गोकुल र अम्रेशको ‘चामत्कारिक जित’

गोकुल र अम्रेशको ‘चामत्कारिक जित’



प्रतिनिधिसभा सदस्य निर्वाचित सबैको महत्वलाई कानूनी दृष्टिले बराबरीमा बुझिन्छ र, निर्वाचनमा विजयी बन्न पनि सबै उम्मेदवारहरूले आ-आफ्नो गच्छेअनुसारको विशेष प्रयास गरेका हुन् । त्यसर्थमा कुनै निर्वाचित सांसदलाई ‘विशेष’ र कसैको विजयलाई सामान्य अर्थमा बुझ्नु उचित होइन । तथापि यो निर्वाचनमा डा. अम्रेशकुमार सिंह (सर्लाही-४) र गोकुलप्रसाद बास्कोटा (काभ्रेपलाञ्चोक-२) ले प्राप्त गरेको विजयलाई विशेष मानिएको छ ।

विगतमा काङ्ग्रेसको उम्मेदवार बनेर दुई–दुई पटक भारी मतान्तरले विजयी बनेका डा. अम्रेशकुमार सिंहलाई यसपटक काङ्ग्रेस पार्टीले टिकट दिएन । सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरूको उच्चस्तरीय बैठकमा यस विषयमा प्रश्न उठ्दा ‘नयाँ दिल्लीले रोकेका कारण उनलाई टिकट दिन नसकिएको’ जवाफ दिएका थिए । सिंहको नाम र बदनाम भारतसँग जोडिएकै कारणले भएको ठानिन्छ । अहिले पनि अधिकाङ्श मानिस डा. अम्रेशलाई भारतसँग सबैभन्दा निकट व्यक्तिका रूपमा लिन्छन् । तर देउवाले नयाँ दिल्लीले भनेर अम्रेशकुमारको टिकट रोकेको बताइरहँदा सुन्नेहरू सबै चकित परेका थिए । यदि दिल्लीले टिकट रोकिदिएको हो भने सिंहको विजयमा समेत अवरोध पैदा हुनसक्ने ठानिएको थियो ।

उक्त क्षेत्र (सर्लाही–४) मा माछा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका डा. सिंह निर्वाचनमा विजयी बन्ने विश्वास काठमाडौंदेखि नयाँ दिल्लीसम्म कसैले पनि गरेका थिएनन्, सिंहको पराजय निश्चित मानिएको थियो । तर अम्रेश सिंह भने मनोनयनपत्र दाखिला गरेकै दिनदेखि नै आफू विजयी बन्नेमा निश्चिन्त थिए । उनले आफू विजयी बन्ने विश्वासलाई चाहिँ आफूमै सीमित राखे, धेरै टाढासम्म पुग्न जानाजान दिएनन् । निर्वाचनको मैदानमा अम्रेशको पक्षमा एउटा लहर नै उर्लिएको थियो, तर त्यो लहरको प्रभाव मतपेटिकासम्म पुग्न सक्छ भन्ने विश्वास न काङ्ग्रेसका नेताहरूलाई थियो, न सिंहदरबार र अरु कसैलाई । अनेक थरीलाई स्तब्ध तुल्याउँदै अम्रेश सांसद बन्न सफल भएका छन् । काङ्ग्रेसका नेता नागेन्द्र राय यादवसँगको प्रतिष्पर्धामा अम्रेशलाई मिलेको सफलताले सर्लाहीमा अम्रेशकुमारको लोकप्रियता छर्लङ्ग पारिदिएको छ ।

विगत केही समयदेखि नै डा. अम्रेशकुमार सिंहको राजनीति सधैंका निम्ति ‘सिध्याइदिन’ विभिन्न शक्तिकेन्द्र तथा शक्तिशालीहरू सक्रिय भएको बुझिन्थ्यो । काङ्ग्रेसको गत महाधिवेशनमा उनलाई महाधिवेशन प्रतिनिधिमै पराजित गरिदिएपछि अम्रेशको राजनीति साँच्चै सक्किने ठानिएको थियो । अम्रेशलाई समाप्त गर्नका निम्ति गगन थापा आफैं सर्लाही–४ मा उम्मेदवार बन्न राजी भएका थिए । जो–जसको जुन स्तरको असहयोग भए पनि अम्रेशकुमार सिंह पाँच वर्षका लागि सांसद निर्वाचित भएका छन् । यस घटनालाई अम्रेशको राजनीतिक पुनर्जन्मका रुपमा लिइएको छ ।

