एमसीसीका आलोचक सबै नेता संसद् प्रवेशमा बञ्चित

एमसीसीका आलोचक सबै नेता संसद् प्रवेशमा बञ्चित


विगतमा ‘एमसीसी’ परियोजनाप्रति आलोचनात्मक दृष्टिकोण राख्ने सबै नेताहरू यसपटक प्रतिनिधिसभा सदस्य बन्नबाट बञ्चित भएका छन् ।

एमसीसीको प्रवक्ताको भूमिका निर्वाह गर्ने विश्व पौडेल (चितवन १) र रवीन्द्र मिश्र (काठमाडौं १) बाहेक सबै जना प्रतिनिधिसभामा पुगेका छन् । तर एमसीसी परियोजनाप्रति शङ्का र अविश्वास राख्ने सबै नेताहरू सांसद बन्नबाट रोकिएका छन् ।

सत्तापक्षबीच गठबन्धन भएर पनि एमसीसीका आलोचक पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन् । उनले आफ्नो पराजयको कारण काङ्ग्रेस भएको अभिमत जाहेर गरेका छन् । एमसीसीका सर्वाधिक आलोचक भीम रावल र घनश्याम भुसालले एमालेबाट टिकट पाएनन् । भुसाल गठबन्धनको समर्थनमा रुपन्देहीबाट उम्मेदवार बने पनि उनी विजयी बन्न सकेनन् ।

एमसीसीविरोधीहरू कृष्णबहादुर महरा र अग्नि सापकोटाले माओवादीबाट टिकट नै पाएनन् । महरा दाङबाट चुनाव लड्न चाहन्थे, तर प्रचण्डले समानुपातिकमा बस्न आग्रह गर्दै महरालाई टिकट दिएनन् । र, अन्त्यमा समानुपातिकको बन्दसूचिबाट पनि महराको नाम हटाइएको थियो ।

एमसीसीविरुद्ध चर्को आवाज उठाउने देव गुरुङ गठबन्धनको उम्मेदवार (लमजुङ) भएर पनि झिनो मतान्तरबाट पराजित भएका छन् । संसद्मा एमसीसीविरुद्ध मतदान गर्ने गिरिराजमणि पोखरेल (महोत्तरी १) र अञ्जना विसङ्खे (काठमाडौं १०) पराजित भएका छन् । विसङ्खेलाई गठबन्धनले उम्मेदवार बनाउन अस्वीकार गरेपछि उनी माओवादी पार्टीका तर्फबाट काठमाडौं १० मा उम्मेदवार बनेकी थिइन् । एमसीसीप्रति आलोचनात्मक दृष्टिकोण राख्ने वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ यसपटक पनि प्रतिनिधिसभामा प्रवेश पाउन असमर्थ रहे । अध्यक्ष प्रचण्डले नै सूरक्षित निर्वाचित क्षेत्र खोजेपछि श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्र (गोरखा २) हस्तान्तरण गर्न राजी भएका थिए ।

यसरी एमसीसीप्रति आलोचनात्मक दृष्टिकोण राख्ने सबै नेताहरू प्रतिनिधिसभामा प्रवेश पाउनबाट बञ्चित हुनुलाई रहस्यपूर्ण मानिएको छ ।