स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनावचिन्ह यता कसरी आयो ?

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनावचिन्ह यता कसरी आयो ?


एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिन्ह हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासी कसरी ठूलो बन्यो भन्दै प्रश्न समेत गरे ।

अध्यक्ष ओलीले भने, ‘संयोग होला… अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिन्हजस्तै यता पनि लिएर आएका छन् । अस्तिसम्म स्वाप्पै थियो, अहिले कसरी हुप्प फुल्यो । त्यतातिर पनि केही होल, तर त्यतातिर नजाऔँ ।’

अमेरिकी फ्रिडम पार्टीको चुनाव चिन्ह पनि घण्टी रहेको पाइएको छ । रास्वपा र अमेरिकन फ्रिडम पार्टीको लोगो समेत उस्तै उस्तै रहेको छ ।

सो अवसरमा ओलीले निर्वाचनमा सरकारले धाँधली गरेको समेत आरोप लगाए । सर्वसाधारणमाथि धडपकड र गोली प्रहार गर्ने कार्य गरेर गठबन्धन सरकारले निर्वाचन पक्षपातपूर्ण बनाएको उनको भनाइ छ । उनले थापाथलीस्थित सुकुम्बासी बस्तीमा बल प्रयोग गरेर हटाउन खोज्नु उचित नभएको पनि टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग गर्नु उचित नभएको बताएका छन् । मंगलबार च्यासलस्थित पार्टी निकट सांस्कृतिक संघद्वारा आयोजित बधाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले फुसका छाप्रा भत्काउन काठमाडौं महानगरपालिकाले डोजर प्रयोग गरेकोप्रति कटाक्ष गर्दै भूमि आयोगको कामबारे पनि प्रश्न उठाए । उनले नेपाल प्राकृतिक र भौगोलिक रूपमा समेत विविध रहेको बताउँदै संस्कृतिसमेत संसारकै उत्कृष्ट रहेको उल्लेख गरे ।