देउवा ‘पहिलोपटक’ प्रधानमन्त्री बनेको अनुभव लिँदै !

देउवा ‘पहिलोपटक’ प्रधानमन्त्री बनेको अनुभव लिँदै !


काङ्ग्रेसका ‘सिनियर’हरू ‘बाल प्रधानमन्त्री’को विपक्षमा

नेपाली काङ्ग्रेसमा प्रधानमन्त्री पदका आठ दावेदार देखिएका छन् । आठमध्ये दुईले आफ्नो दाबी सार्वजनिक गरेका छैनन् भने ६ जनाले कुनै न कुनै प्रकारले उक्त पदमा आफ्नो दाबी रहेको सङ्केत र सन्देश दिएका छन् । प्रधानमन्त्री पदको सबैभन्दा आक्रामक ढङ्गले दाबी गर्नेमा काठमाडौंको ४ नम्बर क्षेत्रबाट निर्वाचित गगनबहादुर थापा रहेका छन् । काङ्ग्रेस संसदीय दलमा सबैभन्दा कमजोर मानिएका थापा सर्वाधिक आक्रामक तवरमा पद खोज्न अग्रसर हुनुलाई काङ्ग्रेसभित्र अस्वभाविक र आश्चर्यजनक मानिएको छ ।

काङ्ग्रेस संसदीय दलमा सबैभन्दा बलिया शेरबहादुर देउवा देखिएका छन् । विजयी सांसदहरूको गणना गर्दा देउवाको पक्षमा कम्तिमा साठी प्रतिशत सांसदहरू रहेको विश्वास गरिन्छ । त्यसपछि डा. शेखर कोइरालाको स्थिति मजबूत देखिन्छ । कोइरालाका पक्षमा बीस–पच्चीस प्रतिशतसम्म तथा बाँकीमा प्रकाशमान सिंह, रामचन्द्र पौडेल र गगन थापासम्मका नेताहरूको भाग लाग्ने देखिन्छ । काङ्ग्रेसका तर्फबाट प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नैपर्ने व्यवस्था भएको, तर गगन थापा संसदीय दलमा सबैभन्दा कमजोर रहेकोले उनी स्वभाविक किसिमबाट दलको नेता र प्रधानमन्त्री बन्न असम्भव छ । आगामी पाँच वर्षभित्रै देश आर्थिक रूपले टाट पल्टिएर असफल राज्य घोषणा भइ प्रत्यक्ष विदेशी हस्तक्षेप भएको या अप्रत्यक्ष बाह्य हस्तक्षेप भएको अवस्थामा बाहेक आगामी पाँच वर्षभित्र गगनलाई प्रधानमन्त्रीको जिम्मेवारी मिल्ने स्थिति छैन । त्यसैले वरिष्ठ नेताहरू मध्ये नै कसैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने स्थति छ ।

काङ्ग्रेसमा प्रत्यक्ष विजयी र समानुपातिकका सम्भावित उम्मेदवारहरूको पृष्ठभूमि र आबद्धता हेर्दा शेरबहादुर देउवा नै संसदीय दलको नेता बन्ने र छैठौँ पटक प्रधानमन्त्री बन्ने अवसर पनि उनैलाई मिल्ने अवस्था छ । डा. शेखर कोइराला र रामचन्द्र पौडेलको समेत विश्वास र सहमतिमा देउवा दलको नेता चयन हुने हुन् या अर्कै प्रकारले भन्ने मात्र तत्कालको जिज्ञाशाको विषय हो । प्राप्त जानकारीअनुसार पौडेल र कोइरालाको समेत समर्थन प्राप्त गर्ने प्रयास यतिबेला देउवाबाट भइरहेको छ ।

शेरबहादुर देउवाबाहेक प्रकाशमान सिंह, रामचन्द्र पौडेल, डा. शेखर कोइराला, डा. शशाङ्क कोइराला, पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापालाई प्रधानमन्त्रीको दावेदारका रूपमा हेरिएको छ । पार्टी सभापति शेरबहादुर देउवा अर्को केही काल प्रधानमन्त्री बन्न तीव्र इच्छुक छन् र, यसरी इच्छुक हुनुको खास कारण पनि रहेको छ । शेरबहादुर देउवा २०५२ सालमा तत्कालिक प्रधानमन्त्री मनमोहन अधिकारीद्वारा विघटित संसद् सर्वोच्च अदालतद्वारा पुन:स्थापित गरिएपछि पहिलोपटक प्रधानमन्त्री बनेका थिए । २०५१ मा संसदीय निर्वाचन भएको दश महिनापछि देउवालाई प्रधानमन्त्री बन्ने मौका मिलेको थियो । त्यसपछि २०५८ सालको श्रावणमा गिरिजाप्रसाद कोइरालाले पदबाट राजीनामा दिएपछि देउवालाई प्रधानमन्त्री बन्ने मौका मिलेको थियो । तेस्रो पटक २०६१ जेठमा सूर्यबहादुर थापाले राजीनामा दिएपछि देउवा प्रधानमन्त्री नियुक्त भएका थिए भने चौथो पटक २०६४ सालमा ‘आलोपालो खाने’ सहमतिअनुसार प्रचण्डले राजीनामा दिएपछि उनी प्रधानमन्त्री बनेका थिए । २०७८ असारमा तत्कालिक प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलजफ्ती हटाएर सर्वोच्च अदालतले परमादेशमार्फत प्रधानमन्त्री नियुक्त गरेपछि देउवालाई उक्त जिम्मेवारी लिने अवसर पाँचौं पटक मिलेको थियो । संसदीय निर्वाचन गराएर गठन भएको संसद्बाट सिधै प्रधानमन्त्री बन्ने अवसर देउवालाई अहिलेसम्म मिलेको छैन । यस प्रकारले देउवा पहिलोपटक प्रधानमन्त्री बन्दैछन् र, उनी पनि ताजा संसद्को ताजा प्रधानमन्त्री बन्न अति इच्छुक रहेको बुझिएको छ ।

‘ताजा संसद्को ताजा प्रधानमन्त्री’ बन्ने अनुभव देउवाले पहिलोपटक गर्न लागेका छन्, त्यसैले उनमा एउटा बेग्लै ‘एक्साइटमेन्ट’ रहेको महशुस उनका निकटस्थहरूले गरेका छन् । यसरी ‘ताजा प्रधानमन्त्री’ बन्ने इच्छा र प्रयासमा रहेका शेरबहादुर गगन थापाका पछिल्ला क्रियाकलापबाट निकै खिन्न र क्रुद्ध भएका बुझिएको छ । गगन जति उत्ताउलिएर प्रस्तुत हुन्छन् काङ्ग्रेसका सिनियर नेताहरू त्यति नै एकतावद्ध हुने र देउवा अझै ‘बलिया’ प्रधानमन्त्री बन्न सम्भव छ । त्यसैले आठ जनाको नाम सम्भावित प्रधानमन्त्रीका रूपमा चर्चामा आएको भए पनि ‘सिनियर’हरू सबै ‘बाल प्रधानमन्त्री’को विपक्षमा रहेको र, माओवादीसँगको गठबन्धन कायम रहने अवस्थामा देउवा नै अबको प्रधानमन्त्री बन्ने निश्चित छ । हामीले उनको छैठौँ नियुक्तिका रूपमा बुझे पनि देउवाले भने आफू ‘पहिलोपटक’ प्रधानमन्त्री बनेको ठान्ने भएका छन् ।