान मल्ल भन्नुहुन्छ- ‘आन्तरिक रूपमा बालबालिकाको तस्करी गर्ने, उनीहरूलाई ललाइफकाइ शोषण गर्ने बेचविखन गर्ने घटना छ, तर बाहिरी देशमा बालबालिका लैजाने त्यस्तो घटना अलि कम नै छ तर पनि हामी चनाखो भएर काम गर्दै आइरहेका छौँ ।’

सामाजिक सञ्जालले गर्दा जोखिममा पर्ने सम्भावना धेरै भएपनि समाजिक सञ्जालको कारण घर-परिवार भेटिने, जोखिममा हुँदा जानकारी दिने र तुरुन्तै उद्दार हुने अवस्था पनि छ । विश्वको कुनै कुनामा रहे पनि सबैले आफ्नो मोबाइल चलाउने भएकोले आफ्नो समस्या राख्ने र तत्काल उद्दार कार्य हुने प्रहरीको दाबी छ ।