फगत सत्ताप्राप्तिमा केन्द्रित राजनीति !

फगत सत्ताप्राप्तिमा केन्द्रित राजनीति !


शासकहरू सच्चिने बाटोमा नलागी उल्टै महासामन्तीपनको शिकार हुँदै गए, निरङ्कुश बन्दै गए, जनआवाजको अवज्ञामा रमाउने परपीडिक प्रवृत्तिबाट ग्रसित हुँदै गए । अन्यथा अस्थिर र अन्योलपूर्ण राजनीति ब्याप्त भएको आजको दिन देख्नुपर्ने थिएन । पात्र परिवर्तन हुँदा सबै समस्या निमिट्यान्न भइहाल्छ कि भनी मृगतृष्णामा नेपालीजन जाकिनुपर्ने परिस्थिति निम्तिने थिएन !

नीतिहीनता नै ‘राजनीति’ बन्दै आएको पछिल्लो परिवेशमा तथाकथित राजनीतिक दलहरू यतिबेला सत्ता-राजनीतिको माथापच्चीमा परेका छन् । यस दौडमा दलीय दृष्टि तथा नीति-सिद्धान्तको कुनै टुङ्गो नलागेका दल/व्यक्तिहरू पनि थपिएका छन् । आवधिक निर्वाचनको औपचारिकता पूरा गर्दै शासक वा शक्तिवालाहरू शक्ति हत्याउने होडमा होमिएका छन् । चीरपरिचित काङ्ग्रेस, एमाले र माओवादीहरूले अङ्गिकार गरिआएकै पथ पछ्याउँदै सत्ता-गणितको परम्परागत अभ्यासको भासमा पर्ने छनक देखाउँदैछ ‘विकल्प’ र ‘सुशासन’को आवाज उरालेर एकाएक उदाएको दलविशेषले पनि ! नयाँ वा वैकल्पिक शक्तिको नारा नै छलकपटयुक्त थियो/छ भन्ने सिद्ध हुँदैछ ।

‘खुट्टी हेर्दै चाल पाइयो’ भन्ने टुक्का हामीकहाँ प्रचलित छ । क्षमता नपुग्नेले कुनै कुरामा आँट देखाउँदा अनुभवीले औंल्याउने अभिव्यक्ति हो यो । लोकप्रिय मत पाएर राजनीतिमा देखापरेका पात्रहरूको ‘उदय’प्रति आशङ्का वा प्रश्न उठाउँदा नयाँ सम्भावना बोकेर आएकालाई मौका नै नदिइ होच्याउन खोजेको आरोप पक्कै लाग्नेछ, जनमतकै अपमान गरेको ठहरिन्छ ! तर, नीति वा सिद्धान्त, आचार वा शैली, विचार वा दृष्टिकोण अनि गति र गन्तव्य नै प्रष्ट नभएको समूहलाई ‘दल’को दर्जा दिएर विश्वास गर्दा कालान्तरमा त्यसबाट हातलाग्ने भनेको धोका नै हो भन्ने मान्यताप्रति अविश्वास जनाइरहनु आवश्यक छैन, किनकि अगुवाइ गर्न खोज्नेकै मार्ग सुस्पष्ट छैन भने उसले आफ्नो पछि लागेकालाई कुन गतिले कहाँ पुर्‍याउँछ- पक्कै भन्न सकिन्न ।

नयाँ राजनीतिक खेलाडीहरूप्रति यसरी शङ्काको सवाल उठ्दै गर्दा निश्चित नीति, विचार वा सिद्धान्त बोकेका पुराना दलहरूको विरोध किन त भन्ने प्रश्न पनि उठ्न सक्छ । पक्कै पनि नेपालमा स्थापित दलहरूका आ-आफ्नै विचार वा सिद्धान्त छन्, तिनले अङ्गीकार गरेका नीति-सिद्धान्त पनि आकर्षक र जनमुखी जस्तै लाग्छन् । तर, जब आम नेपाली जनताको विश्वास जित्दै लोकप्रियताका साथ स्थापित भएका दल वा दलका नेतृत्वकर्ताहरूले दलको मूल सिद्धान्त वा उद्देश्यविपरीत क्रियाकलाप गर्न थाले, तिनका कार्यकर्ताहरूले नेता वा नेतृत्वलाई सच्याउनुको साटो ताली दिए, चाकडी-चाप्लुसी गरेर स्वउन्नतिमा लिप्त रहन थाले, कुशासन, भ्रष्टाचार र बेथितिले बढावा पाउँदै गयो, अनि जनविश्वास गुम्ने अवस्था निम्तियो । सुन्दा सुन्दर लाग्ने विचार-सिद्धान्तलाई दलीय आवरण/ढाल तुल्याएर जब स्वार्थको राजनीति उत्कर्षमा पुर्‍याइयो, अनि जनताले विकल्पको खोजी गर्न लागेका हुन् । परम्परागत दलले तय गरेका नीति-विचार वा उद्देश्य नराम्रा थिएनन्, यदि त्यसप्रति इमानदार रहन सकेका भए !