बाहिरी संसारले चुनाव जित्ने कल्पना नै नगरेका अर्का व्यक्ति हुन् गोकुलप्रसाद बास्कोटा । काभ्रे पलाञ्चोकको २ नम्बर निर्वाचन क्षेत्रमा गोकुल विजयी बन्न सक्ने विश्वास अति सीमित व्यक्तिबाहेक कसैले गरेका थिएनन् । प्रचण्ड र विनोद चौधरीलगायत केही ‘असामान्य’ व्यक्तिहरूको षडयन्त्रको शिकार बनेर बदनामी कमाएको र काभ्रे २ मा गठबन्धनभन्दा एमाले करिब नौ हजार मतले (स्थानीय निर्वाचनमा) पछाडि परेकोले गोकुलको पराजय हुने ठानिएको थियो । तर निर्वाचन क्षेत्रको विस्तृत अवलोकन र अध्ययनपश्चात गोकुल बास्कोटा भने एक महिनाअघि नै आफू कम्तिमा ४७०० मतले विजयी बन्ने विश्वासमा थिए । अनुमानभन्दा ज्यादा करिब ६००० मतले गठबन्धनका उम्मेदवारलाई परास्त गर्न गोकुल सफल भएका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका गोकुल बास्कोटाले मन्त्रिमण्डलको निर्णयअनुसार ‘सिक्योरिटी प्रेस’ खरिद गरी बनेपामा उक्त प्रेस स्थापित गर्ने प्रक्रिया अघि बढाएका थिए । ‘जी टू जी’ (दुवै तर्फका सरकार सहभागी रहने) निर्णयअनुसार यससम्बन्धी सम्झौता प्रक्रिया अगाडि बढाउन सार्वजनिक सूचना जारी भएपछि अमेरिका र बेलायतका राजदूतहरू मन्त्री गोकुललाई भेट्न बेग्लाबेग्लै ढङ्गले सञ्चार मन्त्रालय पुगेका थिए । उनीहरूले प्रेस खरिद र स्थापना कार्यमा रुचि देखाउँदै आफूसँग सम्झौता गर्न आग्रह गर्दा गोकुलले भनेका थिए- ‘हामीलाई सिक्योरटी प्रेस चाहिएको हो, जीटूजी मोडलमा काम गर्ने सूचना सार्वजनिक भइ नै सकेकोले कुनै पनि सक्षम मुलुकले यो प्रतिष्पर्धामा सहभागिता जनाउन सक्नेछ । तर जुन देशले हामीलाई प्रेस बिक्री गर्नेछ, उसैले सहुलियत ब्याजमा ऋण पनि हामीलाई उपलब्ध गराउनुपर्नेछ ।’

यसरी नगदसमेत उपलब्ध गराउनुपर्ने देखिएपछि बेलायत र अमेरिकाका राजदूतहरूले रुचि लिएनन् । प्रतिष्पर्धामा सहभागी हुन आइपुगेका जर्मनी र फ्रान्स दुवै मुलुक नेपाललाई नगद (ऋण) उपलब्ध गराएर आफ्नो उत्पादन बिक्री गर्न राजी भएका थिए । यो विषयमा सञ्चार मन्त्रालय नभइ क्याविनेट नै निर्णायक थियो । त्यसैले मन्त्रिमण्डलले जर्मनी र फ्रान्समध्ये कुनचाहिँ मुलुकको सेवा, शर्त र प्रविधि उपयुक्त छ सोको अध्ययन गरी सिफारिश गर्न सञ्चार मन्त्रालयलाई जिम्मेवारी दिएको थियो । र, मन्त्री बास्कोटाले अध्ययन गर्न विज्ञ कर्मचारी सम्मिलित एक कार्यदल गठन गरेका थिए ।

