सेवा-सुविधा पुन: सुचारु गराउन कटहरियावासीको ज्ञापनपत्र

सेवा-सुविधा पुन: सुचारु गराउन कटहरियावासीको ज्ञापनपत्र


  • आरके श्रीवास्तव, रौतहट

रौतहटको कटहरिया नगरपालिकामा यसअघिको स्थानीय सरकारले दिँदै आएको सेवासुविधा पुन: सुचारु गराउन ज्ञापनपत्र बुझाइएको छ । सो नगरपालिकाका चार जना वडाअध्यक्षहरुले आइतबार संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् ।

कटहरिया नगरपालिकाको वडा नम्बर ४ का वडाअध्यक्ष चन्दन कुशवाहा, वडा नम्बर २ का वडाअध्यक्ष हरिन्द्र साह कलवार, वडा नम्बर ३ का वडाअध्यक्ष श्यामाकान्त प्रसाद यादव र वडा नम्बर ६ का वडाअध्यक्ष जयराम चौधरीले संयुक्त रुपमै नगरपालिकाको कार्यालयमा गइ ज्ञापनपत्र दिएका हुन् ।

कटहरिया नगरापलिकाकी उप प्रमुख रीतादेवी यादव र नि. प्रमुख प्रशासकिय अधिकृत रामप्रकाश साहलार्इ ज्ञापनपत्र बुझाइएको हो । तीनै जना वडाअध्यक्षद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा कटहरिया नगरपालिकाका पूर्वनगरप्रमुख सियाराम प्रसाद कुशवाहाले कटहरिया नगरवासीहरुको लागि उपलब्ध गराउँदै आएको सुविधाहरु यथासीघ्र सुचारु गर्नका लागि ज्ञापन बुझाएका हुन् ।

सो ज्ञापनपत्रमा घरेलु विद्युत फ्रि, कृषि विद्युत फ्रि, खानेपानी फ्रि, मालपोत फ्रि, शौचालय सरसफाइ फ्रि, दिउँसो विवाह गर्ने छोरीतर्फ २० हजार र छोरातर्फ १० हजारसहित ६ बुँदे माग गरिएको छ ।

साथै गत आ.व.मा कोरोनाबाट पीडित गरिब जनताहरुको लागि रु १० हजार का दरले आएको रकम र बाढी पिडित कृषकहरुको खातामा रकम अहिलेसम्म न आउनुको कारण के हो । तुरुन्त सम्बन्धित व्यक्तीहरुको खातामा रकम पठाउन आग्रह गरिएको छ । यसका साथै स्वास्थ्य शाखामा भइरहेको लापारवाही बारे स्वास्थ्य संयोजकलाई ध्यानाकर्षण गराएका हुन् । स्वास्थ्य संस्थाहरुमा औषधिको अभाव किन भएको हो भनि प्रश्न गरेका थिए । जवाफमा स्वास्थ्य शाखाको तर्फबाट चाँडो भन्दा चाँडो औषधी अभावको समस्या अन्त्य गर्ने प्रतिबद्धता जनाइएको थियो ।