तीन वर्षपछि धादिङ महोत्सव आयोजना गरिँदै

तीन वर्षपछि धादिङ महोत्सव आयोजना गरिँदै


  • विकास रौनियार, धादिङ

धादिङ उद्योग वाणिज्य संघले आगामी पुष ७ देखि १७ गतेसम्म आठौँ धादिङ महोत्सव आयोजना गर्ने भएको छ । ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको हो।

कोरोना महामारीका कारण विगत तीन वर्षदेखि धादिङमा महोत्सव आयोजना हुन सकेको थिएन ।

‘जिल्लाको साँस्कृतिक विविधताको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पुर्‍याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष विष्णुप्रसाद थपलियाले बताए। ‘महोत्सवमा जिल्लाको उत्तरी क्षेत्रमा पाइने रुवीदेखि दक्षिणी क्षेत्रमा पाइने गिट्ठा, तरकारी तथा फलफूललाई विशेष प्राथमिकता दिइनेछ,’ अध्यक्ष थपलियाको भनाइ छ।

जिल्लामा पाइने जडिवुटीसहित स्थानीयस्तरमा उत्पादन हुने वस्तु तथा सेवा, खनिजजन्य बस्तुको प्रदर्शनी तथा बिक्री वितरणलाई महोत्सवमा प्राथमिकता दिइने संघका महासचिव तिलक सिंखडाले बताए।

महोत्सव सञ्चालनका लागि विभिन्न २३ वटा विषयगत उपसमितिहरु निर्माण गरी तयारीलाई तिव्रता दिइएको छ। महोत्सवमा १० करोडबराबरको कारोबार हुने र ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। जिल्ला सदरमुकामस्थित खुल्ला मञ्चमा हुने महोत्सवमा १२० वटा विभिन्न स्टलहरु रहने आयोजकले जनाएको छ।