कुनै पनि व्यवस्था वा संविधान मुलुकका नागरिकको अहित गर्नका लागि प्रादुर्भाव वा निर्माण भएको हुँदैन, फगत त्यसलाई क्रियान्वयन गर्ने/गराउने पात्रको सोच, शैली वा रवैयाले उक्त व्यवस्था या संविधान सफल हुने कि असफल, लोकप्रिय बन्ने कि बदनाम भन्ने कुराको निर्धारण गर्दछ । संविधान भन्ने कुरा व्यवहारमा अवलम्बन गर्दै जाँदा जन-प्रतिकुलता या अप्ठ्यारा पक्षलाई परिवर्तन गर्दै, सुधार्दै/संशोधन गर्दै लैजान सकिने कुरा हो र, परिस्थितिअनुसार त्यसो गर्नु पनि पर्छ । तर यहाँ नकारात्मक अभीष्ट या दूराशयपूर्वक संविधान निर्माण गरियो, अनि तीव्र जनविरोध हुँदा पनि त्यसलाई सम्बोधन गर्नुको साटो उल्टै दमनको नीति अख्तियार गरियो । शासकहरू सच्चिने बाटोमा नलागी उल्टै महासामन्तीपनको शिकार हुँदै गए, निरङ्कुश बन्दै गए, जनआवाजको अवज्ञामा रमाउने परपीडिक प्रवृत्तिबाट ग्रसित हुँदै गए । अन्यथा अस्थिर र अन्योलपूर्ण राजनीति ब्याप्त भएको आजको दिन देख्नुपर्ने थिएन । पात्र परिवर्तन हुँदा सबै समस्या निमिट्यान्न भइहाल्छ कि भनी मृगतृष्णामा नेपालीजन जाकिनुपर्ने परिस्थिति निम्तिने थिएन !

आवधिक निर्वाचन सम्पन्न भएको छ । प्रजातन्त्र संस्थागत गर्ने सवालको कोणबाट भन्नुपर्दा आमनिर्वाचनलाई एउटा कोसेढुङ्गा मान्न सकिएला, तर चुनावी प्रक्रियासँगै नेपालका राजनीतिक दल तथा राजनीतिजीवीहरूको सत्ताप्राप्तिको दौड जुन रफ्तारमा ‘विसङ्गति’ वा ‘अराजनीति’मा रूपान्तरण हुने क्रम देखिएको छ, यो निकै चिन्ताजनक छ । एकतिर नवनिर्वाचित केही व्यक्तिले ‘लोकप्रिय मत’बाट मैमत्त भइ ‘म नै राज्य हुँ’ शैलीमा ठुल्ठुलो हुङ्कार गर्दै राज्यका कतिपय निकायलाई नै लल्कार्न शुरु गरेका छन् भने अर्कोतिर परम्परागत सोचशैलीमा रमाउने कथित नेतृत्वकर्ताहरू शासन-शक्ति हत्याइरहने धुनमा जनअपेक्षा तथा समयको मागप्रति अझै बेसरोकार देखिँदै छन् । यी दुवै पक्षको दृष्टि कुनै न कुनै कोणबाट सत्ताप्राप्तिमै केन्द्रित रहेको दर्शिंदै छ । यो अत्यन्त विडम्बनाको विषय हो । फेरि पनि नेपाल र नेपालीले समस्याको निकास नभइ अस्थिर राजनीति ब्यहोर्नुपर्ने सम्भावनाको द्योतक हो यो ।