त्यसैबीचमा प्रचण्डले काभ्रेका जापाननिवासी कपिलदेव थापामार्फत जापानबाट पचपन्न अर्बमा प्रेस खरिद गर्न दबाब दिँदै आएका थिए । गोकुलले कुल तेइस अर्ब रुपैयाँ सम्ममा प्रेस खरिद गर्ने योजना बनाएका थिए । तर प्रचण्डले गोकुललाई आफ्नो निवासस्थान धापाखेलमै बोलाएर जापानको प्रेस खरिद गर्न दबाब दिएपछि उनी प्रचण्डले बोलाउँदासमेत जान छोडेका थिए । त्यसताक ब्यापारी विनोद चौधरीबाट सरकारले उठाउनुपर्ने अर्बौं रुपैयाँ नतिरेको विषयलाई लिएर गोकुल र चौधरीबीच सार्वजनिक रूपमै निकै चर्काचर्की परेको थियो । गोकुलको ब्यवहारबाट आफू अपमानित हुनुपरेको चौधरीले ठानेका थिए । यी बाहेक दूरसञ्चारसम्वद्ध व्यवशायमा आवद्ध अन्य केही ब्यापारीहरूसँग पनि गोकुल राज्यको हितका निम्ति लड्दै थिए । त्यस्तो समयमा प्रचण्ड र चौधरीको संयुक्त प्रपञ्चबाट चौधरीनिकटको एक अनलाइन पत्रिकाबाट गोकुलले कमिशन डील गरेको सन्देश जाने किसिमको रेकर्डेड वार्तालाप सार्वजनिक गरियो । आफूलाई स्वीटजरल्याण्डको प्रतिनिधि बताउने कुनै मिश्र थरका व्यक्तिसँग कमिशनका निम्ति डील गरेको र मिश्रले सत्तरी करोड रुपैयाँ कमिशनबापत उपलब्ध गराउन सकिने भनी बोलेको भनिएको रेकर्ड सार्वजनिक गरियो ।

उक्त खरिद प्रक्रियामा स्वीट्जरल्याण्डले सहभागिता जनाएको थिएन र त्यसै दिन स्वीटजरल्याण्डको नेपालस्थित कुटनीतिक प्रतिनिधिले एक विज्ञप्ति जारी गरेर आफ्नो मुलुक सिक्योरिटी प्रेससँग सम्बन्धित विषयमा कुनै पनि किसिमले सहभागी नरहेको स्पष्ट गरेका थिए । उक्त परियोजना मन्त्री र मन्त्रालयको एक निर्णयबाट अघि बढेको थिएन, मन्त्रिमण्डल नै निर्णायक रहेको, फ्रान्स र जर्मनीसँग मात्र सरकारको बिजनेस डील हुनसक्थ्यो । विजनेसमा सहभागी नै नरहेको कुनै पक्षसँग कसैले किन संवाद गरिरहन्छ भन्ने जस्ता प्रश्नहरूमाथि विचारै नगरी गोकुलका विरुद्ध सत्तरी करोड रुपैयाँ कमिशन खान लागेको भनी ब्यापक प्रचार गरियो र, मन्त्री पदबाट राजीनामा दिनुपर्ने अस्थामा उनलाई पुर्‍याइएको थियो । देशभर बदनाम गरिएका गोकुल काभ्रे पलाञ्चोकबाट निर्वाचित भएर पुन: संसद्मा प्रवेश गर्ने विश्वास अधिकाङ्शलाई थिएन । गोकुलको विजयको घटनाले घटनाले प्रचण्ड र विनोद चौधरीलाई मात्र होइन कैयनलाई स्तब्ध तुल्याएको बुझिन्छ । त्यसैले गोकुल बास्कोटाको विजयलाई पनि उनको राजनीतिक जीवनको पुनर्जन्मका रूपमा लिइएको छ ।